वीरगञ्ज/ नेकपा (एमाले) पर्साका नेता बसरुद्धिन अन्सारी नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । उनी वीरगञ्ज महानगरपालिकामा एमालेका तर्फबाट प्रमुखका उम्मेदवार रहेका थिए । गगनकुमार थापा कांग्रेसको नेतृत्वमा आएपछि आफू पुरानै घर फर्किएको बताएका छन् ।
उनले थापा नेतृत्वमा आएपछि कांग्रेस एकढिक्का भएको र त्यसपछि आफू आफ्नो पुरानो घर नेपाली कांग्रेस फर्किएको बताए । ‘म कांग्रेस प्रवेश गरेको होइन, पुरानो घर फर्किएको हुँ । अहिले गगन थापा नेतृत्वमा आएपछि कांग्रेस एकढिक्का भएको छ, कांग्रेस देशकै नयाँ र ऊर्जाशील दल बनेको छ । त्यस कारण म पुरानो घर फर्किएँ’ अन्सारीले भनेका छन् ।
उनले नवयुवा (जेन–जी) को गत भदौ २३ र २४ को आन्दोलनपछि सबैभन्दा ठूलो परिवर्तन कांग्रेसमा नै भएको पनि दाबी गरेका छन् । ‘योभन्दा ठूलो परिवर्तन अरू दलमा भएको छैन । मधेश प्रदेशमा कांग्रेसलाई अब कसैले हराउन सक्दैन, विगतमा कांग्रेसीकै कारण कांग्रेस उम्मेदवार हारेका थिए’ उनले थपे, ‘तर यस पटक गगन थापा सभापति भएपछि कांग्रेसको अन्तर्घात हटेको छ । कांग्रेसमा परिवर्तन आयो । अहिले सबै कांग्रेसी एकढिक्का भएका छन् । एकढिक्का भएको कांग्रेसलाई हराउन सक्ने क्षमता कसैको छैन ।’
उनले पर्सामा क्षेत्र नम्बर १ देखि ४ सम्म कांग्रेसको जित सुनिश्चित रहेको पनि दाबी गरेका छन् ।
यसैगरी बारा क्षेत्र नम्बर १ मा नेकपा (एमाले), नेपाली कम्युनिष्ट पार्टी, जसपा र रास्वपा पार्टी परित्याग गर्दै दुई दर्जनभन्दा बढी कांग्रेसमा प्रवेश गरेका छन् ।
बारा क्षेत्र नम्बर १ मा कांग्रेसका उम्मेदवार शम्भु बुढाथोकी र सिम्रौनगढ नगरपालिकाका पूर्वप्रमुख तथा बारा क्षेत्र नम्बर १ का क्षेत्रीय सभापति विजयशंकर यादवले गत शुक्रबार आदर्श कोतवाल गाउँपालिकामा आयोजित एक कार्यक्रममा उनीहरूलाई कांग्रेसमा स्वागत गरेका हुन् ।
कांग्रेस नवप्रवेशी सन्तोषकुमार गुप्ताले कांग्रेस जनताको सुख दुःखमा साथ दिने पार्टी भएकाले आफूले कांग्रेस रोजेको बताए । ‘कांग्रेसले मधेशका लागि दिएको योगदान हजुरबुबा र बाहरूले सुनाउनु भयो, अहिले गगन थापा सभापति भएपछि कांग्रेसमा थप ऊर्जा देखियो, जनताको सुख दुःखमा साथ दिने पार्टी भएकाले मेरो झुकाव कांग्रेसप्रति रह्यो र कांग्रेस रोजेँ’ जेन–जी युवा गुप्ताले भनेका छन् ।
नेपाली कम्युनिष्ट पार्टी परित्याग गरेका प्रेमलाल साहले पनि गरिब दुःखीहरुको सहारा कांग्रेस भएकाले आफू कांग्रेसमा आएको सुनाए । सन्तोष र प्रेमलालसँगै सो गाउँपालिकाका रमेश साह, महादेव साह, श्रीचन साह, सिकेन्द्र साह, धर्मेन्द्र साह, मोहित साह, उदय साह, जोकु ठाकुर, मेघनाथ साह, मोहन साह लगायत दुई दर्जन व्यक्ति कांग्रेस प्रवेश गरेका बताइएको छ ।
उता, दोलखाको विगु गाउँपालिकामा एमाले र नेपाली कम्युनिष्ट पार्टी परित्याग गरी कांग्रेसमा प्रवेश गर्नेहरूको ठूलो लहर चलेको छ । विगु गाउँपालिका–७, मायासिंहमा आयोजित एक विशेष कार्यक्रमका बीच एमाले नेता अक्कलबहादुर मगरको नेतृत्वमा उल्लेख्य संख्यामा नेता तथा कार्यकर्ताहरू कांग्रेसमा प्रवेश गरेका हुन् । उनीहरूलाई दोलखाका कांग्रेसका उम्मेदवार अजयबाबु शिवाकोटी र समानुपातिक उम्मेदवार छिरिङ डोल्मा शेर्पाले खादा र माला लगाएर पार्टीमा स्वागत गरे ।
यसरी कांग्रेस प्रवेश गर्नेहरूमा लम्छुती शेर्पा, राबहादुर थामी, विल माया थामी, उर्मिला थामी, हर्की थामी, धनमाया थामी, कविता थामी, शर्मिला थामी, सुखीमाया थामी, सर्कीनी थामी र प्रमिला थामी लगायत रहेका छन् ।
त्यसैगरी साङा शेर्पा, साङ्वो शेर्पा, प्रेमप्रसाद थामी, सुखजीत थामी, रविन थामी र आङकर्साङ शेर्पाले पनि एमाले परित्याग गरी कांग्रेसको सदस्यता लिए । यसअघि बुधबार मात्रै विगुका एमाले उपाध्यक्ष शेषनारायण श्रेष्ठसहितको ठूलो टोली कांग्रेसमा समाहित भएको थियो ।
पर्साका अन्सारी कांग्रेसमा
Facebook Comments Box
