कांग्रेसमा सुधारको खाँचो

Nayabimarsha (Weekly Newspaper from Nepal)

नेपालको राजनीतिक इतिहास बोकेको दल नेपाली कांग्रेसमा धेरै नै सुधार गर्नुपर्ने अवस्था आएको छ । पछिल्लो निर्वाचन परिणामलाई आधार मान्ने हो भने कांग्रेस मुलुकको सबैभन्दा ठूलो दल पनि हो । प्रतिनिधिसभा विघटित भएको हालको अवस्थामा पनि प्रदेश तथा स्थानीय निकायहरुको अवस्था हेर्दा कांग्रेस नै ठूलो दलको रुपमा रहेको देखिन्छ । यस्तो अवस्थामा कांग्रेसलाई नै सुधार्नुपर्ने अवस्था देखिनु लज्जास्पद भएको भन्ने अवस्था आएको छ । यस्तो हुनुमा प्रमुख कारण भनेको कांग्रेस भित्र विभिन्न गुटहरु मौलाउनु हो । पछिल्ला दिनहरुमा भएका कांग्रेसजनका गतिविधिलाई नियाल्ने हो भने कांग्रेसको भन्दा पनि गुटगत भेलाहरु बढी भएका पाइए । खासगरी यही मंसिरमा केन्द्रीय कार्यसमितिको कार्यकाल सकिने भएकाले अब के कसरी जाने भन्ने कुराले कांग्रेसजनमा गुटगत खेतीले झनै मौलाउने अवसर पाएको छ ।
खासगरी महाधिवेशन कहिले गर्ने भन्ने कुरामा कांग्रेसमा मतैक्यता हुन सकेको छैन । सभापति शेरबहादुर देउवाले कार्यवाहकको जिम्मेदारी उपसभापति पूर्णबहादुर खड्कालाई दिएपछि उहाँले समेत कुनै निर्णय गर्न सक्नु भएको छैन । आगामी मंसिरमा कांग्रेसको केन्द्रीय समितिको समयावधि सकिने अवस्थामा सभापति देउवा एक वर्ष लम्व्याउन पाउने विधानको अधिकार प्रयोग गर्ने पक्षमा देखिनु भएको थियो । उहाँ आफू सभापति भएकै बखतमा फेरि पनि प्रधानमन्त्री बन्ने पक्षमा हुनुहुन्थ्यो । यसबीचमा गत भदौ २३ र २४ गते नवपुस्ता (जेन–जी) हरुको आन्दोलनबाट तात्कालिन प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओलीले राजीनामा गर्न बाध्य हुनुप¥यो । सोही आन्दोलनको बलमा अहिले सुशीला कार्की प्रधानमन्त्री बन्नु भएको छ । यसरी अकस्मात आएको घटनाले देउवाको प्रधानमन्त्री बन्ने सपनालाई पातालमा पु¥याइदियो । सोही आन्दोलनका क्रममा उहाँमाथि सांघातिक हमला पनि भयो । त्यस्तो अवस्थामा देउवाले कार्यवाहक सभापति तोकी हाल उपचारका लागि सिंगापुर पुग्नु भएको छ । यस्तो अवस्थामा देउवाले फेरि कांग्रेस नहाँक्ने संभावना बढेको छ ।
महाधिवेशन गर्ने समय पनि आएको तथा त्यस्तो घटना भएको अवस्थामा बहुजन कांग्रेसजन महाधिवेशन गरिनुपर्ने पक्षमा देखिएका छन् । उनीहरु सकेसम्म नियमित महाधिवेशनको पक्षमा रहेका छन् । त्यसका लागि दबाब दिनका लागि भनी ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरुले हस्ताक्षर गरी विशेष महाधिवेशनको माग पनि गरेका छन् । यस्तो स्थितिमा नियमित महाधिवेशन, विशेष महाधिवेशन तथा अर्को वर्ष मात्र महाधिवेशन गर्ने भन्ने तीन कित्तामा कांग्रेसका नेताहरु देखा परेका छन् । कांग्रेसका नेताहरु यसरी गुटगत रुपमा विभक्त हुँदा कांग्रेस भने विलाउँदै गएको अवस्था छ । कांग्रेसले कार्यक्रम नगरी विभिन्न गुटका कार्यक्रमहरु हुने गरेका कारण कांग्रेसमा एकता टुटेको महसुस गरिन थालिएको छ । कांग्रेसजन एक ढिक्का भएर उभिएर सामना गर्नुपर्नेमा गुटगत रुपमा रुमलिनु उचित होइन । लोकतान्त्रिक भन्ने दलले लोकतान्त्रिक चरित्र देखाउनु जरुरी छ । नियमित महाधिवेशन गरी नवपुस्ताका मागलाई पनि कांग्रेसले समेट्नु जरुरी छ । यो बेला विभिन्न गुटमा क्रियाशील हुने भन्दा पनि नवपुस्तालाई समेत समेटेर जान सक्ने नयाँ नेतृत्वको चयन गरी कांग्रेसलाई आगामी निर्वाचनमा हाँक्नुपर्ने देखिन्छ । यसका लागि कांग्रेस र कांग्रेसजनमा सुधारको खाँचो छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *