काठमाडौं/ आम निर्वाचन २०८२ सफलतापूर्व सम्पन्न गरेर चर्चा बटुल्नु भएकी प्रधानमन्त्री सुशीला कार्की जाने बेलामा विवादमा तानिनु भएको छ । नवनिर्वाचित सांसदलाई सत्ता हस्तान्तरणको तयारीमा रहनु भएकी प्रधानमन्त्री कार्कीले गत साता बसेको मन्त्रिपरिषद् बैठकमा आफ्नो प्रमुख स्वकीय सचिव आदर्श श्रेष्ठलाई प्रकृति संरक्षण कोषमा ५ वर्षका लागि नियुक्ति गरेपछि विवादमा पर्नु भएको हो ।
देश राजनीतिक अस्थिरताको भूमरीमा परेको बेला निकास दिएर लयमा फर्काउन सफल प्रधानमन्त्री कार्कीले आफ्नै मन्त्रिपरिषद्का सदस्य एवं गृहमन्त्री ओमप्रकाश अर्याललाई रिक्त राष्ट्रियसभाको सदस्यमा मन्त्रिपरिषद्को सिफारिसमा पठाउने निर्णय गरेपछि थप विवाद आएको चर्चा छ । राष्ट्रियसभाको रिक्त एकजना सांसद पदमा अर्थमन्त्रीमा कुशलतापूर्वक जिम्मेवारी निर्वाह गर्नु भएका रामेश्वरप्रसाद खनाललाई पठाउने चर्चा चलेको थियो । नयाँ बन्न लागेको अर्थमन्त्रीका उम्मेदवार डा. स्वर्णिम वाग्ले एवं उहाँको समूहले असन्ुतष्टि जनाएपछि गृहमन्त्री अर्याललाई पठाइएको जानकारहरुले बताएका छन् ।
उता, सर्वोच्च अदालत आइटी शाखामा कर्मचारी हुँदादेखि नै विवादमा तानिएका श्रेष्ठले सर्वोच्च अदालतका पूर्वप्रधानन्यायाधीशहरु रामकुमारप्रसाद साहदेखि सुशीला कार्कीसम्म नजिकको सम्बन्ध बनाएका कारण प्रधानमन्त्री कार्कीले स्वकीय सचिवको जिम्मेवारी दिएको श्रोतले बताएको छ । गत २०८२ असोज २ गते स्वकीय सचिव श्रेष्ठले आफ्नी श्रीमती संगीता श्रेष्ठलाई सहसचिव स्तरको स्वकीयका रुपमा नियुक्त गरेपछि विवादमा तानिएको अवस्था थियो ।
यस्तो अवस्थामा पनि प्रधानमन्त्री कार्कीले संरक्षण गरेपछि विरोध गर्नेहरुलाई हटाइएको थियो । स्वकीय सचिव श्रेष्ठले श्रीमती, साली र विभिन्न निकायका नियुक्तिमा चलखेल गरेपछि जेनजी प्रतिनिधिहरुका रुपमा नियुक्ति पाएका आकृति घिमिरे, प्रदीप ज्ञवाली र जेम्स कार्की लगायतका ११ जनालाई जागिरबाट निकाल्ने कार्य त्यो बेला कार्कीले गर्नु भएको थियो ।
यिनै विवादमा रमाउँदै आइरहेका श्रेष्ठलाई विज्ञता र अनुभव एवं योग्यता विना राख्न नहुने भन्दै म्याग्दीबाट स्वतन्त्र सांसद जितेका महावीर पुन, गुल्मी १ बाट रास्पपा सांसद बनेका सागर ढकालदेखि जेन्जी अभियन्ता तनुजा पाण्डे, रक्षा बलहरुले निर्णय सच्याउन माग गर्दै आइरहेका छन् । यसबाहेक पूर्व शिक्षामन्त्री सुमना श्रेष्ठले पनि सामाजिक सञ्जालमार्फत आलोचना गरेको बताइएको छ ।
यस्तो हुँदा पनि प्रधानमन्त्री कार्की र स्वकीय सचिव श्रेष्ठले कानमा कपास कोचेर बसेको बताइएको छ ।
आदर्शलाई च्याप्दा प्रधानमन्त्री विवादमा
Facebook Comments Box
