रसुवा/ रसुवा जिल्लाबाट नेकपा (एमाले) का पूर्वअध्यक्ष तथा संविधानसभा सदस्य जनार्दन ढकालसहित झण्डै सय नेता–कार्यकर्ता नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । कांग्रेसका सभापति गगनकुमार थापाले उनीहरूलाई पार्टी सदस्यता प्रदान गर्दै औपचारिक रूपमा स्वागत गरेपछि अहिले उनीहरु कांग्रेसलाई जिताउन खटिन थालेका छन् ।
यसरी प्रवेश गर्ने नेता–कार्यकर्ता जिल्ला, पालिका र वडा तहका पदाधिकारी, सचिवालय सदस्य, भ्रातृ संगठनका युवा प्रतिनिधि तथा खेलकुद र सामाजिक संस्थाका पूर्व सदस्यहरूबाट बनेको समूह रहेको बताइएको छ ।
एमालेका स्थानीय तहका अध्यक्ष, उपाध्यक्ष, सचिव र कमिटी सदस्यहरू, युवा संघ र अनेरास्ववियुका जिल्ला तथा पालिकास्तरीय पदाधिकारीहरू साथै खेलकुद महासंघका जिल्ला र केन्द्रीय पूर्व सदस्यहरू पनि रहेका छन् । उनीहरूमध्ये धेरै लामो समय एमालेमा सक्रिय भएर नेतृत्व र प्रशासनको अनुभव हासिल गरेका हुन् ।
रसुवामा भएको यो सामूहिक प्रवेशसँगै कांग्रेसले अन्य जिल्लामा पनि संगठन सुदृढीकरण अभियान तीव्र पार्ने संकेत दिएको छ ।
एमालेका पूर्वमन्त्री र रास्वपाका राणा कांग्रेसमा
काठमाडौं÷ पूर्वमन्त्री रामवीर मानन्धर नेकपा (एमाले) छाडेर कांग्रेसमा प्रवेश गरेका छन् । उनी २०७४ सालमा निर्वाचित सांसदको रूपमा राजनीतिक अनुभव हासिल गरेका थिए । उनी पूर्वमन्त्री समेत हुन् । काठमाडौं क्षेत्र नं.७ का नेता मानन्धरको उक्त क्षेत्रमा राम्रो प्रभाव रहेको बताइएको छ । मानन्धरको प्रवेशसँगै उक्त क्षेत्रमा कांग्रेसमा उत्साह थपिएको बताइएको छ ।
काठमाडौँ क्षेत्र नम्बर ५ मा रास्वपाका प्रतिनिधि सभा सदस्य टिकट आकांक्षी एवं केन्द्रीय गुनासो विभाग प्रमुख प्रणयशमशेर राणा र नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय समिति सदस्य दीपक के.सी. पनि कांग्रेसमा प्रवेश गरेका छन् ।
द्वन्द्व व्यवस्थापनमा विद्यावारिधि गरेका राणा यसअघिको प्रतिनिधि सभा निर्वाचनमा सोही क्षेत्रबाट रास्वपाका उम्मेदवार थिए । २०७९ सालको प्रतिनिधि सभा सदस्य निर्वाचनमा राणाले ५,४७७ मत प्राप्त गरेका थिए । रास्वपामा टिकट वितरणको पद्धतिमा प्रश्न उठाउँदै आएका राणाले केही दिनअघि पार्टीमा विधि र पद्धति मिचिएको भन्दै रास्वपा छाडेका थिए ।
रास्वपाको स्थानीय संगठनमा बलियो पकड बनाएका राणाको रास्वपा परित्याग र कांग्रेस प्रवेशले काठमाडौँ ५ को निर्वाचनमा कांग्रेसलाई लाभ हुने विश्वास गरिएको छ ।
यसैगरी कामनपा ३ मा बलियो प्रभाव रहेका भनिने समाजवादी पार्टीका केन्द्रीय सदस्य के.सी. विगतमा वडाध्यक्ष रहिसकेका छन् । वडामा प्रभावशाली के.सी.को कांग्रेस प्रवेशले संगठनात्मक रुपमा कांग्रेसलाई लाभ हुने ठानिएको छ ।
यसैगरी पूर्वमन्त्री रामवीर मानन्धर कांग्रेसमा प्रवेश गरेसँगै काठमाडौं क्षेत्र नं.७ मा कांग्रेसको राम्रो अवस्था आएको बताइएको छ । पूर्वमन्त्री एवं पूर्वकेन्द्रीय सदस्यसमेत रहेका मानन्धर २०७४ सालमा निर्वाचित सांसद हुन् । यसअघि २०४९ सालमा उनले वडा नम्बर १६ का वडाअध्यक्षको जिम्मेवारी सम्हालेका थिए ।
