सरकारमा दुईजना पूर्वसचिव मन्त्री

Nayabimarsha (Weekly Newspaper from Nepal)

काठमाडौं/ प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारमा दुईजना पूर्वसचिवले सचिव हुँदा काम गरेको मन्त्रालयकै जिम्मेवारी पाएका छन् । यसरी जिम्मेवारी पाउने मन्त्रीहरुमा अर्थमन्त्री रामेश्वरप्रसाद खनाल र स्वास्थ्य तथा जनसंख्यामन्त्री डा. सुधा शर्मा गौतम रहेका छन् ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका अर्थमन्त्री खनालले अर्थसचिव पदबाट २०६७ सालमा राजीनामा दिएका थिए । झण्डै १५–१६ वर्षपछि अर्थमन्त्रालयको जिम्मेवारी सम्हाल्ने अवसर पाएका अर्थमन्त्री खनाल अर्थमन्त्रालयको विज्ञ र अन्तराष्ट्रिय क्षेत्रले समेत पत्याएका व्यक्ति हुन् । अर्थमन्त्रालयको कमी कमजोरी र चलखेलका बारेका जानकार खनालले पूर्ववर्ती सरकारका अर्थमन्त्री विष्णुप्रसाद पौडेलले विनियोजन गरेको झण्डै १ खर्ब २० अर्ब रकम र अन्य धेरै कुराहरु कटौती गरिदिएका छन् ।
यसैगरी गत कार्तिक ९ गते तेस्रो पटकको मन्त्रिमण्डलले विस्तारमा स्वास्थ्य तथा जनसंख्या मन्त्री बन्न सफल डा. सुधा शर्मा गौतम पनि १४ वर्षपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नेतृत्व लिन पुगेकी छिन् । यसपछि उक्त मन्त्रालयको मन्त्री पदमा पूर्वस्वास्थ्य सेवा विभागको महानिर्देशक र अतिरिक्त सचिव डा. संगीता कौशल मिश्रालाई ल्याउने बताइएकोमा मिश्रा भ्रष्टाचार काण्डमा मुछिएका कारण रोकिएको थियो । डा. शर्मालाई स्वास्थ्यमन्त्री बनाइएकोमा विज्ञताको हिसाबले सही मूल्याङ्कन भएको नागरिक वृत्तमा चर्चा चलेको छ ।
त्यसो वर्तमान सुशीला कार्की नेतृत्वको सरकारमा पूर्व प्रधानन्यायाधीश, न्यायाधीश र अधिवक्ता समेत सामेल रहेको अवस्था छ । प्रधानमन्त्री सुशीला कार्की पूर्व प्रधानन्यायाधीश हुनुहुन्छ भने अनिलकुमार सिन्हा पूर्वन्यायाधीश हुनु हुन्छ । यसैगरी अधिवक्ता ओमप्रकाश अर्याल कानून, न्याय र संसदीय व्यवस्था तथा गृहमन्त्री रहनु भएको छ ।
यसैगरी विज्ञताका हिसाबले ऊर्जा क्षेत्रका जानकार एवं नेपाल विद्युत प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङ रहनु भएको छ । यस्तै, सञ्चार क्षेत्रका जगदीश खरेल र कृषिविज्ञ डा. मदनप्रसाद परियारको उपस्थितिलाई राम्रै ठानिए पनि आगामी फागुन २१ को चुनाव र सुशासन एवं भ्रष्टाचारको विषय के हुन्छ ? भन्ने बहस चलेको छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *