सर्लाही/ नेपाली कांग्रेसका सभापति गगनकुमार थापा उम्मेदवार बनेको सर्लाही क्षेत्र नं ४ मा कांग्रेस प्रवेश गर्ने लहर चलेको छ । प्रतिनिधि सभाको सदस्यका लागि आगामी फागुन २१ गते हुने निर्वाचनका लागि सभापति थापा सो क्षेत्रमा उम्मेदवार बन्नु भएको छ । सोही कारण त्यहाँका जनप्रतिनिधिहरु समेत कांग्रेसमा प्रवेश गर्न उत्साहित भएको बताइएको छ ।
थापालाई सघाउनका लागि सर्लाही क्षेत्र नं ४ का प्रदेश सांंसद उम्मेवारदेखि गोडैता नगरपालिकाका चार वडाका वडाध्यक्ष बुधबार कांग्रेसमा प्रवेश गर्नु भएको सर्लाही कांग्रेसले जनाएको छ । बहुजन पार्टीबाट सर्लाही क्षेत्र नं ४ (ख) प्रदेशका उम्मेदवार कृष्ण कुमार कुशवाह विनासर्त कांग्रेसमा प्रवेश गर्नु भएको हो । उहाँसहित चारजना वडाध्यक्षलाई कांग्रेस सभापति थापाले एक कार्यक्रममा कांग्रेसमा प्रवेश गराउनु भएको हो ।
गोडैता नगरपालिका वडा नं १का वडाध्यक्ष सुजित महतो, वडा नं २का वडाध्यक्ष अजय प्रसाद साह, वडा नं ५का वडाध्यक्ष प्रकाश गुप्ता, वडा नं ११का वडाध्यक्ष विश्वनाथ पण्डित कांग्रेसमा प्रवेश गर्नु भएको जनाइएको छ । वडा नं १का वडाध्यक्ष महतो र वडा नं २का वडाध्यक्ष साह नेपाल कम्युनिस्ट पार्टीमा आवद्ध रहनु भएको थियो । यसैगरी वडा नं ५का वडाध्यक्ष गुप्ता जसपा नेपाल र वडा नं. ११ का वडाध्यक्ष पण्डित नेकपा (एमाले) बाट वडाध्यक्ष विजयी हुनु भएको बताइएको छ ।
त्यसैगरी बसबरियाका जसपा नेपालका नेता मुकेश यादव, वडासदस्य लालु मन्सुर पनि कांग्रेसमा प्रवेश गर्नु भएको छ । मुलुकको विकास गर्न सक्ने सोच र योजना भएका कांग्रेस सभापति थापा आफ्नो क्षेत्रमा आएकाले चुनावमा जिताउनका लागि कांग्रेसमा प्रवेश गरेको उहाँहरुले बताउनु भएको छ ।
यसअघि सर्लाही क्षेत्र नं ४ का स्वतन्त्र उम्मेदवार महेन्द्र यादव पनि कांग्रेसमा प्रवेश गर्नु भएको थियो ।
गगनको समर्थनमा सर्लाहीमा प्रवेश
Facebook Comments Box
