भक्तपुर/ हालै सम्पन्न प्रतिनिधिसभाको निर्वाचनबाट एकदमै क्षतिग्रस्त भएको नेकपा (एमाले) मा अझै पनि सुधारको संकेत नदेखिएको भनी टिप्पणी हुन थालेको छ । यस्तो हुनुमा एमालेको नेतृत्वले परिवर्तनलाई नस्वीकार्नु तथा विधिको शासनलाई नमान्नु रहेको भनी टिप्पणी हुन थालेको हो ।
गत निर्वाचनमा प्रत्यक्षतर्फ ९ र समानुपातिकतर्फ १६ गरी २५ जना सांसदमा एमाले सीमित हुन पुगेको छ । यस्तो अवस्था आउनुमा एमालेले आफूलाई सुधार्न नसक्नु नै रहेको थियो । उक्त निर्वाचनमा पनि एमालेको अध्यक्षमा खड्गप्रसाद शर्मा ओलीलाई अघि सार्नु हारको महत्वपूर्ण कार्य रहेको मानिँदै आएको छ । निर्वाचनबाट प्रधानमन्त्री बन्ने सपना बुनी बस्नु भएका ओली नै करिब ५० हजार मतान्तरले बालेन्द्र शाह (बालेन) सँग पराजित बन्नु भएको थियो ।
यस्तो अवस्थामा अबको संसदीय दलको नेता चयन गर्ने प्रक्रियामा एमालेले आफूलाई सुधार्ने मौका पाएको थियो । सोही मौकामा इलामबाट निर्वाचित सुहाङ नेम्वाङले दलको नेता बन्न चाहेका थिए । उनले अहिलेको माग अनुसार आफू उम्मेदवार बन्ने बताउनासाथ एमालेका पुराना सोचका नेता कार्यकर्ताहरुले उनलाई रोक्न चाहेका थिए ।
यस क्रममा उम्मेदवारी दिने तयारीमा रहेका नेम्वाङलाई रोक्न एमालेका महासचिव शंकर पोखरेल नै सक्रिय बन्नु भएको थियो । पोखरेलकै निर्देशनमा रामबहादुर थापालाई सर्वसम्मत रुपमा नेता बनाउने कार्य भएको भनी त्यसको आलोचना भैरहेको छ ।
उता, नेम्वाङको पक्षमा एमाले भित्रका मतदाता रहे पनि उनलाई प्रस्तावक र समर्थक नै नपाउने गरी रोक्न महासचिव पोखरेल लागिपरेको पनि बताइएको छ । पोखरेलको उक्त कर्मको अहिले एमालेवृत्तमै आलोचना हुन थालेको छ ।
एमाले पुरातन सोचका साथ अघि बढिरहेको अवस्थामा अध्यक्ष ओली अहिले कानूनी दायरामा रहनु भएको छ । वर्तमान सरकारको प्रमुख निशानामा परी चैत्र १४ गते विहानै पक्राउ पर्नु भएका ओलीमाथि कानूनी उपचार समेत भैरहेको छ । यस्तो अवस्थामा रहेको एमालेले उनै रामबहादुर थापालाई कार्यवाहक अध्यक्ष समेत बनाएको छ ।
त्यसो त थापाको पूर्वपृष्ठभूमि नेकपा (माओवादी) हो । तात्कालिन अवस्थामा नेकपा (माओवादी केन्द्र) र नेकपा (एमाले) का बीच एकता भई बनेको नेकपामा थापा पनि समाहित बन्नु भएको थियो । पछि एमाले र माओवादी केन्द्र विभाजित हुँदा थापा भने एमालेमै रहनु भएको थियो ।
यसरी माओवादी पृष्ठभूमिका थापाको हातमा एमालेको नेतृत्व पुगेको भनी एमालेका पुराना नेता कार्यकर्ताहरु भने निराश देखिएका छन् । ओलीको गलत कार्यले अहिले एमालेको नेतृत्व थापाको हातमा पुगेको भनी उनीहरुले त्यसको विरोध गर्दै विभिन्न सामाजिक सञ्जालमा आक्रोश पोख्दै आएका छन् ।
एमालेमा सुधार नहुने
Facebook Comments Box
