कांग्रेसको भ्वाङ टाल्ने अश्त्र गगन

Nayabimarsha (Weekly Newspaper from Nepal)
कौशल कुमार भट्टराई

गत भदौ २३ र २४ गतेको नवपुस्ता (जेनजी) हरुको प्रदर्शनी, आक्रोश तथा आन्दोलनका कारण मुलुकको राजनीतिक क्षेत्रको चित्र फेर्नुपर्ने अवस्था आएको छ । परम्परागत दलका पुराना नेताहरुको कार्यशैली तथा कुशासनको विरोधमा जेनजीहरुले आन्दोलन गरेका थिए । आन्दोलनका क्रममा भएको घुसपैठ आदिका विषय आफ्नो ठाउँमा होला । त्यो बेला उनीहरुले राखेका कुराहरुलाई सरकारले सुन्न नसकेको तथा पेलेरै जान चाहेको अवस्थामा तात्कालिन प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओलीले समेत ज्यान जोगाउन हेलिकोप्टर चढेर भागेर हिंड्नु परेको थियो । उक्त आन्दोलनले एकै दिनमा सरकार ढाल्न पुगेको थियो ।
त्यसरी करिब दुई तिहाईको अवस्थामा रहेको ओली नेतृत्वको सरकार ढलेपछि राजनीतिक अवस्था परिवर्तित रुपमा देखा परेको छ । सबैजसो दलहरुले आफूलाई परिवर्तन गर्न थालेका छन् । सकेसम्म नयाँ पुस्तालाई नेतृत्व हस्तान्तरण गर्ने नत्र भने पनि नयाँ पुस्तालाई समेटेर अघि बढ्नै पर्ने अवस्थामा दलहरु पुगेका छन् । जेनजीहरुको कुराका कारण धेरै दलहरु मिलेर आफ्नो अस्थित्व कायम राख्ने कसरतमा छन् ।
दोस्रो ठूलो दल नेकपा (एमाले) ले भने नवपुस्ताको मागलाई खासै सम्वोधन गर्न चाहेको देखिएन । एमालेजनले पुरानै अनुहार अर्थात ओलीलाई नै एमालेको अध्यक्षमा निर्वाचित गरी जेनजीहरुको मागप्रति पूर्णत बेवास्ता गरेको सन्देश दिन चाहेका छन् । एमालेमा पनि यस पटकको महाधिवेशनमा नयाँ पुस्तालाई समेट्ने गरी केही स्थानहरु भने छुट्याइएका छन् । उनीहरुलाई माथिल्लो तहमा भन्दा पनि केन्द्रीय सदस्यका रुपमा भए पनि समेटिएको भनी नाक जोगाउने प्रयास भने भएको छ ।
यता, सबैभन्दा ठूलो दल नेपाली कांग्रेस भने अझै पनि दोधारमा उभिन पुगेको छ । कांग्रेस सबैभन्दा ठूलो दलको रुपमा प्राविधिक रुपमा रहे पनि अबको नयाँ निर्वाचन परिणामले त्यसलाई कहाँ पु¥याउने हो भनी कांग्रेसका शुभचिन्तकहरु सोचमग्न अवस्थामा पुगेका छन् । कांग्रेसका सभापति शेरबहादुर देउवाले पछिल्लो अवस्थालाई ध्यान दिएर कार्यवाहक सभापति पूर्ण बहादुर खड्कालाई दिएको अवस्था छ ।
कार्यवाहकको जिम्मेदारी पाउनु भएका खड्काले आफूले जिम्मेदारी निभाउन नसकेको अवस्थालाई ख्याल गरी कांग्रेसको महाधिवेशनको मिति घोषणा गराउने वातावरण बनाउन देउवा नै अग्रसर बन्नु प¥यो । यसैगरी एमालेको महाधिवेशनबाट ओली नै अध्यक्ष निर्वाचित भएपछि देउवाले समेत राजनीतिक सक्रियता बढाएको स्थिति छ । देउवा नै शीर्ष नेताहरुको भेटमा सामेल हुने तथा विशेष महाधिवेशन अहिलेको अवस्थामा संभव नहुने भनी अभिव्यक्ति दिन थाल्नु भएको छ ।
यही पुस २६ गतेदेखि कांग्रेसको १५औं महाधिवेशन हुने भनी घोषणा गरिएको छ । उक्त मितिमा महाधिवेशन गर्नकालागि भनी वडाको अधिवेशन गर्न भनी तोकिएको समयावधि गुज्रिसकेको छ । त्यसैले तोकिएको मितिमा नियमित महाधिवेशन हुने संभावना क्षीण हुँदै गएको छ ।
एकातिर महाधिवेशनको तयारी पूरा नहुनु, अर्कोतिर पुराना नेताहरुले महाधिवेशनको वातावरण बन्न नदिनु जस्ता कार्यले कांग्रेस अबको दिनमा कसरी जाला भनी निश्चित ऐना देखिएको छैन । कांग्रेसले पछिल्लो परिवर्तनलाई आत्मसाथ गर्न सकेन भने नयाँ उदाएका शक्तिहरुले कांग्रेसलाई धेरै पछि पार्न सक्ने अड्कलबाजीहरु हुन थालेका छन् । मुख्य रुपमा आगामी फागुन २१ गतेभन्दा अघि महाधिवेशन वा नेतृत्व परिवर्तन हुन सकेन भने निर्वाचनमा कांग्रेस जान पनि गाह्रो अवस्था छ ।
निर्वाचनमा होमिनु भनेको टिकट दिएर निर्वाचनमा उम्मेदवार बन्नुमात्र ठूलो कुरा होइन । निर्वाचन जितेर आउन सक्नु ठूलो कुरा हो । त्यसका लागि जित्न सक्ने तत्यारिलो उम्मेदवारका अतिरिक्त उक्त दलको नेतृत्व कस्तो छ भन्ने कुराले पनि माने राख्दछ । यसरी माने राख्ने कुरालाई कांग्रेसले बेवास्ता गरेर निर्वाचनमा जानु भनेको भीरबाट हाम्फाल्नु जस्तै हो । एमालेले त्यो जोखिम मोल्यो भन्दैमा कांग्रेसले पनि त्यही जोखिम मोल्नु अहिलेको अवस्थामा उचित देखिँदैन ।
कांग्रेसको नियमित महाधिवेशन घोषित मितिमा हुने संभावना कम देखेपछि कांग्रेसका महामन्त्रीहरु गगन थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशनको कुरालाई उठाउन थाल्नु भएको छ । त्यसो त विशेष महाधिवेशनका लागि भनी ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरुले हस्ताक्षर गरेर माग गरेको अवस्था छ । विशेष महाधिवेशनलाई टार्नका लागि नियमित महाधिवेशनको मिति अघि सारिएको छ । नियमित महाधिवेशन हुन नसक्दा विधानतः विशेष महाधिवेशन गरिनुपर्ने कुरालाई महामन्त्रीद्वयले उठाउन थाल्नु भएको छ ।
विशेष महाधिवेशन गर्दा नयाँ प्रतिनिधिहरु चयन नगरी पुरानै प्रतिनिधिहरुबाट प्रक्रिया अघि बढाउन मिल्ने हुन्छ । यसैगरी पुरानै प्रतिनिधिहरुले मतदान गर्ने अवस्थामा मुख्य रुपमा सभापति वा अन्य पदाधिकारीहरु समेत परिवर्तन गर्न मिल्ने भनी कानून व्यवसायीहरु सुझाव दिन थाल्नु भएको छ ।
त्यसैले पनि नियमित वा विशेष महाधिवेशन गराउने कुरामा महामन्त्रीद्वय देखापर्न थाल्नु भएको हो । यो विशेष महाधिवेशनको कुरामा नेता शेखर कोइरालाले पनि साथ दिएमा होस्टेमा हैंसेको अवस्था आउने थियो । कोइराला भने विशेष महाधिवेशनले कांग्रेसलाई फुटसम्म पु¥याउन सक्ने भन्दै त्यसो नगर्नु उचित हुने भनी खोंचे थाप्ने अवस्थामा हुनुहुन्छ । यसैगरी देउवा पनि विशेष महाधिवेशको कार्यविधि स्पष्ट नभएको अवस्थामा त्यता नजाँदा ठीक हुने भन्ने धारणा राख्दै आउनु भएको छ ।
यस्तो अवस्थामा कांग्रेस चेपुवाको स्थितिमा पुगेको छ । कांग्रेस निर्वाचनमा जाँदा नयाँ नेतृत्वसहित नगए मतदाताले पत्याउने अवस्था छैन । कांग्रेस मासबेस पार्टी भएकाले कांग्रेसका परम्परागत मतदाता बाहेक अन्य मतदाताले मतदान गर्ने अवस्था सुनिश्चित छैन । यस्तो अवस्थामा कांग्रेसले कि त पुरानै नेतृत्व राखेर जे परिणाम आउला भनी जानुप¥यो । अर्को विकल्प भनेको नयाँ नेतृत्वसँगै नयाँ शक्तिहरुसँग प्रतिस्पर्धा गर्ने गरी जानु प¥यो ।
अघिल्लो निर्वाचनदेखि नयाँ शक्तिको रुपमा उदाएको रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा अहिले आएर नयाँ पुस्ताको विश्वास भएका बालेन्द्र शाह (बालेन) र कुलमान घिसिङ समेतलाई समेट्ने कार्य भएको छ । त्यसअघि विवेकशील पार्टी पनि रास्वपामा मिली सकेको अवस्था छ । यसैगरी यस्तो अवस्थाको रास्वपाले आगामी निर्वाचनमा प्रधानमन्त्रीको रुपमा बालेनलाई अघि सार्ने गरी तयारी गरेको छ ।
बालेनको नामसँगै नयाँ पुस्तामा जोश आएको छ । पुराना शक्तिमा रहेकाहरु पनि बालेनबाट मुलुकको मुहार फेरिन सक्ने वा उनको प्रतिस्पर्धामा अरु दलले कसलाई अघि सार्लान् भनी हेरेर बसेको अवस्था छ । यस्तो अवस्थामा एमाले तथा नेपाली कम्युनिष्ट पार्टीले पुरानै अनुहारलाई अघि बढाए पनि कांग्रेसमा भने नयाँको कुरा उठिरहेकै छ ।
कांग्रेसले नयाँ अवस्थालाई मूल्यांकन गरी आफ्नो नेतृत्वमा पनि परिवर्तन गरी नयाँ शक्तिसँग जुध्नुपर्ने अवस्था आएको छ । यो बेला बालेनलाई टक्कर दिन सक्ने कांग्रेसी अनुहार भनेकै महामन्त्री गगन थापा वा विश्वप्रकाश शर्मा हुनुहुन्छ । शर्माले सभापति बन्ने गरी आफूलाई अघि सार्नु भएको छैन । त्यसैले पनि थापा नै सही पात्र देखिन्छ ।
थापालाई कांग्रेसले नियमित वा विशेष महाधिवेशनमार्फत कांग्रेसको सभापतिमा ल्याउनु आवश्यक देखिन्छ । यसैगरी आगामी निर्वाचनमा कांग्रेसले सरकारको नेतृत्व गर्ने अवस्था आएमा प्रधानमन्त्रीको लागि थापा नै हो भनी घोषित गरेर जानुपर्ने अवस्था छ । थापा नयाँ पुस्ताले पत्याउने तथा बालेन वा रास्वपालाई टक्कर दिन सक्ने क्षमता राख्ने नेतामा पर्नु हुन्छ ।
थापासँग सरकार तथा पार्टी चलाएको अनुभव पनि छ । वाकपटुताका अतिरिक्त नयाँ सोचलाई अघि सार्न सक्ने अवस्था पनि छ । यसैगरी स्वदेश तथा विदेशमा रहेका नागरिक तथा अन्य शक्तिहरुले समेत विश्वास गर्न सक्ने अवस्था देखिएको छ । यसैगरी कांग्रेस भित्र पनि महामन्त्री बनी सफल रुपमा कार्य गरी सकेको अवस्थामा उहाँको अनुहार प्रतिस्पर्धी दलका लागि पनि प्रतिस्पर्धायोग्य देखिन्छ । त्यसैले कांग्रेसले यो अवस्थालाई बुझ्नु आवश्यक छ ।
गगन थापालाई कांग्रेसले अघि सारेमा मात्र कांग्रेस थप भ्वाङ पर्नबाट जोगिन सक्ला । होइन भने कांंग्रेसको चुहिने भ्वाङको आकार बढ्दै जाने तथा निर्वाचन परिणामसम्म आइपुग्दा टाउकोमा हात लगाएर बस्नुपर्ने अवस्था नआउला भन्न सकिन्न । त्यसैले यो विषयमा कांग्रेसको हालको नेतृत्व तथा कांग्रेसजनले सही निर्णय गरी कांग्रेसलाई चलायमान गराउनु उचित देखिन्छ । होइन भने ‘भीरबाट लड्न लागेको गोरुलाई राम राम भन्ने हो, काँध थाप्न सकिँदैन’ भन्ने उखानलाई सम्झिएर मिसन ८७ भन्दै कुर्दै बस्नु बाहेकको विकल्प नरहने अवस्था आउने देखिन्छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *