काठमाडौं/ नेकपा (एमाले) परित्याग गर्नुभएका पूर्वमन्त्री जितेन्द्रनारायण देव नेपाली कांग्रेसमा प्रवेश गर्नु भएको छ । केन्द्रीय राजनीतिमा क्रियाशील रहे पनि अहिले सप्तरीको राजविराजमा रहँदै आउनु भएका देव मंगलबार कांग्रेसमा प्रवेश गर्नु भएको हो ।
उहाँ विभिन्न राजनीतिक दलमा रहँदै पछिल्लो समय एमालेमा पुग्नु भएको थियो । उहाँले कांग्रेस नयाँ नेतृत्वसहित बदलिएर आएकाले आफू पुनः कांग्रेसमा पुगेको बताउनु भएको छ । उहाँलाई पार्टी कार्यालयमा मंगलबार कांग्रेसका जिल्ला सभापति रामदेव साह, उपसभापति रामकुमार यादव, सचिव सन्तकुमार मण्डल र राष्ट्रियसभा सदस्य रञ्जित कर्णले फूलमाला तथा अवीर लगाएर पार्टीमा स्वागत गर्नु भएको थियो ।
सो अवसरमा नेता देवले गगन थापा नेतृत्वको केन्द्रीय कार्यसमितिप्रति पूर्ण प्रतिबद्धता व्यक्त गर्दै विशेष महाधिवेशनले नवीन नीति आत्मसात् गरेको बताउनु भयो । विद्यार्थीकालदेखि राजनीतिमा सक्रिय देवले एमाले र मधेशी जनअधिकार फोरम लोकतान्त्रिक हुँदै कांग्रेसको राजनीतिमा सक्रियता देखाउनु भएको थियो ।
संविधान सभाका सदस्य एवम् पूर्वमन्त्री देवले गत माघ १९ मा एमाले परित्याग गर्नु भएको थियो । देव कांग्रेसबाट राष्ट्रियसभा सदस्य पनि बन्नु भएको थियो । फोरम लोकतान्त्रिक कांग्रेसमा विलय भएपछि नेता देव कांग्रेसको राजनीतिमा सक्रिय बनेको पनि बताइएको छ ।
सप्तरी जिल्लामा राम्रै प्रभाव राख्ने देवको कांग्रेस प्रवेशले निर्वाचनमा कांग्रेसलाई झनै सहज हुने विश्लेषण गरिएको छ ।
देवको कांग्रेस प्रवेशले सप्तरीमा उत्साह
Facebook Comments Box
