काठमाडौं/ राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदमा आगामी आर्थिक वर्ष २०८३÷०८४ को सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरिरहँदा प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) बीचमै बैठक कक्षबाट बाहिरिएको घटनाले राजनीतिक वृत्तमा व्यापक बहस उत्पन्न गरेको छ ।
उक्त घटनापछि विपक्षी दलका नेता, संविधानविद् तथा संसदीय अभ्यासका जानकारहरूले प्रधानमन्त्रीको कदमलाई संसदीय मर्यादा विपरीत भएको टिप्पणी गरेका छन् । आफ्नै सरकारले ल्याएको नीति तथा कार्यक्रमको प्रस्तुति पूरा नसुनी प्रधानमन्त्री करिब ४५ मिनेटसम्म अनुपस्थित रहेको चर्चा सार्वजनिक भएपछि आलोचना तीव्र बनेको हो ।
राजनीतिक विश्लेषकहरूले संसद लोकतान्त्रिक प्रणालीको सर्वोच्च संस्थागत मञ्च भएको उल्लेख गर्दै प्रधानमन्त्रीको व्यवहारले संसदीय संस्कृतिप्रति असावधानी र हल्का दृष्टिकोण देखाएको बताएका छन् ।
यस विषयलाई लिएर वैशाख २९ गतेको प्रतिनिधिसभा बैठकमा समेत प्रश्न उठाइएको थियो । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहालले विगतमा बहुमतको उन्मादले राजनीतिक दुर्घटना निम्त्याएको स्मरण गराउँदै संसदको गरिमा र संस्थागत भूमिकालाई सम्मान गर्न सरकारलाई सचेत गराएका थिए ।
त्यस्तै, प्रमुख प्रतिपक्षी दलका नेता भीष्मराज आङदेम्बेले उक्त घटनाले संसदको इज्जत र गरिमामाथि आघात पुगेको टिप्पणी गर्दै अहंकारपूर्ण व्यवहारले जनतामा निराशा बढाएको बताएका थिए ।
घटनाप्रति श्रम संस्कृति पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी तथा सत्तारुढ गठबन्धनभित्रकै केही सांसदहरूले समेत असन्तुष्टि जनाएको चर्चा राजनीतिक वृत्तमा छ । सार्वजनिक रूपमा भने सरकार पक्ष प्रधानमन्त्रीको बचाउमा उत्रिएको देखिन्छ । प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार असिम शाहले स्वास्थ्य समस्याका कारण प्रधानमन्त्री केही समयका लागि बाहिरिएको स्पष्टीकरण दिएका थिए । सामाजिक सञ्जालमा राखिएको उक्त स्पष्टीकरण केही मिनेटमै हटाइएपछि थप प्रश्न र अड्कलबाजी शुरु भएको थियो ।
राजनीतिक विश्लेषकहरूका अनुसार, पछिल्ला घटनाक्रमहरूले सरकारको राजनीतिक परिपक्वता, संसदीय व्यवहार र सार्वजनिक उत्तरदायित्वमाथि प्रश्न उठाएको छ । संसदजस्तो संवेदनशील संस्थाप्रति देखाइने आचरणले दीर्घकालीन राजनीतिक संस्कृतिमा असर पार्ने भएकाले यस्ता विषयलाई सामान्य रूपमा लिन नहुने उनीहरूको भनाइ छ ।
संसदमा प्रधानमन्त्री हराएपछि आलोचित
Facebook Comments Box
