कृष्ण लम्साल
काठमाडौं/ असाधारण र असामान्य तरिकाले हुन लागेको चुनाव आउन अब मात्र २५ दिन बाँकी छ । आगामी फागुन २१ ग्ते प्रतिनिधिसभाको निर्वाचन हुँदैछ । यतिबेला मुलुक निर्वाचनमय बनिसकेको अवस्था छ । राजनीतिक दलका नेता, चुनावमा टिकट पाएका उम्मेदवार र कार्यकर्ताहरुलाई चुनावी रापतापले छोपिसकेको छ । उम्मेदवारहरु चुनावी प्रचार प्रसारका लागि गाउँ, शहर र जनताको घरदैलोमा भोट माग्न थालिसकेका छन् ।
यसैक्रममा काँग्रेसका पूर्वसंस्थापन पक्षका केही नेताहरु संसद पुनस्र्थापनाको झर्ला र खाउँला भन्ने लक्षण नदेखेपछि बाध्य भएर चुनावी कार्यक्रममा निस्कने तयारीमा जुटेको काँग्रेस श्रोतले जानकारी दिएको छ । काँग्रेसका निवर्तमान पदाधिकारीहरुमध्ये पूर्वसभापति शेरबहादुर देउवा, उपसभापतिद्वय पूर्णबहादुर खड्का र धनराज गुरुङ तथा नेताहरु प्रकाशमान सिंह, डा. शशांक कोइराला, कृष्णप्रसाद सिटौलालगायतका नेताहरुलाई विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगन कुमार थापा र उपसभापति विश्वप्रकाश शर्माको टिमले टिकट दिएन ।
पूर्वपदाधिकारीहरुमध्ये डा. प्रकाशशरण महत, विमलेन्द्र निधि, महेन्द्र यादव, डा. शेखर कोइराला, विजय कुमार गच्छदार, ज्ञानेन्द्र बहादुर कार्की लगायतका नेता बाहेक १०६ जना नयाँ व्यक्तिले टिकट पाएर चुनावमा लागेका छन् । विना पैसा गुटको अन्त्य गरेको अवस्थामा काँग्रेस नयाँ जोश र कार्यक्रम लिएर चुनावमा जुटेको छ । यही क्रममा पूर्वसभापति देउवाको जिल्ला डडेलधुराबाट काँग्रेसको टिकट पाएका नैनसिंह महरलाई चुनावमा विजयी बनाउन फागुनको पहिलो हप्ता चुनावी प्रचारमा निस्कने तयारीमा लागेको श्रोतले बताएको छ । आगामी फागुन ४ गतेबाट औपचारिक रुपमा भेला तथा आमसभा गर्न पाइने भएकाले सुदरपश्चिममा देउवाको खोजी भैरहेको बताइएको छ ।
त्यसैगरी सुर्खेत १ मा पूर्व उपसभपाति पूर्णबहादुर खड्काको सहोदर भाइ विष्णुबहादुर खड्काले टिकट पाएपछि नगै नहुने अवस्था भएकाले खड्का पनि चुनाव प्रचारमा जाने भएका छन् । यसैगरी नवलपुर १ बाट डा. शशांक कोइराला निर्वाचित हुँदै आएको क्षेत्रमा यसपटक बालकृष्ण घिमिरेले टिकट पाएपछि फागुनको पहिलो साता डा. कोइराला पनि त्यस क्षेत्रका चुनावी प्रचारमा जाने तयारी गरी रहेको बताइन्छ ।
यसैगरी काठमाडौं १ मा नेता प्रकाशमान सिंहले टिकट नपाए पनि काँग्रेसका उम्मेदवार प्रबल थापालाई सहयोग गर्न बाध्य भएर चुनावी प्रचार प्रसारमा निस्कने भएका छन् । काँग्रेसबाट टिकट नपाएका अन्य नेताहरु पनि काँग्रेसको पक्षमा लाग्न थालेपछि चुनावी रौनक बढेको छ । निर्वाचित परिणाम जे भएपनि काँग्रेसमा जमेर बसेको गुटको ढिक्का भत्काएको जानकारहरुले बताएका छन् ।
काँग्रेसमा देउवासहित नेता चुनावी प्रचारमा जाने
Facebook Comments Box
