रास्वपा सांसद गुरुङ र कार्की आलोचित

Nayabimarsha (Weekly Newspaper from Nepal)

काठमाडौं÷ २०८२ फागुन २१ गतेको आम निर्वाचनमा झण्डै (दुई सिट कम) दुई तिहाई बहुमत ल्याएको राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरु विभिन्न काण्डमा आलोचित बनेका छन् । पार्टी सभापति रवि लामिछानेमाथि लागेको सहकारी काण्डको छानविन अझै टुंगो लाग्न सकेको छैन । गत निर्वाचनमा विभिन्न काण्डजस्तै ऐलानी जग्गा र सार्वजनिक जग्गा मिचेर र विवादास्पद अभिव्यक्ति दिएका व्यक्तिहरु जितेर सांसद बनेपछि अहिले धमाधम पोलहरु खुल्न थालेका छन् ।
ती सांसदहरुमध्ये सबैभन्दा विवादित र चर्चाको शिखरमा गोर्खाबाट निर्वाचित रास्वपा सांसद एवं पूर्वगृहमन्त्री सुधन गुरुङ रहेका छन् । सांसद गुरुङ अस्वाभाविक सम्पत्ति र शेयर प्रकरणमा मुछिएको अवस्थामा उच्च अदालतका पूर्वन्यायाधीश अच्यूतप्रसाद भण्डारीको अध्यक्षतामा तीन सदस्यीय छानविन समिति गठन भएको छ । गुरुङले व्यवसायी दीपक भट्टको शेयर कम्पनी शेयर खरिद गरेपछि विवादित बनी पदबाट राजीनामा दिएका थिए । छानविन समितिले चोख्याएपछि पुनः गृहमन्त्रीमै फक्र्याउने राजनीतिक वृत्तमा चर्चा चलेको बेला युवती लिएर रिसोर्टमा पुगेको घटनाले उनको नियत छर्लङ्ग भएको छ । भोटेकोशी हेलि रिसोर्टमा युवतीसहित पक्राउ परेका पूर्वगृहमन्त्रीको सिसिटिभी फुटेज बेपत्ता बनाइएको समाचारमा उल्लेख छ ।
यसैगरी मोरङ – २ बाट निर्वाचित रास्वपा सांसद कृष्णकुमार कार्की र नाइजेरियन महिला बीचको शारीरिक सम्पर्क तथा गर्भवती काण्डले चर्चित बनेका बेला रास्वपा सांसद आशिका तामाङले कसैलाई अन्याय हुनु हुँदैन र कसैले अन्याय गर्छ भने छोड्नु हुन्न भन्दै प्रतिकृया दिएपछि सांसद कार्की अप्ठ्यारोमा परेका छन् । सांसदको तिनै व्यक्ति जस्ले सिंहदरबार जलाउन अभिप्रेरित गरेको भिडियो सार्वजनिक भएको छ । लामो समय जापान बसेर नेपाल फर्किएको कार्की मोरङ–२ बाट चुनाव जित्न सफल भएका थिए ।
यसरी रास्वपाका सांसदहरुको कर्तुत एकपछि अर्को गरी बाहिरिएपछि पार्टी धर्म संकटमा फसेको चर्चा छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *