भक्तपुर/ आगामी फागुन २१ गते हुने भनी तोकिएको प्रतिनिधिसभाको निर्वाचन हुने अवस्था सिर्जना भएको छ । मुख्य राजनीतिक दलहरुदेखि स्वतन्त्र उम्मेदवारहरुले समेत उम्मेदवारी दिएका कारण निर्वाचन हुने अवस्थामा पुगेको हो । यही माघ ६ गतेका लागि तोकिएको उम्मेदवारी दर्ताका दिन विभिन्न उम्मेदवारहरुले उत्साहपूर्वक रुपमा उम्मेदवारी दर्ता गरेको अवस्था छ । अटेरी गरी बसेको भनिने नेपाल कम्युनिष्ट पार्टी (एमाले) पनि निर्वाचनमा होमिएको छ । यसैगरी सबैभन्दा ठूलो दल नेपाली कांग्रेस आफ्नो झण्डैको फुटको अवस्थालाई जोगाउँदै निर्वाचनमा उभिएको छ । यसैगरी अन्य राजनीतिक दलदेखि विभिन्न उम्मेदवारहरुले उक्त निर्वाचनलाई आफ्नो प्रतिष्ठाको विषय बनाउँदै उम्मेदवारी दिएको निर्वाचन आयोगले जनाएको छ । यस पटक उम्मेदवारी दर्ताका क्रममा खासै अप्रीय घटना नभएकाले आगामी फागुन २१ गते निर्वाचन शान्तिपूर्ण रुपमा हुने अपेक्षा पनि गरिएको छ ।
आगामी निर्वाचन गराउनका लागि हाल सुशीला कार्कीको नेतृत्वमा सरकार बनेको छ । कार्कीको नेतृत्वमा बनेको यो सरकार निर्दलीय रहेको भनिएको थियो । यसैगरी कार्कीले सरकारमा रहेका मन्त्रीहरुले आगामी निर्वाचनमा भाग नलिने अपेक्षा गर्नु भएको थियो । त्यस विपरित चारजना मन्त्रीहरुले भने राजीनामा गरी निर्वाचनमा भाग लिन गएको अवस्था छ ।
त्यसो त दलीय गतिविधिमा लाग्न थाल्नु भएका कुलमान घिसिङले केही हप्ताअघि राजीनामा गरी आफ्नै अध्यक्षतामा दल नै चलाउन थाल्नु भएको छ । यसैगरी मन्त्रीहरु जगदीश खरेल र बब्लु गुप्ताले राजीनामा गरी राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवारी दर्ता गर्नु भएको छ । यस्तै, उम्मेदवारी दर्ता गर्ने अघिल्लो दिन अर्थात माघ ५ गते राजीनामा थमाएर मन्त्री महावीर पुन पनि उम्मेदवार बन्न गुल्मी पुग्नु भएको छ ।
खरेल र गुप्ताको राजीनामासँगै वर्तमान सरकारलाई पनि अप्ठेरो अवस्थामा पु¥याउने कार्य भएको बताइन्छ । खरेल र गुप्ताले राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार बनेका कारण वर्तमान सरकारमा उक्त दलले पर्दा पछाडिबाट खेल खेलिरहेको भनी टिप्पणी हुन थालेको छ । निर्दलीय सरकार रहेको तथा निर्वाचनसम्म कुनै मन्त्री उम्मेदवार नबन्ने अपेक्षा गरिएको विपरित उहाँहरुले उम्मेदवारी दिएको अवस्था छ ।
यता, यही निर्वाचनका कारण नेपाली कांग्रेस फुटको मुखमा पुगेर जोगिएको छ । गत भदौ २३ र २४ गते भएको नवपुस्ता (जेन–जी) को आन्दोलनका कारण सबैजसो दलहरुले आफ्नो परम्परागत संचालन विधिमा परिमार्जन गर्नुपर्ने अवस्था आएको थियो । नवपुस्ताको चाहनालाई पूरा गर्नका लागि पनि दलहरुलाई नवीन ढंगबाट लगिनुपर्ने अवस्था आएको थियो । यस्तो अवस्थामा कांग्रेसमा पनि दबाब परेको थियो ।
कांग्रेसका तात्कालिन सभापति शेरबहादुर देउवामाथि नै २४ गते सांघातिक हमला भएको थियो । उहाँले पछि अशोज २८ गते कार्यवाहक सभापति तोकेर आफू उपचारका लागि भनी सिंगापुर जानु भएको थियो । त्यसपछि फर्किँदा देशको अवस्था अलि सहज अवस्थामा पुगेको कारण उहाँले राजनीतिमा फेरि सक्रियता देखाउन थाल्नु भएको थियो । नवपुस्ताको माग विपरित उहाँका गतिविधि देखिन थालेपछि कांग्रेस भित्र नियमित महाधिवेशन तथा विशेष महाधिवेशनको कुरा उठेको थियो ।
देउवा तथा देउवा पक्षधरहरु नियमित महाधिवेशन आगामी बैशाखमा गर्ने भनी टार्दै जाने पक्षमा हुनु हुन्थ्यो । यसो गरिनुमा आगामी फागुन २१ गतेको निर्वाचनका लागि उम्मेदवारको टिकट बाँड्ने कार्य आपंैmले गर्न पाए हुने भन्ने मनस्थितिमा देउवा रहनु भएको थियो । उता, देउवा तथा देउवा निकटका नेताहरुको मनसाय बुझेर कांग्रेसका विशेष महाधिवेशन पक्षधरहरु क्रियाशील बन्न पुगे ।
गत पुस २७ देखि ३० गतेसम्म भएको विशेष महाधिवेशनले नीतिमात्र नभई नेतृत्व नै परिवर्नतन गर्न पुग्यो । विशेष महाधिवेशनबाट सभापतिमा गगन कुमार थापालगायतको नेतृत्व चुनिन पुगेको थियो । उक्त नेतृत्वलाई निर्वाचन आयोगले समेत मान्यता दिएपछि कांग्रेस झण्डै फुटको अवस्थामा पुगेको थियो । माघ २ गते आयोगले वैधता दिएको अवस्थामा देउवा तथा तात्कालिन कार्यवाहक सभापति पूर्ण बहादुर खड्का त्यसको विरुद्धमा कानूनी उपचार खोज्ने भन्दै सर्वोच्च अदालतमा रिट दायर गर्न पुग्नु भएको छ ।
निर्वाचनको मनोनयकपत्र दाखिला गर्ने दिन अर्थात माघ ६ गतेका लागि पेशी तोकिएको अवस्थामा अदालतले अन्तरिम आदेश दिएन । त्यसो हुँदा सभापति थापाले हस्ताक्षर गरेको पत्र (टिकट) लिई कांग्रेसका दुवै पक्षधरहरु उम्मेदवारी दिन पुग्नु भयो ।
यसरी विभाजनको डिलमा पुगेर पनि जोगिएको कांग्रेसको नयाँ नेतृत्वलाई कांग्रेसको केन्द्रीय कार्यालयमा प्रवेश गर्न नदिने भनी केही व्यक्तिहरु बसेका थिए । त्यस्तो अवस्थामा त्यहाँ प्रवेश गर्दा मुठभेडको अवस्था आउन सक्ने तथा आगलागीका कारण पुनर्निर्माणको अवस्थामा रहेको कार्यालयमा प्रवेश गर्ने समय कुर्नुपर्ने अवस्था थियो । नव निर्वाचित कार्यसमितिका पदाधिकारीहरु आज शुक्रबार पार्टी कार्यालय सानेपामा विधिवत रुपमा प्रवेश गरी त्यहीँबाट कांग्रेसलाई संचालन गर्ने बताइएको छ ।
सभापति थापा लगायत काठमाडौं उपत्यकामा रहेका केन्द्रीय पदाधिकारीहरु आज शुक्रबार दिउँसो १ बजे पद बहालीका लागि जाने कार्यक्रम रहेको बताइएको छ । विशेष महाधिवेशनबाट थापा सभापति, विश्वप्रकाश शर्मा र पुष्पा भुसाल उपसभापति, गुरुराज घिमिरे र प्रदीप पौडेल महामन्त्रीमा निर्विरोध निर्वाचित हुनु भएको थियो । यसैगरी डा. डिला सङ्ग्रौला पन्त, फरमुल्लाह मन्सुर, योगेन्द्र चौधरी, उदय शमशेर राणा, कर्णबहादुर बुढा, बहादुर सिंह लामा र मुक्ता यादव सहमहामन्त्रीमा चुनिनु भएको थियो । विशेष महाधिवेशनले १३५ सदस्यीय केन्द्रीय कार्यसमिति सर्वसम्मत रुपमा चुनेको थियो ।
यसैबीच केन्द्रीय कार्यालयमा हुने बैठकले सभापति थापालाई कांग्रेसको तर्पmबाट प्रधानमन्त्रीको उम्मेदवारको रुपमा घोषणा गरेर जाने निर्णय गर्ने पनि समाचार स्रोतले बताएको छ । सभापति थापाले आफू जित्दै आएको निर्वाचन क्षेत्र अर्थात काठमाडौं क्षेत्र नं.४ मा ३१ वर्षे सचिन तिमल्सिनालाई उम्मेदवार बनाउनु भएको छ । थापा आफू भने तराईको सर्लाही क्षेत्र नं.४ बाट उम्मेदवार बन्नु भएको छ । उक्त क्षेत्रमा रहेका ५१ वटा वडा समितिहरुले थापाको नाम पहिलो नं.मा सिफारिस गरी पठाएका बताइएको छ ।
कांग्रेसमा थापाको नेतृत्वमा नयाँ कार्यसमिति आएको अवस्थामा त्यसले आगामी निर्वाचनलाई नै गठबन्धन नगरिने अवस्थामा पु¥याउन सफल भएको बताइएको छ । आगामी निर्वाचनमा कांग्रेससँग गठबन्धन गर्ने तयारी नेकपा (एमाले) रहेको भनी विश्लेषण भैरहेको अवस्थामा विशेष महाधिवेशनले निर्वाचनअघि कसैसँग गठबन्धन नगर्ने निर्णय गरेको थियो । कांग्रेसको आन्तरिक समस्याको अवस्थामा गठबन्धनको कुरा ओझेलमा पर्दा त्यसको असर अन्य दलहरुमा पनि पर्न गएको बताइएको छ ।
उम्मेदवारी दर्ताअघि नै विभिन्न दलहरुले एकता, एकीकरण, चुनावी मोर्चा बनाउने निर्णय गरे पनि अघिल्ला निर्वाचनमा जस्तो तालमेल तथा गठबन्धन गर्ने कार्यलाई कांग्रेसको उक्त निर्णयले रोक्ने कार्य गरेको भनी त्यसको सकारात्मक टिप्पणी भैरहेको छ । सोही कारण सबैजसो दलले आ–आफ्नै उम्मेदवार बनाएको अवस्था छ ।
यस पटक गठबन्धनवाला कर्म रोकिएको अवस्थामा आगामी निर्वाचनबाट कुन दल के कति पानीमा रहेका छन् भन्ने बुझ्न सहज हुने बताइएको छ ।
दलहरु निर्वाचनमा होमिए : गगन सानेपा पस्ने, गठबन्धन हट्दै
Facebook Comments Box
