मधेशको अधिकारबारे काठमाडौंमा बहस

Nayabimarsha (Weekly Newspaper from Nepal)

काठमाडौं/ विदेशमा बस्ने नेपालका मधेशीहरुको अन्तर्राष्ट्रिय छाता संगठन मधेशी एकता समाजले शनिबार काठमाडौंमा एउटा कार्यक्रम गरेको छ । नवपुस्ता (जेनजी) आन्दोलनपछि मुलुकमा विकसित राजनीतिक परिवेशमा केन्द्रित रहेर विचार मन्थन कार्यक्रम आयोजना गरिएको हो ।
परिवर्तनशील समयमा मधेश भन्ने शीर्षकमा आयोजना गरिएको विचार मन्थन कार्यक्रममा बोल्दै जनमत पार्र्टीका अध्यक्ष डा. सि.के. राउतले जेनजी आन्दोलनपछि मधेश कहाँ छ भनी आफूहरुले खोजिरहेको बताउनुभयो ।
राउतले जेनजी आन्दोलनपछि आफू र आफ्नो पार्टीका सांसदले राजीनामा दिएको, तर पछि संघीयता र संसदीय व्यवस्थामाथि नै प्रहार हुन थालेको आफूले पाएको बताउनुभयो । मधेश आन्दोलन त्यतिकै भएको होइन, मधेशले पहिचान त्यतिकै पाएको होइन, त्यसका लागि धेरैले बलिदानी दिएको राउतले बताउनुभयो ।
मधेश आन्दोलनले ल्याएको समानुपातिक निर्वाचन प्रणालीले नै मधेशी, दलित, मुस्लिम, जनजातिहरु संसदसम्म पुगेको र समानुपातिक व्यवस्थाकै कारणले मधेशी, आदिवासी जनजाति, दलितलगायतका समुदायले मुलुकमा आरक्षण पाएको उहाँको भनाइ थियो । जेनजी आन्दोलनपछि नेपाली सेनाले देशको राजनीति आफ्नो हातमा लिएर सम्झौता गर्दा मधेशले कुनै ठाउँ नपाएको उहाँले बताउनुभयो ।
पछिल्लो समय जेनजीले सरकारसँग गरेको सम्झौतामा मधेशी, थारु, आदिवासी जनजाति र दलितलगायतलाई सम्बोधन गरेकोले त्यो सकारात्मक रहेको उहाँको भनाइ थियो ।
त्यसैगरी राजनीति विश्लेषक सि.के. लालले जेनजी आन्दोलनमा मधेश कतै नदेखिएको बताउनुभयो । विचार मन्थन कार्यक्रममा बोल्दै लालले जेनजी आन्दोलनमा मधेशी सहभागी भए पनि त्यसबाट केही नपाएको बताउनुभयो ।
देशको अवस्था मधेशको अनुकूल नरहेको उहाँको भनाइ थियो । उहाँले अनुकूलताका लागि प्रतीक्षा गर्नबाहेक केही उपाय नरहेको बताउनुभयो । नवयुवाले परिवर्तन गर्न चाहेका छन् तर त्यस्तो परिवर्तन कस्तो हुन्छ त्यो सोचनीय कुरा रहेको बताउँदै विश्लेषक लालले सन् १९९० मा जे अवस्था थियो त्यस्तै अवस्था अहिले पनि रहेको बताउनुभयो । मधेशमा असल नेतृत्वको आवश्यकता छ र त्यस्तो नेतृत्व स्थापित हुन केही समय लाग्ने बताउदै उहाँले नेतृत्व र नेता एक दिनमा नजन्मिने बताउनुभयो ।
त्यसैगरी अर्का विश्लेषक तुलानारायण साहले हरेक आन्दोलनले राज्यसँग सम्झौता गर्ने गरेको तर ती सम्झौताहरुले मधेशलाई गौण राख्ने गरेको बताउनुभयो । उहाँले हरेक आन्दोलनको नेता हुन्छ तर जेनजी आन्दोलनको नेता नै रहेको बताउनुभयो । यो आन्दोलनको अदृष्य अजेन्डा भनेको संघीयता खर्चिलो भयो भन्ने हो, यदि मधेशमा त्यसको विरोध नभएको भए संघीयता नै प्रभावित हुने अवस्था आएको उहाँको भनाइ छ ।
आनन्द गुप्ताले सञ्चालन गर्नुभएको कार्यक्रममा समाजका प्रवक्ता दीपेन्द्र चौबेले विद्वान् वक्ता तथा दर्शकहरुलाई स्वागत गर्नुभएको थियो ।
मधेशी एकता समाजका संस्थापक अध्यक्ष एवं अन्तर्राष्ट्रिय समिति संयोजक डा. रविन्द्रकुमार यादवले विषय प्रवेश गराउँदै समाजको योगदान र भावी कार्ययोजनाबारे प्रकाश पार्नुभएको थियो । कार्यक्रममा सामाजिक अभियन्ता राकेश मिश्रा, विश्लेषक राजेश विद्रोही, मिथिला चित्रकार रन्जु यादव, जेनजी नेता शिव यादव, अभियन्ता आभास गुरु, युवा अभियन्ता माजिद अन्सारी र चलचित्र अभिनेत्री सरिता साहले पनि आ–आफ्नो धारणा राख्नुभएको थियो ।
कार्यक्रमको अध्यक्षता गर्नुभएकी मधेशी एकता समाजकी नेपाल संयोजक डा. बबी सिंह यादवले सबैलाई धन्यावाद दिनुका साथै मधेशको संघर्ष, एकता र भविष्यबारे कविता सुनाउनुभएको थियो ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *