नयाँ सरकारले प्रतिवेदन के गर्र्ला ?

Nayabimarsha (Weekly Newspaper from Nepal)

काठमाडौं/ बालेन शाह नेतृत्वमा बन्ने सम्भावित सरकारसामु जेनजी आन्दोलनका क्रममा उठेका मुद्दाहरूलाई सम्बोधन गर्ने महत्वपूर्ण चुनौती देखिएको छ । सोही आन्दोलनको पृष्ठभूमिमा तयार पारिएको कार्की आयोग प्रतिवेदनलाई नयाँ सरकारले कसरी ग्रहण गर्छ भन्ने विषय अहिले नीतिगत बहसको केन्द्रमा परेको छ ।
युवापुस्ताको असन्तुष्टि, रोजगारी अभाव, अवसरको असमानता र सुशासनप्रतिको मागलाई केन्द्रमा राखेर अघि बढेको जेनजी आन्दोलनले राज्यको परम्परागत कार्यशैलीमाथि गम्भीर प्रश्न उठाएको थियो । सोही सन्दर्भमा बनेको कार्की आयोग प्रतिवेदनले प्रशासनिक सुधार, पारदर्शिता, युवा सहभागिता र नीतिगत उत्तरदायित्वका विषयमा ठोस सुझावहरू अघि सारेको छ ।
अब प्रश्न उठेको छ कि बालेन शाह नेतृत्वको सरकारले यो प्रतिवेदनलाई केवल औपचारिक दस्तावेजका रूपमा राख्नेछ वा कार्यान्वयनतर्फ अघि बढाउनेछ ?
विश्लेषकहरूका अनुसार बालेन शाहको राजनीतिक उदय स्वयं युवामुखी असन्तुष्टि र वैकल्पिक नेतृत्वको मागसँग जोडिएको छ । त्यसैले जेनजी आन्दोलनका भावनालाई सम्बोधन गर्नु उनका लागि राजनीतिक रूपमा पनि अनिवार्य देखिन्छ ।
उनको विगतको शैली—सक्रियता, स्पष्टता र प्रत्यक्ष संवादले कार्की आयोग प्रतिवेदन कार्यान्वयनमा सम्भावना देखाए पनि चुनौतीहरू कम छैनन् । प्रतिवेदनले सुझाएका संरचनात्मक सुधारहरू कार्यान्वयन गर्न राजनीतिक सहमति, प्रशासनिक सहयोग र कानूनी प्रक्रियाको जटिलता पार गर्नुपर्ने हुन्छ ।
विज्ञहरू भन्छन्, यदि बालेन शाहले एकैपटक सम्पूर्ण सिफारिस लागू गर्नेभन्दा प्राथमिकताका आधारमा चरणबद्ध रूपमा कार्यान्वयन गर्ने रणनीति अपनाए, त्यो बढी व्यवहारिक हुन सक्छ । विशेषगरी युवा रोजगारी, पारदर्शिता, डिजिटल शासन र सार्वजनिक सेवा सुधारसँग सम्बन्धित सिफारिसहरू तत्काल कार्यान्वयन गर्न सकिने क्षेत्रका रूपमा हेरिएको छ ।
यसका साथै जेनजी आन्दोलनले उठाएको ‘राज्यप्रति विश्वासको संकट’ समाधान गर्न सरकारलाई प्रत्यक्ष संवाद, सार्वजनिक प्रतिवेदन र नागरिक सहभागिता बढाउनेतर्फ पनि ध्यान दिनुपर्ने देखिन्छ ।
जनताको अपेक्षा स्पष्ट छ कि आन्दोलनका क्रममा उठेका मुद्दा कागजमै सीमित नरहोस् । बालेन नेतृत्वको सरकारले यदि कार्की आयोग प्रतिवेदनलाई व्यवहारमा उतार्न सके, त्यसले केवल प्रशासनिक सुधार मात्र होइन, राज्य र नागरिकबीचको सम्बन्ध पुनःस्थापित गर्न पनि मद्दत पु¥याउनेछ ।
जेनजी आन्दोलनको मर्म बोकेको कार्की आयोग प्रतिवेदन नयाँ सरकारका लागि अवसर र परीक्षण दुवै बनेको छ । अब हेर्न बाँकी छ कि बालेनले यसलाई परिवर्तनको आधार बनाउँछन् कि विगतझैँ अधुरो प्रतिवेदनकै सूचीमा सीमित रहन्छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *