ललितपुर/ नेपाली कांग्रेस भित्र चुलिँदै गएको आन्तरिक मतभेद र गुटगत ध्रुवीकरणलाई साम्य पार्ने प्रयासको थालनी भएको छ । यही उद्देश्यसहित संस्थापन इतर समूहका नेता डा. शेखर कोइरालाले सक्रियता बढाएको बताइएको छ । पछिल्ला दिनहरूमा उनले पार्टीभित्रका विभिन्न धारका नेताहरूसँग निरन्तर संवाद अघि बढाएका छन् । उनले एकताको वातावरण निर्माण गर्न खोजिरहेका बताइएको छ ।
पार्टीभित्र निर्णय प्रक्रियामा असन्तुलन, अवसर बाँडफाँटमा असमानता र नेतृत्वशैलीप्रति बढ्दो असन्तुष्टि कांग्रेसभित्र विकसित भैरहेको बताइएको छ । यसले आन्तरिक सम्बन्ध कमजोर बन्दै गएको विश्लेषण भइरहेका बेला कोइरालाको यो पहललाई अर्थपूर्ण रूपमा हेरिएको छ ।
कोइरालाले विशेषगरी संस्थापन पक्षसँगको दूरी घटाउनेतर्फ जोड दिएका छन् । यसक्रममा उनले शेर बहादुर देउवा निकट नेताहरूसँग समेत अनौपचारिक छलफल तीव्र बनाएका छन् । स्रोतका अनुसार, पछिल्ला भेटघाटहरूमा पार्टीभित्र देखिएका असन्तुष्टि, संगठन सुदृढीकरण र आगामी रणनीतिबारे खुला रूपमा छलफल भइरहेको छ ।
कोइराला निकट नेताहरूका अनुसार उनको मुख्य जोड ‘गुट अन्त्य’ भन्दा पनि ‘गुटबीच सहकार्य’ मा रहेको छ । “विचार फरक हुनु स्वाभाविक हो, तर त्यसलाई टकराव होइन, सहमतिमा रूपान्तरण गर्नुपर्छ,” कोइराला निकट एक नेताले बताएका छन् ।
यसैबीच, कोइरालाले पार्टीभित्र साझा न्यूनतम एजेन्डा तय गर्नुपर्ने आवश्यकता औंल्याएका छन् । उनले कांग्रेसका सभापतिमा गगन कुमार थापा आएको तथा यो विषयमा अदालतले दिने निर्णयलाई पर्खिनुपर्ने धारणा पनि राखेका छन् ।
कोइरालाले देउवा निकटहरुसँग छलफल गर्न भनी डा.गोविन्द पोखरेल र डा. मीनेन्द्र रिजाललाई खटाएको स्रोतले बतायो । यसैगरी सभापति थापा निकटहरुसँग वार्ता गर्नका लागि जीवन परियार र वद्रीप्रसाद पाण्डेलाई अह्राएको बताइएको छ ।
डा.शेखरसँगै पूर्वमहामन्त्री डा.शशांक कोइराला पनि देखिन थालेका छन् । दुवै कोइरालाहरुले कांग्रेसलाई एक ढिक्का राख्नको लागि मिलनविन्दु खोजिनुको विकल्प नरहेको भन्न थालेका छन् । आफूहरु कुनै पनि समूहमा क्रियाशील नभई कांग्रेसलाई एक ढिक्का बनाउन लागि परेको भन्ने सन्देश कोइरालावन्धुहरुले दिन थालेका छन् ।
कांग्रेसमा एकताको प्रयास
Facebook Comments Box
