काँग्रेसमा रि–ब्राण्डिङ्गको चर्चा, देउवा फेरि उठने

Nayabimarsha (Weekly Newspaper from Nepal)

काठमाडौं/ गत भाद्र २३ र २४ गतेको जेन–जी विद्रोहपछि विक्षिप्त बन्नुभएका नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले आगामी फागुन २१ गते हुने भनिएको निर्वाचनमा उम्मेदवार बनी सांसद बन्ने चाहना राख्नु भएको छ । २०४६ सालको परिवर्तनपछि लगातार रुपमा डडेलधुराबाट सांसदमा निर्वाचित हुँदै आउनुभएका देउवा आगामी निर्वाचनमा पनि उम्मेदवार बन्न चाहिरहनु भएको बताइएको छ ।
सबै ६ वटा निर्वाचनमा अत्यधिक रुपमा निर्वाचित बन्ने ‘रेकर्ड’ कायम गर्नुभएका देउवाले अबको निर्वाचन आफ्नो राजनीतिक जीवनकालागि अन्तिम हुने गरी सांसद बन्न चाहिरहनु भएको बताइएको छ । काँग्रेसमा रिब्राण्डिङ्ग हुनुपर्ने र युवाहरुले काँग्रेसको नेतृत्व लिनुपर्ने आवाज उठिरहेको बेला करिब ८० को हाराहारीमा पुग्नु भएका देउवाले फेरी उम्मेदवार बन्न चाहनुलाई भने अर्थपूर्ण हेरिएको छ ।
काँग्रेसले यहि मंसिर अन्तिमसम्म केन्द्रमा नाम सिफारिस गर्न परिपत्र गरेको छ । देउवाले २०४८ सालदेखि निरन्तर चुनाव जिती गृतमन्त्रीहुँदै पाँच पटक प्रधानमन्त्री बन्ने मौका डडेलधुराबाटै पाउनुभएको हो । भदौ २३ र २४ गतेको जेन–जी आन्दोलनले बुढानिलकण्ठस्थित देउवा निवासमा क्षती र देउवा दम्पत्तिमाथि भौतिक आक्रमण भएपछि देउवाले पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापतिको जिम्मेदारी दिनुभएको छ ।
यस घटनाले देउवाले राजनीतिबाट विश्राम लिन लागेको अनुमान गरेको अवस्थामा देउवाले फेरी सांसद बन्न चाहनुलाई भने अर्थपूर्ण रुपमा हेर्न थालिएको छ । काँग्रेसको विधान अनुसार देउवा अब पार्टी सभापति बन्न पाउनु हुने छैन । देउवा दम्पत्ति उपचारबाट फर्किएपछि एकाएक राजनीतिक सक्रियता बढाएर १५ औं महाधिवेशनको मिति समेत टुङ्गो लगाउन देउवा नै सफल हुनु भएको छ । गत हप्ता देउवा र नेकपा (एमाले) का अध्यक्ष खड्गप्रसाद शर्मा ओलीको भेटपछि काँग्रेसका पूर्वप्रमुख सचेतक श्याम घिमिरेसहित ८ जनाले प्रतिनिधिसभाको पुनस्र्थापनाको माग गर्दै सर्वाेच्च अदालतमा रिट दायर गरेको अवस्था छ । त्यसैले देउवाको सक्रियता रहस्यमय बनेको बताइन्छ । देउवा आगामी निर्वाचनमा प्रतिस्पर्धामा आए नयाँ ‘रेकर्ड’ बन्ने अवस्था छ । उहाँले चुनाव जितेको अवस्थामा २०४६ सालको निर्वाचनपछिका सबै निर्वाचन जित्ने सांसदको ‘रेकड’ बनाउन देउवा सफल हुनु हुनेछ । यसैगरी उहाँ पराजित बन्नुभएमा त्यसले पनि पराजित भएको भन्ने ‘रेकर्ड’ नै बनाउने अवस्था रहने बताइएको छ ।
आगामी फागुन २१ गते हुने निर्वाचनमा देउवा पत्नी आरजु राणा पनि कैलाली क्षेत्र नंम्बर ५ बाट प्रतिनिधिसभामा उठ्ने तयारी गरिरहेको श्रोतले बताइएको छ । कैलाली ५ बाट २०७४ को निर्वाचनमा एमालेका नारदमुनी रानासँग पराजित राणा २०७९ को निर्वाचनमा समानुपातिक कोटाबाट सांसद बनी परराष्ट्रमन्त्री बन्नुभएको थियो ।
जेन–जी आन्दोलनबाट नसच्चिएको र नसुध्रिएको काँग्रेसलाई सुधार्न महाधिवेशनबाटै अभियान शुरु नगरे काँग्रेसको भविष्य अन्धकार रहेको पुराना काँग्रेसीहरुले बताएका छन् । अबको काँग्रेस जेनजी पुस्तासहितका युवाहरुले सम्हाल्नुपर्ने चर्चा चलेको छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *