भक्तपुर/ आगामी फागुन २१ गते गरिने भनिएको प्रतिनिधिसभाको निर्वाचनको माहौल बन्दै गएको छ । उक्त निर्वाचनका लागि भनी समानुपातिकतर्फको नामको बन्दसूची बुझाउने क्रममा सबैजसो दलको सक्रियताले निर्वाचनको पक्षमा दलहरु होमिएको अवस्था देखिएको हो । सबैजसो दलहरुले नाम बुझाएका छन् । ती नामका विषयमा निर्वाचन आयोगले छानविन गर्न थालेको छ । निर्वाचनको विपक्षमा अभिव्यक्ति दिँदै आएको नेपाल कम्युनिष्ट पार्टी (एकीकृत माक्र्सवादी र लेलिनवादी) ले समेत नाम बुझाएको छ । यसैगरी वर्तमान सरकारलाई असंवैधानिक भन्दै सरकारको अस्थित्व नै नस्वीकाने अवस्थामा पुग्नु भएका एमालेका अध्यक्ष खड्गप्रसाद शर्मा ओलीले समेत वर्तमान सरकारको अस्थित्वलाई स्वीकार गरेको अवस्था छ । राष्ट्रपति रामचन्द्र पौडेलले समन्वय गरेको प्रमुख दलका शीर्ष नेताहरुको बैठकमा ओली सामेल हुनु भयो । राष्ट्रपति पौडेलले ओलीसहित नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाललाई एकैसाथ भेट गरी निर्वाचनको पक्षमा आउन आग्रह गर्नुभएको थियो । त्यसैगरी पौडेलले नै प्रधानमन्त्री सुशीला कार्कीसँगको भेटको व्यवस्था मिलाई दिएको अवस्थामा उहाँहरु तीनैजनाले कार्कीसँग प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता गर्नु भएको थियो ।
उक्त भेटवार्तामा कांग्रेसका सभापति देउवा निर्वाचनको पक्षमा खुलेर देखिनु भएको थियो । उहाँले एमाले पनि निर्वाचनमा जानुको विकल्प नभएको भनी ओलीलाई पनि मनोवैज्ञानिक ढंगले दबाब दिनु भएको थियो । सोही बैठकमा ओलीले भने निर्वाचनको वातावरण बनि नसकेको भनी विचार राख्नु भएको थियो । ओलीको मुख्य चासो आफ्नो स्थानहद काठमाडौं उपत्यकामा सीमित रहेकोमा थियो । यसैगरी निर्वाचनको बाटोमा जानका लागि शान्तिसुरक्षाको प्रत्याभूति सरकारले गर्नुपर्नेमा त्यसो हुन नसकेको भनी भनिएको थियो ।
कांग्रेस, एमालेलगायतका प्रमुख दलका शीर्ष नेताहरुसँग वार्ता नै नगर्ने मुडमा रहँदै आउनु भएकी प्रधानमन्त्री कार्कीलाई पनि त्यस्तो नगर्न भनी राष्ट्रपति पौडेलले सुझाएको स्रोतले बतायो । यसैगरी फागुन २१ गते गरिने भनिएको निर्वाचन समयमा नभए मुलुक झनै भड्खालोमा पर्ने अवस्था आउने भनी पौडेलले शीर्ष नेताहरुलाई भनेपछि उहाँहरु पनि कार्कीसँग वार्तामा बस्न तयार हुनु भएको पनि समाचार स्रोतले जानकारी गराएको छ ।
समानुपातिकतर्फको नाम दिने समयावधिका क्रममा विभिन्न दलहरुले आफूलाई एकताबद्ध गराउने प्रयास पनि गरे । त्यसो त गत भदौ २३ र २४ गतेको नवयुवा (जेनजी) हरुको आन्दोलनले राजनीतिक दलहरुको स्वरुपमै परिवर्तन गर्नुपर्ने अवस्था सिर्जना गरिदिएको थियो । पुराना पुस्ता त्यसमाथि पनि सधैँ एउटै अनुहारले मात्र राज्यव्यवस्था चलाएकोप्रति जेनजीहरुको आपत्ति थियो । यसैगरी उक्त पुस्ताले देशमा सुशासन कायम नगरेको तथा युवाहरुलाई विदेश पलायन हुनुपर्ने अवस्था सिर्जना गरेको भनी आपत्ति प्रकट गरेका थिए ।
त्यसको विरुद्धमा भएको प्रदर्शनी तथा आन्दोलनले करिब दुई तिहाईको समर्थनमा रहेको तात्कालिन प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओली नेतृत्वको सरकार २७ घन्टामै ढल्न पुगेको थियो । ओलीलगायतका नेताहरुलाई नेपाली सेनाले हेलिकोप्टरमा राखी भगाउनुपर्ने अवस्था आएको थियो ।
त्यसपछिको राजनीतिक घटनाक्रम भिन्न ढंगले आउन थालेको छ । सबैजसो दलका पुराना नेतृत्वलाई आफ्नो दलमा पुनसंरचना गर्नुपर्ने अवस्थामा पु¥याएको छ । यसैगरी नयाँ शक्तिहरुको उदय हुन थालेको अवस्थामा पुराना दलहरुले पनि आफ्नो अस्थित्व रक्षाका लागि नयाँ शैली अपनाउनु पर्ने अवस्था आएको छ । यस क्रमलाई बुझेर धेरै दलहरु एकीकृत हुँदै गएका छन् ।
तराई मधेश केन्द्रित रहेका दलहरु आफ्नो अस्थित्वरक्षाका लागि गोलबन्द हुन थालेका छन् । तराईमा केन्द्रित रहेको सी.के.राउतको दल जनमत पार्टी बाहेकका अन्य दलहरु एकता नजिक पुगेका छन् । त्यसअघि कम्युनिष्ट घटकहरुका बीचमा एकता भन्दै तात्कालिन नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) लगायतका करिब डेढ दर्जन दल तथा घटकहरु नेपाली कम्युनिष्ट पार्टीको रुपमा एकीकृत भएका छन् ।
यसैगरी बुधबार मात्रै राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका बीच एकीकरण गर्ने कुरामा सहमति भएको छ । यस्तै, बाबुराम भट्टराई नेतृत्वमा रहेको दल तथा अन्य केही दलहरु समेत मिलेर छुट्टै दल बनाएको अवस्था छ । यसैगरी हर्क साम्पाङ, बालेन्द्र शाह (बालेन) र कुलमान घिसिङ लगायतका पात्रहरुले पनि नयाँ दलको तयारी गरिरहेको अवस्था थियो ।
पछिल्लो समयमा नयाँ शक्तिहरु एक ठाउँमा आउनुपर्ने भनी जेनजीहरुले आवाज उठाउन थाले । उनीहरुले नयाँ शक्तिको रुपमा बालेन, घिसिङहरुलाई समेत जोडाउने प्रयास गरेका थिए । यस क्रममा उनीहरुले छुट्टाछुट्टै दल बनाएर हिंडे पुराना दलहरुले खेल्ने मौका पाउने भनी सबैलाई साढे तीन वर्षअघि स्थापित राष्ट्रिय स्वतन्त्र पार्टीमा गोलबन्द बनाउने प्रयास थाले । समानुपातिकको नाम बुझाउने अन्तिम दिन भए पनि उनीहरुको प्रयास सफल भएको बताइएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि अहिले पनि विभिन्न मुद्दाहरु चलिरहेको हुँदा लामिछानेलाई अबको प्रधानमन्त्रीको उम्मेदवारका रुपमा अघि नसार्ने कुरामा रास्वपा पनि सहमत भयो । यसैगरी बालेनलाई आगामी प्रधानमन्त्रीको उम्मेदवार बनाउने घोषणामा लामिछाने र घिसिङ पनि सहमत देखिए । यसैगरी सभापति नै चाहिन्छ भन्दै आउनु भएका घिसिङ पनि रास्वपाको उपसभापति बन्न तयार बन्नुभयो । त्यसपछि उहाँहरु सबैलाई समेटेर समानुपातिकतर्फको नाम बुझाउने भन्ने कुरामा सहमति भै नाम पनि बुझाएको अवस्था छ ।
यसरी सबैजसो नयाँ शक्तिहरु रास्वपामा गोलबन्द हुँदा पुराना शक्ति मानिने नेपाली कांग्रेस र नेकपा (एमाले) भने सोचमग्न अवस्थामा पुगेका छन् । पछिल्लो निर्वाचन परिणाम अनुसार कांग्रेस सबैभन्दा ठूलो दलको रुपमा रहेको छ । कांग्रेसमा पनि नेतृत्व हस्तान्तरण गरिनुपर्ने कुरा चर्को रुपमा उठिरहेको छ । देउवालगायतका पुराना पुस्ताका नेतृत्वले नेतृत्व छाडी नयाँपुस्तालाई हस्तान्तरण गरे मात्र कांग्रेसले आफ्नो साख जोगाउन सक्ने भन्ने कुराहरु आइरहेका छन् ।
उता, परिवर्तनको कुरालाई पूर्णतः बेवास्ता गरी एमालेले भने महाधिवेशन गरी ओलीलाई नै अध्यक्षमा तेह¥याएको छ । यसले गर्दा एमाले भित्र त ठीकै देखिए पनि एमालेका युवापुस्ता भने खिन्न देखिएको अवस्था छ । एमालेले ओलीको अनुहार वा नेतृत्व लिएर मतदातासँग जानु भनेको अधोगतिमा लाग्नु हो भन्ने राजनीतिक क्षेत्रका विश्लेषकहरुले विश्लेषण गर्दै आएको अवस्था छ ।
ओलीको पुनरागमनका कारण कांग्रेसका सभापति देउवा पनि उत्साहित बन्नु भएको बताइन्छ । देउवाले पछिल्लो अवस्थालाई मूल्यांकन गरी कार्यवाहक सभापतिको जिम्मेदारी पूर्णबहादुर खड्कालाई दिएर आफू राजनीतिक विश्राममा रहने सोच बनाएको अवस्था थियो । ओलीको आगमन तथा भेटबाट देउवा पनि शक्ति आफूमै केन्द्रित गर्न चाहन थाल्नु भएको देखिएको छ । देउवाले आगामी निर्वाचनमा आफू उम्मेदवार बन्न चाहना राख्नु तथा घोषित मितिमा महाधिवेशन हुन नसक्ने स्थितिमा विशेष महाधिवेशनलाई पनि रोक्न चाहनुले देउवा फेरि पनि शक्तिमै रहन चाहेको अवस्था भनी विश्लेषण गरिन थालिएको छ ।
निर्वाचनको माहौल बन्दै: रास्वपामा गोलबन्द, कांग्रेस–एमाले सोचमग्न
Facebook Comments Box
