छ पूर्वअर्थमन्त्री चुनावी दौडमा

Nayabimarsha (Weekly Newspaper from Nepal)

काठमाडौं / आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि छजना पूर्व अर्थमन्त्रीहरुले उम्मेदवारी दिनु भएको छ ।
पूर्वप्रधानमन्त्री समेत रहनु भएका डा. बाबुराम भट्टराई गोरखा–१ र जनार्दन शर्मा रुकुम पश्चिमबाट हुनुहुन्छ । उहाँहरु दुवैजना प्रगतीशील लोकतान्त्रिक पार्टी (प्रलोपा) बाट उम्मेदवार बन्नु भएको हो । यसैगरी नेपाली काँग्रेसका डा. प्रकाशरण महत नुवाकोट–१ र ज्ञानेन्द्रबहादुर कार्की सुनसरी–४ बाट उम्मेदवार बन्नु भएको छ । उहाँहरु विगतमा कांग्रेसबाट अर्थमन्त्री बन्नु भएको थियो । यसैगरी नेकपा (एमाले) का विष्णुप्रसाद पौडेल रुपन्देही–२ र नेपाली कम्युनिष्ट पार्टी (नेकपा) बाट वर्षमान पुन रोल्पाबाट चुनाव लड्ने हुनु भएको छ ।
यसरी उम्मेदवारी दिनु भएका छजना अर्थमन्त्रीको पालामा अर्थतन्त्रले खासै गति लिन नसकेको जानकारहरुले बताएका छन् । यी पूर्व अर्थमन्त्रीहरुको कार्यकालमा दलीय नेता तथा कार्यकर्ताहरु बाहेक जनताले कुनै राहत पाउन नसकेको चर्चा निर्वाचन नजिकिँदै जाँदा शुरु भएको छ । पूर्व अर्थमन्त्रीहरुको चुनावी दौडमा पूर्वअर्थराज्यमन्त्री उदयशमशेर जबरा पनि मिसिनु भएको छ । जबराले ललितपुर १ बाट कांग्रेसबाट चुनावमा उम्मेदवारी दिनु भएको छ ।
चुनावी दौडमा होमिएका पूर्वअर्थमन्त्रीहरु कसैले पनि आफैंले ल्याएको बजेट आफैंले कार्यान्वयन गर्न नसकी जनतालाई भ्रमको खेती र सपना देखाएर बाहिरिएको तथा कसैले पनि कार्यकाल पूरा नगरेको अर्थमन्त्रालय श्रोतले जानकारी दिएको छ । उपरोक्त अर्थमन्त्रीहरुले अर्थसचिव र डिजी फेर्ने एवं कर भन्सारका भष्मासुर कर्मचारीहरुको सरुवा गर्नुबाहेक सिन्को नभाँचेको श्रोतको कथन छ ।
हालको जेन–जीको सरकार आउनुपूर्वको ओली नेतृत्वको सरकारमा पौडेल अर्थमन्त्रीको रुपमा रहनु भएको थियो । आर्थिक मामिलामा खासै जानकार नमानिने पौडेल मन्त्री भएकै बेलामा भागेर ज्यान बचाउने मन्त्रीमा पनि चिनिने गर्नु भएको छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *