भक्तपुर/ राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को तर्फबाट आगामी फागुन २१ गते हुने निर्वाचनका लागि भक्तपुर क्षेत्र नं.२ का उम्मेदवारले आफ्नो चुनावी कार्यको थालनी गर्नु भएको छ । सो क्षेत्रमा अधिवक्ता विक्रम थापा राप्रपाबाट उम्मेदवार बन्नु भएको छ ।
उहाँले गत शनिबार कौशलटारस्थित कुशल भैरव मन्दिर परिसरबाट वृहत् चुनावी ¥याली तथा प्रेस मिट कार्यक्रम गरी आफ्नो चुनावी अभियानको थालनी गर्नु भएको हो । मन्दिरमा विधिपूर्वक पूजा–अर्चना गरी पार्टीको चुनाव प्रचार–प्रसार समन्वय कार्यालय, गठाघरसम्म ¥याली निकालिएको थियो ।
राप्रपाले राजसंस्थासहितको हिन्दू राष्ट्र, संघीयता खारेज र बलियो स्थानीय सरकारको अवधारणालाई आफ्नो मुख्य राजनीतिक दर्शनका रूपमा अघि सारेको छ । पार्टीको भनाइ अनुसार यी अजेण्डाहरू राष्ट्रिय एकता, सांस्कृतिक पहिचान, धर्म, परम्परा र सुशासनलाई संरक्षण गर्दै देशलाई स्थायित्वतर्फ लैजान अपरिहार्य रहेका छन् । कार्यक्रममा सहभागीहरूलाई सम्बोधन गर्दै अधिवक्ता विक्रम थापाले वर्तमान राजनीतिक अवस्थाप्रति पार्टीको धारणा, संविधान सुधारको आवश्यकता, भ्रष्टाचार नियन्त्रण, राष्ट्रिय स्वाधीनता, आर्थिक आत्मनिर्भरता, रोजगारी सिर्जना तथा स्थानीय तहलाई अधिकार सम्पन्न बनाउने विषयमा आफ्नो स्पष्ट दृष्टिकोण राख्नु भएको थियो ।
कार्यक्रमका आयोजक राष्ट्रिय प्रजातन्त्र पार्टी, वडा नं. ३ का समर्थकहरू रहेका थिए । आयोजक पक्षका अनुसार यो कार्यक्रमले स्थानीय स्तरमा पार्टीको जनाधार बलियो बनाउँदै जनतासँग प्रत्यक्ष सम्बन्ध विस्तार गर्ने लक्ष्य राखिएको थियो ।
राप्रपाका थापा भक्तपुरमा सक्रिय
Facebook Comments Box
