भक्तपुर/ गत भदौ २३ र २४ गतेको नवपुस्ता (जेन–जी) को विद्रोहपछि नेपाली राजनीतिमा दलहरुमा जुट र फुटको खेल कायम छ । उक्त विद्रोहले पुराना दलहरुलाई सोचमग्न अवस्थामा पु¥याएका कारण अस्थित्वरक्षाका लागि दलहरु अहिले जुट र फुटको खेलमा तल्लीन रहेको चर्चा चलेको छ ।
महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी नेपाल पनि आफ्नो अस्थित्वरक्षाकालागि विचार मिल्ने दलहरुसँग एकीकरण वा मोर्चा बनाउने पक्षमा देखिएको छ । बुधबार उक्त दल तथा हृदयेश त्रिपाठी अध्यक्ष रहेको जनता प्रगतिशील पार्टी र वृषेशचन्द लाल अध्यक्ष रहेको तराई मधेश लोकतान्त्रिक पार्टीका बीचमा एकीकरण गर्ने निर्णय भएको छ ।
नामका विषयमा निर्णय गर्न बाँकी रहेको भनिए पनि आगामी निर्वाचनअघि नै एकीकरण गरी चुनावमा प्रतिस्पर्धामा उत्रिने तयारीमा यी दलहरु रहेका बताइएको छ । त्यसो त ठाकुरको अध्यक्षतामा यसअघि तराई मधेश लोकतान्त्रिक पार्टी गठन भएका समयमा यी तीनैजना नेताहरु एउटै दलमा आवद्ध रहेको पनि समाचार स्रोतले जानकारी दिएको छ ।
यसैगरी तराई मधेश केन्द्रित अन्य दलहरुका बीचमा पनि एकता वा मोर्चाबन्दीको प्रयास भैरहेको बताइएको छ । त्यसो त केही समयअघि उनीहरुले मोर्चा पनि बनाएका छन् । मोर्चामा उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाल, महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी नेपाल, डा. सी.के. राउत नेतृत्वको जनमत पार्टी, राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टी नेपाल, रेशम चौधरी संरक्षकत्वको नागरिक उन्मुक्ति पार्टी नेपाल, वृषेशचन्द्र लाल नेतृत्वको तराई मधेश लोकतान्त्रिक पार्टी र हृदयेश त्रिपाठी नेतृत्वको जनता प्रगतिशील पार्टी छन् ।
उनीहरुका बीचमा पनि मिलेसम्म एकीकरण नै गर्ने नमिले साझा उम्मेदवार बनाएर जाने विकल्पमा नेताहरु पुगेको पनि बताइएको छ ।
उता, भर्खरै दर्ता भएको उज्यालो नेपाल पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टीका बीचमा पनि एकताको कुरा चलिरहेको छ । उज्यालो नेपाल पार्टीमा प्रत्यक्ष रुपमा नजोडिए पनि हालका मन्त्री कुलमान घिसिङलाई कुन पद दिने भन्ने कुरामा कुरा मिल्न नसक्दा ती दलका बीचमा एकता प्रक्रिया हाललाई रोकिएको अवस्थामा पुगेको बताइएको छ ।
रास्वपाका सभापति रवि लामिछाने हाल कारागारमा थुनामा रहेका कारण उहाँलाई सभापतिबाट अलग गर्नुपर्ने कुरा उज्यालो नेपाल पार्टीले उठाउँदै आएको छ । उक्त स्थानमा घिसिङलाई राखिनुपर्ने वा वरिष्ठ नेताको रुपमा राखिनुपर्ने कुरा उज्यालो नेपाल पार्टीले राख्दा कुरा मिल्न नसकेको बताइन्छ ।
यसैगरी कम्युनिष्ट नामधारी विभिन्न दल तथा घटकहरुले पनि नेपाली कम्युनिष्ट पार्टी भनी एकता गरेका छन् । यसरी एकीकरण प्रक्रियामा गएकाहरुप्रति आपत्ति प्रकट गरी अर्को दल गठन गर्ने कार्यहरु पनि भैरहेका छन् । कोही कता, कोही कता पुग्ने कार्यले गर्दा पहिलेका नेताहरु अहिले कुन दलमा पुगे भनी खुट्याउन पनि गाह्रो अवस्था आएको बताइन्छ ।
हालसम्म फुट र जुटको खेलमा नेपाली कांग्रेस र नेकपा (एमाले) भने नदेखिएको बताइएको छ ।
जुट र फुटमा दलहरु
Facebook Comments Box
