आचारसंहिताको पालना जरुरी

Nayabimarsha (Weekly Newspaper from Nepal)

निर्वाचन आयोगले आगामी निर्वाचनहरुलाई व्यवस्थित बनाउकालागि नयाँ व्यवस्थाको प्रस्ताव गरेको छ । चुनाव प्रचारप्रसारका क्रममा झण्डाको धेरै प्रयोग नहोस् भन्ने उद्देश्यले यो विषय पनि नयाँ व्यवस्थामा पार्न आयोगले प्रस्ताव गरेको छ । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि भनी प्रस्तावित आचारसंहितामा झण्डा प्रयोगका सम्बन्धमा नयाँ व्यवस्था गरेको हो । कुनै पनि राजनीतिक दलले आयोजना गर्ने आमसभा, जुलुस कोणसभा वा घरदैलो जस्ता कार्यक्रममा बढीमा १० वटा मात्रै झण्डाको प्रयोग गर्न सक्ने छन् । दलको झण्डा आवश्यकताभन्दा बढी प्रयोग गरेर दुरुपयोग नहोस् भन्ने मनसायका साथ आयोगले त्यस्तो प्रबन्धको प्रस्ताव गरेको हो । यसैगरी उम्मेदवार वा दलको कार्यालयमा साइनबोर्ड तथा कपडामा बनाई तीन×चार फिटको दलको झण्डा र सोही नापको चुनाव चिन्ह राख्न बाहेक दलको प्रचारप्रसार गर्ने उद्देश्यले कुनै पनि प्रकारको डिजिटल बोर्ड, फ्लेक्स वा ग्लुसाइन बोर्ड राख्न, श्रव्य सामग्री बजाउन र श्रव्यदृश्य सामग्री प्रदर्शन गर्न नहुने भनी नयाँ व्यवस्थामा उल्लेख गरिएको छ । यसैगरी राजनीतिक दल तथा उम्मेदवारको नाम र चिन्ह भएको एउटामात्रै तुल वा फ्लेक्स राख्न पाइने प्रस्ताव पनि गरिएको छ ।
निर्वाचन प्रचारका लागि घरदैलोमा जाँदा उम्मेदवार, प्रस्तावक, समकर्थकसहित २५ जनाभन्दा बढीको जुलुस प्रदर्शन गर्न नपाइने व्यवस्था पनि गरिने भएको छ । चुनाव प्रचारका क्रममा जाँदा बाजागाजा तथा झाँकीसहित जान नहुने व्यवस्था गर्न लागिएको छ । अनलाइन, वेबपेज, टिभी, स्क्रोलिङ, सपिङ मलमा डिस्प्ले, कल सेन्टर सञ्चालन, बैंकका एटीएम, काउन्टरमा सन्देश वा सडक नाटक आदि माध्यमबाट दलको वा उम्मेदवारबारेमा कुनै पनि प्रचारप्रसार गराउन पाइने छैन । राजनीतिक दल वा उम्मेदवारले बढीमा एउटा निजी र आधिकारिक वेबपेजमा त्यस्तो प्रचार सामग्री राख्न भने बाधा नपर्ने पनि प्रस्ताव गरिएको छ । कुनै पनि प्रकारको भित्तेलेखन गर्न वा गराउन, चारपाङ्ग्रे गाडी, मोटरसाइकल, साइकल, बयलगाडा, रिक्सा, टाँगा, ठेलागाडालगायतका कुनै प्रकारका सवारी साधन प्रयोग गरी ¥याली आयोजना गर्न वा प्रचारप्रसार गर्न नहुने गरी आचारसंहिताको प्रस्ताव गरिएको छ ।
निर्वाचनलाई स्वच्छ, शान्त र मर्यादित बनाउने गरी आचारसंहिताको प्रस्ताव गरिएको हो । बिगतमा पनि यस्ता आचारसंहिता बनेका हुन् तर पालना गर्ने कार्यमा भने चुकेको देखिन्छ । यसैगरी आचारसंहिता बनाउँदा सही गर्ने तर पालना नगर्ने दल तथा नेता–कार्यकर्ताहरुको विषयमा तत्कालै कारबाही गर्ने गरिएमा मात्र त्यसले सार्थकता पाउने अवस्था छ । यसैगरी भड्किलो खालको प्रचार प्रसार नगर्न पनि दलहरुलाई अनुरोध गर्ने गरिएको हो । यसअघिका निर्वाचनहरुलाई हेर्ने हो भने शीर्ष नेताहरुले नै आचारसंहिताको पालना नगरेको अवस्था देखिएको थियो । यसैगरी कतिपय नेताहरुले चुनाव जित्नकालागि रकम, मोटरसाइकल बाँडेकोसम्मका आरोप लागेका थिए । त्यस्तो अवस्थामा आयोगले उनीहरुको विषयमा छानविन गर्न नै समय लगाउने गरेको थियो । पछि कारबाही गर्दा भने धेरै ढिलो भइसकेको अवस्था रहन्थ्यो । निर्वाचनको दौरान वातावरण र पर्यावरणको समेत ख्याल गरिनुपर्ने हुन्छ । कागजहरुको अनावश्यक प्रयोगले रुखको कटानीलाई प्रोत्साहन गर्ने कार्य गर्दछ । यसैगरी जथाभावी फोहोर गर्ने प्रवृत्तिले वातावरण नै प्रदूषित बनाउने कार्य गर्दछ । त्यसैले आचारसंहिताको पालना गर्ने कार्य गर्नु सबैको दायित्व तथा कर्तव्य पनि हो ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *