भक्तपुर/ पछिल्लो निर्वाचन परिणाम अनुसार नेपालको दोस्रो ठूलो दल नेकपा (एमाले) मा फेरि विभाजनको बीऊ रोपिएको चर्चा चलेको छ । एमालेको विहीबार सम्पन्न महाधिवेशनले अध्यक्षमा खड्गप्रसाद शर्मा ओलीलाई नै निर्वाचित गराएपछि यस्तो अवस्था आएको चर्चा चलेको छ । उक्त महाधिवेशनमा ओली पक्षले सबैजसो पदमा विजयको माला पहिरिएपछि एमालेमा इतर समूह अब कसरी अगाडि बढ्ला भन्ने अड्कलबाजी चल्न थालेको छ । एमालेका अध्यक्ष ओलीले आफ्नो प्रतिद्वन्द्वी तथा प्रतिस्पर्धीहरुलाई पेलेरै जाने नीति लिएका खण्डमा यही महाधिवेशन एमालेमा पुनः विभाजनको बीऊको रुपमा रहनेसम्मको चर्चा चल्न थालेको छ । एमालेका नेताहरुका बीचमा प्रतिस्पर्धा रहे पनि मतदाताले विवेक पु¥याउनुपर्नेमा त्यसो नभएको टिप्पणी हुन थालेको छ ।
अध्यक्षका प्रत्यासी ईश्वर पोखरेललाई पराजित गर्दै ओली तेस्रो कार्यकालका लागि नेतृत्वमा पुग्नुभएको हो । कुल २ हजार २ सय ६२ प्रतिनिधिमध्ये २ हजार २ सय २७ जनाले मतदान गरेका थिए । यसमा ओलीले १ हजार ६ सय ६३ मत प्राप्त गरी विजयी हुनुभएको हो । पोखरेल ५६४ मतमात्र पाउनुभयो ।
ओली र पोखरेलले सबैजसो पदमा आफ्नो समूह नै बनाएर प्रतिस्पर्धा गर्नुभएको थियो । एमाले भित्रको अर्को महत्वपूर्ण पदमा समेत पोखरेल पक्षबाट उम्मेदवारी दिनुभएका सुरेन्द्र प्रसाद पाण्डेले हार व्यहोर्नु प¥यो । महासचिव पदमा ओली समूहकै शंकर पोखरेल विजयी हुनुभयो । उहाँले १ हजार २ सय २८ मत प्राप्त गर्दा पाण्डेले ९९९ मत पाउनुभयो ।
यसैगरी उपाध्यक्ष पदमा पाँचजना निर्वाचित हुँदा पोखरेल समूहका गोकर्णराज विष्टले मात्र विजयको माला पहिरिन पाउनुभयो । विष्टले १ हजार ३ सय ६८ मत ल्याएर विजयी बन्ने अवसर पाए पनि उहाँको समूहमा रहेका अरु सबैले हार व्यहोर्नु प¥यो । पृथ्वी सुब्बा गुरुङले १ हजार ७ सय ३७, विष्णुप्रसाद पौडेलले १ हजार ६ सय ७५, रामबहादुर थापाले १ हजार ५ सय १६ र रघुजी पन्तले १ हजार २ सय ५८ मत प्राप्त गरी विजयको माला पहिरिनु भयो । यस पदमा गुरुप्रसाद बराल, विन्दा पाण्डे, परशुराम मेघी गुरुङ, अरुण नेपाल, टंकप्रसाद कार्की र भीमप्रसाद आचार्य भने पराजित हुनुभयो ।
उता, उपमहासचिव पदमा लेखराज भट्ट, रघुवीर महासेठ र योगेश भट्टराई निर्वाचित हुनुभयो । भट्टले १ हजार ४ सय ५२, महासेठले १ हजार ३ सय ६८ र भट्टराईले १ हजार ३ सय ४८ मत प्राप्त गरी विजयी बन्नुभयो । यसरी निर्वाचित हुनेमा भट्टराई मात्र इतर अर्थात पोखरेल समूहबाट उम्मेदवार बन्नु भएको थियो । यस पदमा विष्णुप्रसाद रिमाल, आनन्दप्रसाद पोखरेल, वैजनाथ चौधरी र राजेन्द्रप्रसाद गौतम पराजित हुनुभयो । रिमाल अध्यक्ष ओलीका एकदमै निकटमा व्यक्ति हुनुहुन्छ । उहाँ केन्द्रीय सदस्य पदमा समेत पराजित बन्न पुग्नुभएको छ ।
सचिव पदमा नौजना निर्वाचित हुनुभयो । महेश बस्नेत(१,५४४), पद्माकुमारी अर्याल (१,५३०), छविलाल विश्वकर्मा (१,५०६), शेरधन राई (१,५०३) र हिक्मतकुमार कार्की (१,३३७) विजयी हुनुभयो । यसैगरी खगराज अधिकारी (१,२३१), यमलाल कँडेल (१,१८५), राजन भट्टराई (१,१८१) र भानुभक्त ढकाल (१,१०८) सचिवमा विजयी हुनुभयो । यी सबै अध्यक्ष ओली समूहबाट नै उम्मेदवार बन्नुभएको थियो ।
यस पदमा गोकुलप्रसाद बास्कोटा, ठाकुरप्रसाद गैरे, रचना खड्का, कर्णबहादुर थापा, अग्निप्रसाद खरेल, विनोदप्रसाद ढकाल, कृष्णगोपाल श्रेष्ठ, पेम्बा लामा, लालबाबु पण्डित, इन्द्रलाल साप्कोटा र पुरुषोत्तम पौडेल भने पराजित हुनुभयो ।
महाधिवेशनमा १९ मध्ये १७ पदाधिकारी ओली समूहबाट निर्वाचित भएको बताइएको छ । ईश्वर पोखरेल समूहबाट उपाध्यक्षमा गोकर्ण विष्ट र उपमहासचिवमा योगेश भट्टराईले मात्र विजयी बन्ने मौका पाउनुभयो ।
यसैगरी विभिन्न क्लष्टरमा केन्द्रीय सदस्यको निर्वाचन भएको थियो । उक्त पदहरुमा पनि ओली समूहकै वर्चश्व रहेको बताइएको छ ।
यसैबीच, हिजै विहीबार एमालेका नवनिर्वाचितहरुको शपथ गराउने कार्य पनि भयो । अध्यक्षका रुपमा ओलीले तथा अन्य विजेताले पनि शपथ लिनुभएको थियो । उता, यस पटकको निर्वाचनमा एमालेले विद्युतीय मतदानको व्यवस्था गरेको थियो । सोही कारण मतपरिणाम पनि चाँडै आएको हो ।
यसैबीच गत भदौ २३ र २४ गते भएको नवपुस्ता (जेन–जी) को आन्दोलनबाट सत्ताच्युत हुनुभएका ओलीलाई भने एमालेको महाधिवेशनले राहत दिएको छ । पुरानापुस्तालाई विस्थापन गरिनुपर्छ भन्ने मान्यता जेन–जीहरुले लिए पनि एमालेको निर्वाचन परिणामले भने जेन–जीहरुलाई नै झस्काउने कार्य गरेको छ । जेन–जी विद्रोहको प्रभाव अन्य दलमा परे पनि त्यसलाई एमालेले भने गिज्याउने अवस्था ल्याएको भनी टिप्पणी भैरहेको छ ।
