काँग्रेसमा देउवाले सिकाए लोकतान्त्रिक पाठ

Nayabimarsha (Weekly Newspaper from Nepal)

काठमाडौं / नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो ६२ वर्षे सक्रिय राजनीतिक यात्रालाई विश्राम दिनु भएको छ ।
१७ वर्षको युवा उमेरबाट राजनीति शुरु गरेका देउवाले गत मंगलबार आफू राजनीतिक सक्रियताबाट अभिभावकको भूमिकामा रहने अवस्था देखाउनु भयो । २५ वर्षको उमेरमा नेविसंघको केन्द्रीय अध्यक्ष भै ६२ वर्ष लामो राजनीतिक यात्रालाई ८० वर्षको उमेर पुगेपछि देउवाले राजनीतिक विदाको रुपमा लिनु भएको हो ।
राजनीतिक यात्रामा पाँच पटक प्रधानमन्त्री र दुई पटक पार्टीको सभापति बन्नु भएका देउवाले अब राजनीतिमा नफर्कने भएपछि उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापति सुम्पनु भएको छ । जेन–जी आन्दोलनपछि सभापति देउवाले राजनीतिमा अभिभावक बनेर लोकतान्त्रिक पाठ सिकाउनु भएको छ जबकि अन्य दलका नेताहरु पुनः राजनीतिमा फर्कन अधिनायकवादको शैलीमा विभिन्न प्रपञ्चहरु रच्दै आउनु भएको आरोप लाग्दै आएको छ ।
नेकपा (एमाले) का अध्यक्ष खड्गप्रसाद शर्मा ओली, नेकपा (माओवादी केन्द्र) का संयोजक पुष्पकमल दाहाल लगायत साना दलका नेताहरुले रुपान्तरण र पुस्तान्तरणलाई विर्सेर आफैंतिर औंला ठड्याएका छन् । जेन–जी आन्दोलनको ३४ दिनपछि पार्टी मुख्यालय सानेपामा पुगेर १२ बुँदे सन्देशसहित असोज २८ गते खड्कालाई कार्यवाहक सभापति बनाउने कार्य देउवाले गर्नु भएको छ ।
देउवाले सम्बोधन गरेका १२ बुँदा यसप्रकार छन् ।
१. भदौ २४ गते इतिहासमै डरलाग्दो दिन
२. प्रदर्शनमा घुसपैठ, तोडफोड र आगजनी सुनियोजित र योजनाबद्ध
३. दोषीलाई कानूनी कारबाहीको दायरामा ल्याऊ
४. राष्ट्रपति रामचन्द्र पौडेलको भूमिकाका लागि धन्यवाद
५. जेनजीका जायज माग सम्बोधन गर
६. सबैको मनोबल गिरेको बेला तात्कालीन नाफाघाटा हेरेर काम नगरौं
७. १५ औँ महाधिवेशनबाट नेतृत्व छाड्छु
८. प्रतिनिधिसभा विघटन असंवैधानिक तथा अलोकतान्त्रिक
९. चुनावले नै देशलाई संवैधानिक मार्गमा फर्काउनसक्छ
१०. ५ पटक प्रधानमन्त्री भए पनि एक कार्यकाल बराबर मात्र समय पाएँ
११. हामीमाथि सांघातिक हमला भयो, प्रतिष्ठा र छवि गिराउन सुनियोजित झूटा प्रचार गरिए
१२. संकटको बेला सबैको नेतृत्व कांग्रेसले गर्नुपर्छ
यसरी लोकतान्त्रिक नेताको छवि बनाएर लोकतान्त्रिक प्रकृयाबाट सभापति हस्तान्तरण गर्न पुग्नुभएका देउवालाई वरिष्ठ नेतासहित महामन्त्रीद्वय र अन्य नेताहरुले विशेष महाधिवेशनका लागि हस्ताक्षर अभियान चलाउनुलाई बेमौसमको बाजाको संज्ञा दिइएको छ ।
जेन–जी आन्दोलनपछि महामन्त्री गगन कुमार थापा र विश्वप्रकाश शर्माले सबैलाई समेटेर पार्टीलाई एक ढिक्का बनाउनुपर्ने जिम्मेवारी थपिएको छ । हस्ताक्षर अभियानले पार्टीभित्र गुटका धर्साहरु रही रहने हुँदा आगामी २०८३ मंसिरमा नियमित महाधिवेशन गर्ने कि २०८२ फागुन २१ मा हुने निर्वाचनका लागि भावि सभापति तोकेर उसकै नेतृत्वमा चुनावमा जाने भन्ने विषयको छिनोफानो गरी पार्टीलाई सशक्त रुपले अगाडि बढाउनुपर्ने जानकारहरुले बताएका छन् । १५ औं महाधिवेशनले जेन–जीको भावना अनुसार अगाडि बढ्नुपर्ने समेत चर्चा चलेको अवस्थामा भावि सभापति को बन्लान् भन्ने समेत जोड घटाउ शुरु भएको छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *