अनुसा थापा
भक्तपुर/ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाहले निर्वाचन जितेमा देशमा कायापलट हुन्छ भन्नेहरु ग्यास र पेट्रोल नपाएको गुनासो पोख्न थालेका छन् । ‘चुपचाप घण्टीमा छाप’ भन्दै रास्वपालाई मतदान गर्नेहरुले सरकार गठन नहुँदै रोइलो शुरु गरेका छन् ।
ग्यास र पेट्रोल नपाएको, सामानमा चर्को मूल्यवृद्धि भएको उनीहरुको गुनासो छ । ग्यास र पेट्रोलको लागि लाम बस्न परेपछि उनीहरुले रास्वपाको विरोध थालिसकेका छन् । मध्यपूर्वमा तनाव जारी रह्यो भने बालेनको सरकार लामो समय टिक्दैन । फेरि मध्यावलीमा जानुपर्ने हुनसक्छ ।
पुराना दलले काम गर्न नसकेको आरोप लगाएर रास्वपा राजनीतिमा उदायो । काम गर्ने अब हामी नै हौं भन्दै जनतामा भ्रम छरियो । जनताले पनि रास्वपाको सरकार आएमा के–के न हुन्छ भनेर आँखा चिम्लेर मतदान गरे । अब तिनै जनता ग्यास र पेट्रोल माग्दै सडकमा आउने छन् ।
बालेन र रवि सरकारको दिनगन्ती शुरु भयो । कहाँबाट पेट्रोल र ग्यास ल्याउँदा रहेछन् ? जनताको पेट पाल्दा रहेछन् ? हेरौं न । फागुन १६ गते अमेरिकाले इरानमा आक्रमण ग¥यो । त्यहाँको सर्वोच्च नेताको मृत्यु भएपछि मध्यपूर्वमा तनाव बढेको छ । जसका कारण इन्धन र ग्यास आउन सकेको छैन ।
नेपालमा इन्धन र ग्यासको उत्पादन हुँदैन । अब बन्ने सरकारले कसरी यो समस्याको समाधान गर्छ ? लाइन बस्न पर्नेबित्तिकै घण्टीलाई मतदान गर्नेहरु आगो भएका छन् । घण्टी भन्दै परिवारको पूरै सदस्यलाई रास्वपामा मतदान गर्न लगाउनेहरु आफूलाई परेपछि विरोध गर्न थालेका छन् ।
जनताको आशा अपेक्षा धेरै छ । ‘पहिलो गाँसमा ढुंगा’ भनेझैं रास्वपालाई भएको छ । ग्यास र इन्धन नपाएपछि, महंगो मूल्य तिर्न परेपछि जनता सडकमा आइहाल्छन् । त्यतिबेला रास्वपाले के गर्छ ? बाहिरबाट इन्धन आएन भने कहाँबाट ल्याएर जनतालाई दिउन् ? ग्यास आएन भनेर जनतालाई भोकभोकै राख्न मिलेन ? विदेशमा भएकाहरुले पनि आफ्ना परिवारलाई रास्वपामा मत (भोट) हाल्न लगाए । अब उनीहरुलाई स्वदेश फर्किन समस्या छ । रास्वपाको सरकारले कसरी उनीहरुलाई स्वदेश फर्काउँदो रहेछ ? हेर्न बाँकी छ । उता, एकदमै समस्या भयो र नेपाल फर्किन पाइएन भने तिनले पनि गाली गर्न थालिहाल्छन् ।
जनतालाई रास्वपाको सरकार बन्यो भने चामत्कारिक विकास हुन्छ भन्ने भ्रम छ । त्यो सम्भव छैन । रवि स्वयम्ले पनि चुनाव जितेपछि बत्तीको स्विच थिचेजस्तो परिवर्तन नहुने घोषणा गरिसकेका छन् । यसले नै रास्वपाले जनतालाई झुक्यायो भन्ने प्रष्ट हुन्छ । यही देशमा रहेको स्रोतसाधनको सदुपयोग गरेर काम गर्नुपर्छ ।
मुखले भट्याएजस्तो काम गर्न सहज छैन । तात्कालीन प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओलीको सरकारले २६ वटा सामाजिक सञ्जालमा प्रतिबन्ध लगाएको फाइदा रास्वपाले लिएको हो । रवि र बालेनले लिएका हुन् । उनीहरुको योजनामा देशमा यत्रो आतंक मच्चियो । तात्कालीन प्रधानमन्त्री ओलीसहित अन्य नेतालाई लखेटियो, कुटियो ।
अब तिनले कुटाइ खाँदैनन्, लखेटिनन् ? काम गर्न सकेन भने त्यस्तै हालत रवि र बालेनको हुन्छ । नेपालमा पेट्रोल र डिजेलबाट चल्ने सवारी साधन करोडको संख्यामा दर्ता भइसकेको छ । एउटा सवारी साधनमा पाँच लाखदेखि २४ करोडसम्म लगानी गरिएको छ । पेट्रोल र डिजेल नपाउने बित्तिकै सबै गाडी थन्किन्छ ।
तिनमा गरिएको लगानी बालुवामा पानी हुन्छ । अनि तिनले विरोध गर्छन् कि गर्दैनन् ? मुलुकमा १९ तलासम्मको घर छ । ती घर पूरै भाडामा लगाइएको छ । भाडामा बस्ने हरेकले ग्यासको प्रयोग गर्छन् । श्रीलंकामा ग्यास र इन्धन नपाएपछि, महंगी बढेपछि त्यहाँका जनताको आक्रोश सडकमा पोखियो ।
त्यो आक्रोशले सरकार उथलपुथल प¥यो । राष्ट्रपति देश छोडेर भाग्नुप¥यो । त्यहीँ स्थिति यहाँ नआउँला भन्न सकिन्न । जनताले सबै खेप्न सक्छन्, भोक खेप्न सक्दैनन् । विकास भन्ने चीज बिस्तारै गर्दै गए पनि हुन्छ तर खाना त चाहियो ? ग्यास नै नभएपछि खाना केमा पकाउने ?
काममा कसरी जाने ? नेपालमा उत्पादन शून्यबराबर छ । अहिले नै तेलको भाउ आकाशिसकेको छ । अन्य सामानको पनि मूल्यवृद्धि हुँदै जान्छ । जनतामा आक्रोश बढ्छ । त्यो आक्रोश सरकारले थेग्न सक्ला ? भनिन्छ नि, ‘मान्छेको सुःखसँगै दुःख पनि आउँछ ।’ बालेन र रविको हकमा त्यहीँ हुने देखिएको छ ।
काँग्रेसले २०१५ सालमा दुई तिहाई जितेको थियो । २०४८ र २०५१ मा कांग्रेसले बहुमत पाएको थियो । सरकार चलाउन नसकेपछि मध्यावली घोषणा ग¥यो । त्यतिबेला अहिलेको जस्तो अवस्था थिएन । न ग्यास चाहिन्थ्यो न इन्धन । न विदेशमा नेपाली अड्किएका थिए ।
सरकार सञ्चालन गर्न सकेनन् । अनि रास्वपाले चलाउँछ ? काँग्रेसमा निकै खारिएका नेता थिए । १९९६ देखि राणाले शासन हातमा लियो । २००७ सालमा राणाको हातबाट सत्ता खोसेर सरकार बनाइयो तर के भयो ? काम गर्न सकेनन् । पटकपटक संसद् विघटन भयो ।
रास्वपाका नेताहरु आलाकाँचा छन् । उनीहरुमा नेता हुने गुण देखिँदैन । काम नगर्ने तर भीडलाई उक्साउने क्षमता भएकाहरुले रास्वपा भरिएको छ । सभापति स्वयम् अमेरिकादेखि नेपालसम्म दर्जनौं मुद्दा खेपिरहेका छन् । त्यस्तालाई जनताले मत दिएर जिताएका छन् । उता, बालेन जनता सामुन्ने पर्दै पर्दैनन् ।
फेसबुकमा अन्टसन्ट लेख्न जानेका छन् तर त्यसले देश चल्दैन । देश बनाउने व्यक्ति सभ्य, शालीन, धैर्य, राजनीति, कूटनीति बुझेको हुनुपर्छ । घण्टीमा भोट हाल्नेहरु अधिकांश प्रदेश खारेजी, प्रत्यक्ष निर्वाचित राष्ट्रपति र प्रधानमन्त्रीका लागि मतदान गरेको बताउँछन् । घोषणापत्रमा त्यस्तो केही उल्लेख छैन ।
भोट दिनुअघि घोषणापत्र पढ्नुपर्छ कि पर्दैन ? अनि भोलि गरेन भनेर रोइलो गर्न मिल्छ ? पहिले त पढ्नुपर्छ, अध्ययन गर्नुपर्छ अनि मात्र मतदान । लहैलहैमा लागेर भटाभट मतदान गरियो । अनि जनता कहाँ शिक्षित भए ? बुढापाकाले पढेर मात्र हुँदैन भन्थे, वास्तवमै हो रहेछ ।
राष्ट्रियसभामा सबै एमाले, काँग्रेस, नेकपा, मधेशी दलका सांसद छन् । प्रतिनिधिसभाको रास्वपाको दुईतिहाई आएकै भएता पनि राष्ट्रियसभाले पारित नगरिकन विधेयक अगाडि बढ्दै बढ्दैन । पहिले जनताले कानून त बुझ्नुप¥यो । राष्ट्रियसभामा दलगत सांसद् भएसम्म रास्वपाको इच्छा पूरा हुने देखिँदैन ।
रास्वपाले जसोतसो दुईतिहाई पु¥याएर संविधान संशोधन गरेता पनि राष्ट्रियसभामा एक जना पनि सांसद छैनन् । विधेयक कसरी बन्छ ? कानून कसरी बन्छ ? जनतालाई थाहा छैन ? देशमा सातवटा प्रदेश छ । त्यसमध्ये चारवटा प्रदेशका सांसदले बहुमतले प्रदेश खारेजी भनी पारित गर्नुपर्छ ।
रास्वपाले चाहँदैमा प्रदेश खारेज हुँदैन । दुइटै सदनबाट पास भए पनि त्यसअघिको निर्णय राष्ट्रपतिको हुन्छ । राष्ट्रपतिले चाहेमा होल्ड गरिदिन सक्छन् । रास्वपालाई काम गर्न सहज छैन । नेपालको संविधान, २०७२ मा के–के लेखेको छ ? न मतदातालाई थाहा छ न बालेन र रविलाई । रास्वपा बर्खामा आएको भलजस्तै हुने पक्का छ ।
रास्वपालाई पहिलो गाँसमै ढुंगा !
Facebook Comments Box
