प्रधानमन्त्री कार्कीलाई बोझ थपिँदै: कांग्रेसमा कलह गठबन्धनमा दलहरु

Nayabimarsha (Weekly Newspaper from Nepal)

भक्तपुर/ आगामी फागुन २१ गते प्रतिनिधिसभाको निर्वाचन गराउने ध्येयका साथ प्रधानमन्त्री बन्नु भएकी सुशीला कार्कीमाथि बोझ थपिँदै गएको छ । पति अस्वस्थ रहेको अवस्थामा पारिवारिक दायित्वसँगै मुलुकलाई सहज रुपमा हाँक्नुपर्ने अवस्थामा कार्की हुनुहुन्छ । यसैगरी सानो आकारको मन्त्रिमण्डल बनाएर चुनाव गराउने उद्देश्य लिनु भएकी कार्कीका लागि भैरहेका मन्त्रीहरुका कारण पनि समस्या आउन थालेको छ । बुधबार मात्र तीनवटा मन्त्रालय सम्हाल्नु भएका मन्त्री कुलमान घिसिङले राजीनामा गर्नु भएको छ । त्यसो त राजीनामाका लागि उहाँलाई कार्कीले नै सुझाउनु भएको थियो । घिसिङ प्रत्यक्ष रुपमा राजनीतिक दलमा जोडिएर सक्रिय हुनु हुने भएपछि कार्कीले राजीनामा गर्न सुझाउनु भएको थियो । सोही अनुसार उहाँले पनि राजीनामा गरी मार्गप्रशस्त गरिदिएको बताइएको छ । यसरी घिसिङको राजीनामा आएपछि तीनवटा मन्त्रालयको जिम्मेदारी पनि आफ्नै काँधमा राख्नुपर्ने अवस्थामा प्रधानमन्त्री कार्की रहनु भएको छ ।
पहिले ११ जनाभन्दा बढीको मन्त्रिमण्डल नबनाउने भन्नेमा रहनु भएकी कार्कीले १४ सदस्यीय बनाउनुमा घिसिङजस्ता मन्त्रीहरु दलीय झण्डा बोक्ने अनुमानले काम गरेको समाचार स्रोतले बताएको छ । उहाँले हाल मन्त्री रहनु भएका जगदीश खरेल र बब्लु गुप्तालाई पनि दुईतिर गोडा नराख्न भनी सुझाएको बताइएको छ । खरेलले पर्दा पछाडिबाट र गुप्ताले खुलेआम राष्ट्रिय स्वतन्त्र पार्टीको पक्षमा आफूलाई देखाएको बुझाइमा कार्की पुग्नु भएको पनि बताइएको छ ।
यस्तो अवस्थालाई ख्याल गर्दै कार्कीले उहाँहरुलाई पनि आफ्नो कित्ताकाट गर्न भनेको पनि स्रोतले दाबी गरेको छ । स्रोतका अनुसार ‘कार्कीले कि मन्त्री कि त दल रोज्न भन्नु भएको छ’ समाचार स्रोतले भन्यो । त्यसो त गुप्ता कुलमान घिसिङ, बालेन र रवि लामिछानेका बीचमा एकता गर्ने प्रयास हुँदाका बखत मन्त्री गुप्ता पनि देखिनु भएको थियो । त्यसैले रास्वपामा उहाँको पनि संलग्नता भएको भनी चर्चा चलिरहेको छ । यसैगरी केही अभिव्यक्तिले मन्त्री खरेल पनि रास्वपासँग पर्दापछाडिबाट निकट रहेको देखिएको भनी टिप्पणी भैरहेको अवस्था छ ।
यसैगरी मन्त्री गुप्ताको अमेरिका भ्रमण गर्ने विषय पनि विवादित बनेको छ । युवराज सफलले मन्त्री गुप्तालाई आएको निमन्त्रणा नै नक्कली भएको भन्दै त्यसविरुद्ध उजुरी गर्नुभएको छ । उता, मन्त्री खरेलले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (एमाले) का अध्यक्ष खड्गप्रसाद शर्मा ओली र नेकपाका संयोजक पुष्पकमल दाहाललाई प्रधानमन्त्री कार्कीसँग भेट गराउन महत्वपूर्ण भूमिका निभाएको भनी खरेलप्रति कार्की सकेसम्म सकारात्मक रहने अवस्थामा रहेको पनि समाचार स्रोतले दाबी गरेको छ ।
खरेलले आगामी निर्वाचनमा प्रत्यक्ष रुपमा उम्मेदवारी दिने तयारी गरिरहेको पनि बताइएको छ । खरेल आफूले सो सम्बन्धमा स्पष्ट नपारे पनि उहाँका निकटवर्तीहरुले भने उहाँले उम्मेदवारी दिने तयारी गरिरहेको दाबी गरेका छन् । त्यसैले पनि प्रधानमन्त्री कार्की उहाँलाई पनि आफ्नो बारेमा स्पष्ट हुन भन्न थाल्नु भएको बताइएको छ । त्यसो त खरेल पनि सञ्चारकर्मबाट एक्कासी मन्त्री बनेकाले रवि लामिछानेको जस्तै राजनीतिमा छलाङ मार्ने सोचमा पुग्नु भएको बताइएको छ ।
उता, आगामी फागुन २१ गतेका लागि घोषित निर्वाचनका कारण नेपाली कांग्रेसमा संकट देखिएको छ । उक्त निर्वाचनलाई मध्यनजर गरी कांग्रेसको केन्द्रीय समितिले आगामी बैशाखमा नियमित महाधिवेशन गर्ने निर्णय गरेको छ । यसअघि पुस २६ गतेदेखि हुने भनी घोषित उक्त मितिमा परिवर्तन गरिएपछि कांग्रेस भित्र विग्रह हुन थालेको हो ।
नियमित महाधिवेशन नै अनिश्चित भएको भनी विशेष महाधिवेशन पक्षधरहरुले यही पुस २७ गतेदेखि विशेष महाधिवेशन गर्ने तयारी गरेका छन् । विशेष महाधिवेशनको पक्षमा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासमेत रहनु भएको छ । नियमित महाधिवेशन हुने भनी मिति घोषित भैसकेको तथा फागुन २१ मा निर्वाचन हुने भनिएको अवस्थामा विशेष महाधिवेशन गरिनु नहुने पक्षमा कांग्रेसका सभापति शेरबहादुर देउवा रहनु भएको छ । यसैगरी उहाँ निकटका नेता–नेतृदेखि इतरमा रहँदै आउनु भएका शेखर कोइरालासमेत विशेष महाधिवेशनको विपक्षमा देखिनु भएको छ ।
उता, ५४ प्रतिशत बढीले विशेष महाधिवेशनको माग लिखित रुपमा गरेको अवस्थामा त्यसको निर्णय ३ महिनाभित्र महाधिवेशन गरेर दिनुपर्ने भन्ने पक्षमा विशेष महाधिवेशन पक्षधरहरु देखिनु भएको छ । उहाँहरुले त्यो ३ महिनाभित्र नियमित महाधिवेशन गर्न नसक्दा विशेष महाधिवेशनले वैधता पाउने भनी त्यसको तयारी गर्नु भएको छ ।
यो कार्यलाई कांग्रेसका शुभेच्छुकहरुले भने त्यति राम्रो मानेका छैनन् । ‘विशेष महाधिवेशनको वैधता जति छ, त्यो भन्दा कांग्रेसलाई एकढिक्का राख्नुपर्ने कुरा महत्वपूर्ण छ’, राजनीतिक विश्लेषक रामेश्वर ढकाल भन्नु हुन्छ, ‘यो बेला नियमित महाधिवेशनलाई पर्खिएर त्यो भन्दा अघि हुने राष्ट्रियसभा र प्रतिनिधिसभाका निर्वाचनहरुलाई एक ढिक्का भएर जित्ने गरी जानु कांग्रेसका लागि आवश्यक कुरा हो ।’
यसैबीच कांग्रेसका महामन्त्रीद्वय थापा र शर्माले भने विशेष महाधिवेशन कांग्रेसलाई विभाजन गर्ने पक्षमा नजाने जिकिर गर्दै आउनु भएको छ । उहाँहरुले जस्तोसुकै अवस्थामा पनि विभाजनको पक्षमा आफूहरु नजाने बताउने गर्नु भएको छ । यस्तो अवस्थामा विशेष महाधिवेशन भै नै हालेमा पनि त्यसले कुनै पनि किसिमको नेतृृत्व परिवर्तनको निर्णय नलिई बस्न भने सक्ने पनि बताइएको छ ।
उता, नयाँ भनिएका दलहरु एकतावद्ध भै पुराना भनिएका दलहरुलाई धक्का दिने तयारी थालेको अवस्था छ । आफूलाई परिवर्तन पक्षधर भन्दै आएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को छातामा बालेनदेखि कुलमान घिसिङसम्मका नेताहरु नवपुस्ताको माग भन्दै एकतावद्ध हुन थालेका छन् । यस्तो अवस्थामा पुराना भनिएका नेपाली कांग्रेस, नेकपा (एमाले) लगायतका दलहरु पनि दबाबमा परेका छन् ।
नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) लगायतका करिब डेढ दर्जन कम्युनिष्ट घटकहरु मिलेर नेपाली कम्युनिष्ट पार्टी बनाइएको छ । यसरी सबैतिरबाट चेपुमा परेका कांग्रेस र एमालेले पनि आफूहरुलाई आवश्यकता अनुसार एक ठाउँमा उभ्याउने प्रयास गरिरहेका छन् । कांग्रेस र एमालेका निवर्तमान सांसदहरु प्रतिनिधिसभाको पुनस्र्थापनको पक्षमा लागेका छन् । यसैगरी यही माघमा हुने भनिएको राष्ट्रियसभाको निर्वाचनमा पनि कांग्रेस र एमालेले गठबन्धन गरी उम्मेदवारी दर्ता गराएका छन् ।
कांग्रेस र एमालेले पनि नेकपालाई पनि आफ्नो साथमा लिन चाहेका थिए । नेकपाका संयोजक पुष्पकमल दाहालले भने ठूलो भाउ खोजेका कारण नेकपालाई एक ठाउँमा राख्न नसकिएको अवस्था छ । यो अवस्था बाहिरी रुपमा देखिए पनि वास्तविकता भने नेकपाले कांग्रेस र एमालेसँग सहकार्य नगरी रास्वपा लगायतका नयाँ दलहरुसँग सहकार्य गर्न चाहेको बताइएको छ ।
अहिलेको गठबन्धनमा जाँदा आफ्नो भागमा ३ सदस्य पाउने अवस्था भन्दा भोलिका दिनमा हुने निर्वाचनमा रास्वपा लगायतको साथ पाउँदा ठूलो भाग पाइने आशासहित नेकपाले उतापट्टि झुकाव देखाएको बताइएको छ ।

 

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *