कृष्ण केसी
नेपाली काँग्रेसका केन्द्रीय सदस्य, ललितपुर जिल्ला क्षेत्र नम्बर १ का निवर्तमान सांसद, पूर्वअर्थराज्यमन्त्री उदय शम्शेर राणाले कांग्रेसमा अहिलेको समस्या समाधन गरेर सही मार्गमा जानको लागि आफूले मध्यमार्गको भूमिका खेलेको बताउनु भएको छ । उहाँले आफ्नो मध्यमार्गको धारणाले पार्टीमा अहिले आएको अप्ठेरो अवस्था सुल्झ्याउन सहज हुने दाबी गर्नु भएको छ ।
‘कांग्रेस पुरानो पार्टी मात्र होइन प्रजातन्त्रको लागि योगदान गरेको दल पनि भएकाले जिम्मेवारी पनि ठूलो छ । जब–जब नेपालमा अप्ठेरो परिस्थिति आउँंछ कांग्रेसले नै समाधानको बाटो दिएको छ । अहिले परिवर्तित राजनैतिक अवस्स्थामा दलका नीति र गतिविधि पनि समन्वय गरेर जानुपर्छ । बाँकी समय प्रतिनिधिसभाको निर्वाचनमा लागि परौं । यसो गर्दा यो समस्या समाधान हुन्छ ।’ उहाँले भन्नुभयो ।
कांग्रेसको गत महाधिवेशनमा सभापति शेरबहादुर देउवा समूहबाट केन्द्रीय सदस्यमा राम्रो मतले निर्वाचित राणा शालीन स्वभावका मात्र होइन स्वार्थको राजनीति नगर्ने नेता मानिनु हुन्छ । पारिवारिक राणा खानदानकै भए पनि कांग्रेसमा उहाँको परिवारको इतिहास भने पार्टी स्थापना कालदेखिकै हो । भरत शम्शेर र सागर सम्शेर पछि उहाँहरुको परिवारबट उदय दोश्रो पुस्ताका नेता हुनुहुन्छ ।
उसो त उहाँका छोराहरु अर्थात् तेश्रो पुस्ताका कांग्रेस पनि राजनीतिमा आउन योग्य भैसक्नु भएको छ । कतिपय गतिविधिमा उनीहरु संलग्न पनि देखिन थाल्नु भएको छ । पार्टी सभापति देउवा निकट भएता पनि नेता राणाले कहिलै पनि पदीय जिम्मेवारी र मन्त्री बनाइदिन भनेर मरिहत्ते नगरेको बताइन्छ । दिएको जिम्मेवारी भने पूरा गरेको उहाँको इतिहास छ ।
भारतबाट अन्डर ग्राजुएट राणाले अमेरिकाबाट स्नाकोत्तर गर्नु भएको हो । नेपाली अर्थतन्त्रको अध्ययन गरेका राणा वैदेशिक संबन्धमा दखल राख्नु हुन्छ । भारत र अमेरिकासँग राजनैतिक तालमेल गर्न उहाँलाई धेरै पटक पार्टीले आन्तरिक जिम्मेवारी पनि दिएको बताइन्छ । नेपालको अन्तर्राष्ट्रिय विशेष गरेर भारत र चीनसँगको सीमा–विवाद र अन्य संबन्धबारे कूटनैतिक तरिका बाहेक अन्य विधि नहुने उहाँको धारणा छ ।
अहिलेको कांग्रेसको समस्या र सहज निकासको लागि फोनमा भएको छोटो कुराकानीका आधारमा नेता राणाको धारणा यहाँ प्रस्तुत गरिएको छ ।
नेपाली कांग्रेसको अहिलेको अवस्था के हो ?
अहिले कांग्रेसको महाधिवेशनलाई लिएर फरक–फरक विचार आएका छन् । कुनै पनि विचार आफैंमा खराब या पार्टीलाई बिगार्न आएका होइनन् । केवल समाधानको लागि उहाँहरुको दृष्टिकोणले मात्र फरक देखिएका हुन् । राजनीतिमा केही स्वार्थ हुन्छ, केहि विधि हुन्छ, नेतृत्वमा पुग्न गरिने प्रयास खराब होइन तर गरिने प्रयास भने विधि र कानूनसम्मत हुनुपर्छ भन्ने हो । परिस्थिति अनुसार कतिपय विधि–विधान र नीति–विधिसम्मत छन् या छैनन् भन्ने कुरा मुख्य हो । त्यसैले कतिपय कुरामा त्यो फरक र विवादित हुन सक्छ तर पनि पार्टीको विवाद र समस्या समाधान नै नहुने भन्ने चाहिँं होइन ।
पछिल्लो राजनैतिक परिवर्तनले सबै पार्टी र हाम्रो पार्टी पनि प्रभावित भएको अवस्था छ । त्यसैले पार्टी सभापतिले कार्यवाहक दिनु उपयुक्त हुन्छ भन्ने सुझाव थियो । पछि सभापतिज्यूले पनि उपसभापतिलाई कार्यवाहक दिनुभएको छ । यो पहिलो तहको समाधानतिर जाने पहल भयो । अर्को कुरा महाधिवेशन कहिले गर्ने या विशेष महाधिवेशन गर्ने भन्ने कुरा हो । विधान अनुसार महाधिवेशको समय नजिक आएको छ । परिस्थितिका कारण भएमा केहि समय थप्ने व्यवस्था विधानमा नै छ । त्यसको अर्थ थप गर्नु नै पर्छ भन्ने होइन तर आवश्यक भएमा थप गर्न सकिने भन्ने हो ।
त्यसैले का.वा. सभापति पूर्णबहादुर खड्का र केहि नेताहरुले बैशाखमा महाधिवेशन गरौँ भन्नु भएको हो । केहि नेताहरुले चाहिँं पदावधि सकिने समय भित्रमा नै समय नथपेर नियमित माहाधिवेशन गरौँ भन्नुभएको छ । अनि अर्को पक्षले हस्ताक्षर बुझाएर विशेष महाधिवेशन गरौँ भन्नुभएको छ । अब गत महाधिवेशनका प्रतिनिधिहरुमध्ये ५४ प्रतिशतले हस्ताक्षर गरेपछि विधानमा नै विशेष महाधिवेशन गर्नुपर्ने व्यवस्था छ ।
हामीले पार्टी अहिलेको समयसम्म नियमित महाधिवेशनको गतिविधि शुरु गरेको अवस्था छैन । महाधिवेशनलाई लक्षित गरेर सदस्यता वितरण र नवीकरण गरेको अवस्था छैन । उता, प्रतिनिधिसभाको निर्वाचनको कुरा थपिएको छ । मेरो आफ्नो अध्ययन र विश्लेषण चाहिँं यी सबैभन्दा फरक अलकति मध्यमार्गी छ । कांग्रेसमा मध्यमार्गको भूमिका इतिहासदेखि नै महत्वपूर्ण रही आएको छ । अहिलेको कुरा यहि हो ।
यहाँले भन्नुभएको मध्यमार्ग कस्तो हो ?
मुख्यगरी चारवटा कारणले गर्दा मध्यमार्ग अपनाउनु नै समाधानको वैधानिक बाटो हो भन्ने मैले देखेको हुँ । यसबाट कसैलाई घाटा पनि हुँदैन र पार्टी एउटा गतिमा जान्छ । आसन्न निर्वाचनमा पनि सक्रिय हुन सकिन्छ । अहिलेको विवादको वैधानिक समाधान पनि हुन्छ । विशेष महाधिवेशन नगरौं । म्याद भित्रै महाधिवेशनको लागि प्रक्रिया गर्ने गरी निर्णय गरौँ ।
सदस्यता लिने र नवीकरण गर्न तत्काल खुला गरौँ । स्थानीय तहबाट अधिवेशन शुरु गरौँ । यसबाट महाधिवेशनका नयाँ प्रतिनिधि चयन हुन्छन् । पार्टीको केन्द्रीय महाधिवेशन बैशाखमा गरौँ । यसका लागि तयारी पूरा हुन्छ । आसन्न प्रतिनिधिसभाको निर्वाचनको लागि केन्द्रित बनौँ । अहिलेको लागि योभन्दा अर्को सहज र सबैलाई मान्य हुने विकल्प मैले देखेको छैन । यसबाट बैशाखमा महाधिवेशन गर्ने प्रस्ताव, नियमित समयमा महाधिवेशन गर्ने प्रस्वाव, विशेष महाधिवेशन गर्ने प्रस्तावको हस्ताक्षर र आसन्न प्रतिनिधिसभा निर्वाचनको तयारी सबै कुरा समाधानको लाइनमा जान्छन् ।
यहाँ यो मध्यमार्गको लागि के गदै हुनुहुन्छ ?
मैले का.वा. सभापति र अन्य नेताहरुसंँग कुरा गर्दैछु । सकारात्मक रुपमा कुरा भएको छ । सबैले यो समय पार्टीको समस्यालाई समाधान गर्नको लागि सोचियो भने पक्कै पनि सहज रुपमा सफल हुन्छौं ।
कांग्रेस आसन्न प्रतिनिधिसभा चुनावमा जान्छ त ?
कांग्रेस प्रजातान्त्रिक पार्टी भएकाले निर्वाचनको विरोधी होइन र हुँदैन । हामीले चुनावमा जाँदैनौं भनेको छैन तर सरकारबाट शान्तिसुरक्षा र निर्वाचनको तयारीको गति सुस्त भयो भन्ने मात्र हो । पछिल्लो राजनैतिक स्थिति अनुसार केहि विधि भने परिवर्तन गर्नुपर्छ । जस्तो कि उम्मेदवारको चयन फरक रुपमा जानुपर्छ । यसको पनि एउटा विधिको खाका बनाएको छु । त्यो पनि समय आएपछि ल्याउनेछु ।
आसन्न महाधिवेशनमा यहाँ महामन्त्रीको आकांक्षी भन्ने सुनिन्छ, कुरा के हो ?
मैले आजसम्म कुनै पदीय आकांक्षी हुँ भनेर घोषणा गरेको, सार्वजनिक गरेको, मत मागेको, विचार व्यक्त गरेको अवस्था होइन । पहिला पार्टीको समस्या समाधान गरौ अनि नेतृत्वको आकांक्षा भनेको सबैको हुन्छ मेरो पनि छ । म आकांक्षी हुँदा अचम्म मान्नुपर्ने कुरा भएन । महामन्त्री या कुनै भनेर खुलाएको अवस्था छैन । पदाधिकारीमा जाने सोच र तयारी भने छ । राजनीति भनेको नेतृत्वमा पुग्न नै गर्ने हो । एक्लै दौडेर र घोषणा गरेर हुँदैन । सल्लाह, सहकार्य र समन्वय गर्नुपर्छ । पदाधिकारीमा पुग्ने आकांक्षा छ तर केमा भनेर सार्वजनिक गर्ने बेला भएको छैन ।
