काठमाडौं/ लामो समयको रस्सकस्सीपछि नेपाली काँग्रेस संसदीय दलको नेतामा भीष्मराज आङदेम्बे चयन भएका छन् । संसदीय दलको नेतामा रसुवाबाट निर्वाचित सांसद मोहन आचार्य र समानुपातिक सांसद अर्जुननरसिंह के.सी.को चर्चा चलेको थियो । लामो समय लागे पनि सभापति गगनकुमार थापाको त्याग र उपसभापति विश्वप्रकाश शर्माको अडानले परिपक्व नेता आङदेम्बे दलको नेता बन्न सफल भएका छन् । आङदेम्बेको सर्वसम्मतिले गर्दा बरालिएको कांग्रेसमा एकता ल्याउने चर्चा पनि चलेको छ ।
यसैगरी प्रमुख सचेतकमा वासना थापा र सचेतकमा निष्कल राई चयन भएका छन् । अब यो समूहले संसदमा प्रभावकारी भूमिका खेल्ने र काँग्रेसको साखलाई माथि उठाउन मद्दत गर्ने अपेक्षा गरिएको छ । हाल काँग्रेसमा विशेष महाधिवेशनको अस्तित्वलाई स्वीकार नगर्ने पूर्व उपसभापति पूर्णबहादुर खड्का, नेता शेखर कोइराला समूहले थापा नेतृत्वको मूल कांग्रेसलाई असर पार्ने गरी समानान्तर गतिविधि गरिरहेको अवस्था रहेको बताइएको छ । निर्वाचन परिणामले ३८ सिटमा खुम्चिएको काँग्रेस एक ढिक्का भएर १५ औं महाधिवेशनमा जोडतोडले लाग्नुपर्ने बेलामा देउवा गुट, कोइराला गुटमा विभाजित हुँदा काँग्रेस बदलिएको नभै बरालिएको र जनताप्रति भरोसा टुटेको सन्देश जाने जानकारहरुले बताएका छन् ।
काँग्रेस पूर्वसभापति शेरबहादुर देउवा निकट मानिएका खड्का समूहले विशेष महाधिवेशन खारेज गर्न सर्वोच्च अदालतमा रिट दायर गरेको थियो । उक्त रिट खारेज भएपछि पनि उनीहरुले बैठक र छलफल गरी राख्दै आएका छन् ।
काठमाडौंको धुम्बाराहीस्थित होटल स्मार्टमा सभापति थापाकै हस्ताक्षरको टिकट लिएर पराजित भएका नेताहरु विमलेन्द्र निधि, एन.पी. साउद, प्रकाशशरण महत, विजयकुमार गच्छदार र अन्य नेताहरु शशांक कोइराला, कृष्णप्रसाद सिटौला, रमेश लेखक, मोहनबहादुर बस्नेत, प्रकाशमान सिंह, सुजाता कोइराला तथा १४ औं महाधिवेशनमा विजयी केही केन्द्रीय सदस्यहरु सहभागी भएको समाचार श्रोतले बताएको छ । यसरी समानान्तर गुट र भेलामा सहभागी भएका पुराना संस्थापन (देउवा) पक्षका नेताहरुलाई पार्टी सभापति गगन कुमार थापाले यथोचित मानसम्मान र भूमिका दिएर पार्टी एकठिक्का नबनाए काँग्रेसको भविष्य प्रजापरिषद् जस्तै बन्ने बताइएको छ ।
रास्वपामा आचारण सुर्धानुपर्ने सांसदहरु
काठमाडौं/ राष्ट्रिय स्वतन्त्र पार्टीका केही सांसदहरुको कार्यशैली तथा अभिव्यक्तिका कारण पार्टी विवादित बन्न पुगेपछि सभापति रवि लामिछानेले अभियन्ता नबन्न चेतावनी दिएका छन् । संसदमा करिव दुई तिहाइको नजिक पुगेको रास्वपाका सांसदहरुको अराजक अभिव्यक्ति र कार्यशैलीले मर्यादा र अनुशासनलाई नाङेझार बनाइदिएको जानकारहरुले बताएका छन् ।
सांसदहरुको उक्त हर्कतले जनताप्रतिको विश्वास र लोकतन्त्रप्रति गैरजिम्मेवार बनेको ठहर छ । तर्कपूर्ण र तथ्यपूर्ण विचार लिएर जनताको पक्षमा लाग्नुपर्ने सांसद सेलिब्रेटी बन्न खोज्दा आलोचित बनेका छन् जबकि चुनाव जितेर आइकेपछि सम्पूर्ण सांसदहरुलाई रास्वपाले अभिमुखीकरण तालिम दिएको थियो ।
पार्टीले दिएको अभिमुखीकरण तालिमलाई बिर्सेर र पार्टीको संगठन एवं अनुशासनको घेरा तोड्ने निर्वाचित सांसदहरुमा कविन्द्र बुर्लाकोटी, विश्वराज पोख्रेल, आशिष गजुरेल, खगेन्द्र सुनार रहेका छन् । यसमा बुर्लाकोटी गोरखा–२, पोख्रेल ओखलढुंगा, गजुरेल सिन्धुली–२ र सुनुवार बाँके–३ बाट निर्वाचित भएका थिए ।
त्यस्तै रिमा विश्वकर्मा शुरुमा कुलमान घिसिङको कोटाबाट मनोनीत सूचीमा परेपछि रास्वपा प्रवेश गरेकी थिइन् भने गणेश वि.क.लाई रास्वपाले दलित कोटामा मनोनीत गरेका थियो । सस्तो लोकप्रियताका लागि चर्चित बनेका सांसद बुर्लाकोटीले सामन्ती संस्कारको झल्को दिने गरी छाता ओढाउन लगाएको, पूर्व एआइजी तथा सांसद पोख्रेल जस्ले पाँच मतको फरकले मात्र चुनाव तिजेको कुरालाई विर्सेर नेपाल प्रहरीमा हुँदा सलामी खाने गरेको कुरालाई सम्झी स्वागत एवं नमस्कार नगरेको भन्दै प्रधानाध्यापकलाई थर्काएका घटना बाहिर आएका थिए । यसैगरी सांसद सुनुवारले सुरक्षा प्रमुखलाई घिसार्ने अभिव्यक्ति दिएको तथा रिमा विश्वकर्मा र गणेश वि.क. सत्ता पक्षकै सांसद भएर जिल्ला प्रशासनमा धर्ना बसेको कारण सामाजिक सञ्जालमा भाइरल बन्न पुगेका थिए । यसले गर्दा राष्ट्रिय स्वतन्त्र पार्टी आलोचित बन्न पुगेको थियो । रास्वपामा राईट–टु रिकको व्यवस्था भएकाले आचरण नभएका यी सांसदहरुलाई फिर्ता बोलाउनुपर्ने चर्चा चलेको समाचार श्रोतले जानकारी दिएको छ ।
