गगनले गुट भत्काउने, खड्का र कोइराला ब्यूँताउने

Nayabimarsha (Weekly Newspaper from Nepal)

काठमाडौं/ नेपाली काँग्रेसभित्र नेतृत्व परिवर्तनसँगै संगठनात्मक पुनर्संरचना र गुटीय समीकरणको राजनीति फेरि सतहमा आएको छ । सभापति गगन थापाले पार्टीभित्रका परम्परागत गुट–उपगुटलाई कमजोर पार्दै साझा नेतृत्व र संगठनात्मक एकताको सन्देश दिन खोजिरहेका बेला इतरपक्षका नेताहरू भने आफ्ना राजनीतिक आधार पुनः सक्रिय बनाउन प्रयासरत देखिएका छन् ।
सभापति थापाले पछिल्लो समय इतर समूहसँग संवाद, सहमति र शक्ति सन्तुलनको रणनीति अपनाउँदै विभिन्न समूहमा आबद्ध नेताहरूलाई पार्टी संरचनामा समेट्न थालेका छन् । सोही क्रममा देउवा र कोइराला समूहसँग निकट मानिएका १९ जनालाई मनोनयन गरिएको काँग्रेस वृत्तमा चर्चा छ । तीमध्ये १२ जना देउवा पक्ष र ७ जना कोइराला पक्षसँग निकट रहेको बताइएको छ ।
काँग्रेसलाई गाउँ–गाउँ र शहरसम्म पुनः सक्रिय बनाउने उद्देश्यसहित “जरा अभियान” सञ्चालन गरिएको छ । सभापति थापा, उपसभापति विश्वप्रकाश शर्मालगायतको टोली यतिबेला संगठन सुदृढीकरण अभियान लिएर देश दौडाहामा रहेको स्रोतहरूको दाबी छ ।
यसक्रममा सुजाता कोइराला, राजीव कोइराला, जीवन परियार, महेन्द्र यादव, उमेश श्रेष्ठ, रमेश रिजाल तथा दिलेन्द्र बडूजस्ता पुराना र प्रभावशाली नेता–नेतृहरूलाई पनि अवसर दिइएको छ । त्यस्तै डा. चन्द्रकान्त भण्डारी, अजयकुमार चौरसिया, लक्ष्मी परियार, आङ्देलु शेर्पा, दिनेश यादव, राजीव ढुंगाना, प्रा.डा. गोविन्दराज पोखरेल, सुशिला मिश्र भट्ट, नागिना यादव, दिनेश कोइराला, जीवन राना तथा सीता थपलियालगायत नेताहरूलाई समेत केन्द्रीय कार्यसमितिमा समेटिएको छ ।
यता, सम्मानजनक शक्ति सन्तुलनको माग गरिरहेका पूर्वउपसभापति पूर्णबहादुर खड्का, विमलेन्द्र निधि, शेखर कोइराला र कृष्णप्रसाद सिटौलानिकट समूह भने छुट्टै भेला तथा समानान्तर गतिविधिमा सक्रिय देखिएका छन् । कोशी, मधेश र काठमाडौं केन्द्रित भेलामार्फत उनीहरूले आफ्नो राजनीतिक उपस्थिति देखाउने प्रयास गरेका छन् । यसले अपेक्षित प्रभाव पार्न नसकेको चर्चा काँग्रेसभित्र चलिरहेको छ ।
विराटनगर, मधेश र काठमाडौंमा आयोजित भेलाहरूमा उल्लेख्य सहभागिता नदेखिएको तथा दोस्रो तहका धेरै नेताहरू क्रमशः सभापति थापा नेतृत्वतर्फ आकर्षित हुन थालेको विश्लेषण पनि पार्टीभित्र भइरहेको छ । राजनीतिक विश्लेषकहरूका अनुसार, गगन थापाले पुस्तान्तरण, संगठन पुनर्संरचना र साझा नेतृत्वको राजनीतिक सन्देश अघि सार्न खोजिरहेका छन् । काँग्रेसभित्रको पुरानो शक्ति सन्तुलन पूर्ण रूपमा समाप्त भइनसकेको र आगामी महाधिवेशनसम्म आन्तरिक समीकरण अझ तीव्र हुने संकेत देखिएको छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *