पिएमणि भट्टराई
भक्तपुर/ नेपाली कांग्रेसको १५औँ महाधिवेशनले पार्टीको नेतृत्वमा देखिएको पुस्तान्तरणलाई औपचारिक रूप दिने दिशामा अघि बढेको छ । हिजो बिहीबार दिउँसो २ बजेदेखि शुरु हुने भनिएको मतदान प्राविधिक कारण देखाउँदै आज शुक्रबार हुने भनी जानकारी गराइएको छ । यो निर्वाचन तथा निर्वाचन परिणामसँगै कांग्रेस अब लामो समयदेखि प्रभावमा रहेको पुरानो नेतृत्वको छायाबाट बाहिर निस्किएर नयाँ पुस्ताको हातमा पुग्ने कि फेरि पुरानै शक्ति समीकरणमा फर्किने भन्ने बहसको निर्णायक चरणमा प्रवेश गरेको छ ।
महाधिवेशनमा सभापतिका लागि गगनकुमार थापाको उम्मेदवारीले नयाँ पुस्ताको नेतृत्वप्रतिको आकर्षणलाई बलियो बनाएको छ । थापा निर्विरोध सभापति बन्ने अवस्था देखिए पनि श्यामकृष्ण खड्गीले आफ्नो उम्मेदवारी कायम राखेपछि सभापति पदमा समेत निर्वाचन हुने भएको छ । संख्यात्मक रूपमा खड्गीको उम्मेदवारीभन्दा ठूलो विषय भने कांग्रेसभित्र नेतृत्व परिवर्तनप्रतिको मनोविज्ञान बनेको छ । लामो समयदेखि पार्टी सञ्चालनमा प्रभाव राखेको पुस्ताबाट जिम्मेवारी नयाँ पुस्तातर्फ सर्दै गएको सन्देश महाधिवेशनले दिएको छ ।
वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा तथा महिला उपसभापतिमा पुष्पा भुसाल निर्विरोध रुपमा निर्वाचित भइसकेका छन् । शर्मा स्वयं लामो समयदेखि परिवर्तन र पुस्तान्तरणको बहसमा सक्रिय नेताका रूपमा रहँदै आएका छन् । त्यसैले उनको निर्विरोध चयनलाई पनि कांग्रेसको नयाँ नेतृत्व संरचनाको एउटा महत्वपूर्ण संकेतका रूपमा हेरिएको छ ।
नेतृत्व चयनको प्रक्रिया सहज र छोटो हुने अवस्था भने छैन । अघिल्लो कार्यसमितिको तुलनामा नेतृत्व संरचना र पदाधिकारीको संख्या ठूलो भएकाले मतदानसँगै मतगणनामा पनि समय लाग्ने देखिएको छ । ठूलो संख्यामा उम्मेदवार र प्रतिनिधि सहभागी भएको महाधिवेशनको परिणाम क्रमशः सार्वजनिक हुने भएकाले अन्तिम तस्वीर आउन केही समय लाग्नेछ ।
बदलिएको मनोविज्ञान
कांग्रेसमा अहिले देखिएको परिवर्तनलाई केवल गगन थापाको व्यक्तिगत राजनीतिक उचाइका रूपमा बुझ्नु अपूर्ण हुन्छ । यसको पछाडि पार्टीभित्र लामो समयदेखि जम्दै आएको असन्तुष्टि र नयाँ पुस्ताको बढ्दो बेचैनी जोडिएको छ । कांग्रेसका युवाहरू अब पार्टीमा पद पाउन मात्र चाहिरहेका छैनन् । उनीहरू पार्टीको निर्णय प्रक्रिया, नेतृत्वको शैली, सरकार सञ्चालन, संगठनको पुनर्संरचना र सार्वजनिक विश्वसनीयतामा परिवर्तन खोजिरहेका छन् । पछिल्ला निर्वाचनमा परम्परागत दलहरूप्रति देखिएको वितृष्णाले पनि कांग्रेसभित्र आत्मसमीक्षाको दबाब बढाएको छ ।
त्यसैले गगनको नेतृत्वमा देखिएको उत्साहलाई व्यक्तिपूजाभन्दा पनि परिवर्तनको चाहनाको अभिव्यक्तिका रूपमा बुझ्नुपर्ने कांग्रेसका नेताहरूको धारणा छ । कांग्रेसका एक नेताले भने, æकार्यकर्ताले अब पुराना अनुहारको विकल्प मात्र खोजेका होइनन्, उनीहरूले पार्टीभित्र नयाँ संस्कार र काम गर्ने नयाँ तरिका खोजिरहेका छन् ।Æ यो अपेक्षा पूरा गर्न नसक्नु नयाँ नेतृत्वका लागि पहिलो चुनौती हुनेछ । सभापति परिवर्तन भएर मात्र कांग्रेस बदलिने छैन । पार्टीको निर्णय गर्ने शैली, गुटगत व्यवहार र अवसर वितरणको परम्परा पनि बदलिनुपर्नेछ ।
देउवा पक्षमा घट्यो उत्साह
यता पूर्वसभापति शेरबहादुर देउवा पक्षले छुट्टै महाधिवेशन प्रक्रियालाई अगाडि बढाउन प्रयास गरे पनि त्यसले कांग्रेसको मूलधारमा देखिएको जस्तो राजनीतिक तरंग सिर्जना गर्न सकेको छैन । देउवा पक्षले बी.पी. कोइरालाका पुत्र शशांक कोइरालाको संयोजकत्वमा महाधिवेशन तयारी समिति गठन गर्दै आफ्नो बाटो अघि बढाएको थियो । शशांकको संयोजकत्वमा रहेको समितिमा गणेशमान सिंहका पुत्र प्रकाशमान सिंह, महेन्द्रनारायण निधिका पुत्र विमलेन्द्र निधि, प्रकाशशरण महत, मोहनबहादुर बस्नेत, कान्छाराम तामाङ, दीपक खड्कालगायतका नेताहरू देउवा पक्षमा खुलेर देखिएका छन् । विगतमा देउवासँग नजिक देखिएका सबै प्रभावशाली नेताहरू अहिले त्यही रूपमा उभिएका छैनन् ।
विशेषगरी डा. शेखर कोइराला र पूर्णबहादुर खड्का स्पष्ट रूपमा देउवा पक्षको समानान्तर अभियानमा नखुलेको अवस्थाले पनि शक्तिसमीकरण बदलिएको संकेत गरेको छ । कांग्रेसभित्र प्रभावशाली मानिएका नेताहरूले आफ्नो राजनीतिक भविष्यलाई नयाँ नेतृत्वसँग कसरी जोड्ने भन्ने हिसाब गर्न थालेपछि देउवा पक्षको मनोबलमा असर परेको देखिन्छ ।
यसलाई देउवा स्वयंका लागि पनि असहज परिस्थितिका रूपमा हेरिएको छ । नेपाल फर्काउन र उनको राजनीतिक सक्रियतालाई निरन्तरता दिन भूमिका खेलेका कतिपय नेता अहिले मूल कांग्रेसको प्रक्रियातर्फ उभिन थालेपछि देउवा पक्षमा आफूलाई राजनीतिक रूपमा एक्ल्याइएको अनुभूति हुन सक्ने अवस्था बनेको छ ।
कांग्रेसमा देउवाको राजनीतिक प्रभावलाई एकैपटक समाप्त भएको ठान्नु पनि हतार हुनेछ । संगठनभित्र उनको लामो समयदेखिको प्रभाव, कार्यकर्तासँगको सम्बन्ध र पार्टी सञ्चालनको अनुभव अझै महत्वपूर्ण राजनीतिक सम्पत्ति हुन् । प्रश्न यति मात्र हो कि उनी त्यस प्रभावलाई विभाजनतर्फ प्रयोग गर्छन् कि नयाँ नेतृत्वसँग सहकार्यको आधार बनाउँछन् ?
निधिको टिप्पणीले बहस
कांग्रेसभित्रको वर्तमान अवस्थालाई लिएर नेता विमलेन्द्र निधिले पार्टीमा विभाजनको अवस्था देखिएको र अर्को घर खोज्ने परिस्थिति बनेको आशयको टिप्पणी गरेका छन् । निधिको यस्तो अभिव्यक्तिले कांग्रेसको आन्तरिक विवादलाई केवल महाधिवेशनको प्राविधिक विषय नभई राजनीतिक अस्तित्वको बहसका रूपमा समेत हेर्नुपर्ने अवस्था बनाएको छ ।
वास्तवमा कांग्रेसमा अहिले दुईवटा प्रवृत्ति एकसाथ देखिएका छन् । एउटा पक्ष पुरानो संरचना, अनुभव र स्थापित राजनीतिक सम्बन्धलाई जोगाएर अघि बढ्न चाहन्छ । अर्को पक्षले विगतको नेतृत्व शैलीले नयाँ परिस्थितिको सामना गर्न नसक्ने भन्दै संगठनलाई नयाँ पुस्ताको सोचअनुसार पुनर्गठन गर्नुपर्ने तर्क गरिरहेको छ ।
यही दुई धारबीचको दूरी बढ्दै गए पार्टी औपचारिक रूपमा नफुटे पनि व्यवहारमा दुई राजनीतिक केन्द्र बन्न सक्ने खतरा कांग्रेसभित्रका नेताहरूले औँल्याउन थालेका छन् ।
मौनता अर्थपूर्ण
देउवा पक्षको अहिलेको सबैभन्दा ठूलो कमजोरी उसले अपेक्षा गरेजति व्यापक समर्थन जुटाउन नसक्नु हो । पार्टीभित्र लामो समयदेखि देउवाको प्रतिस्पर्धी धारमा रहेका डा. शेखर कोइराला तथा प्रभावशाली नेता पूर्णबहादुर खड्काको पछिल्लो अवस्थाले पनि यही संकेत गर्छ ।
उनीहरू देउवा पक्षको समानान्तर महाधिवेशन अभियानमा स्पष्ट रूपमा खुलेर नआउनुलाई सामान्य मौनता मात्र मानिएको छैन । कांग्रेसको भावी शक्ति सन्तुलनमा आफूलाई कहाँ राख्ने भन्ने विषयमा नेताहरूले परिस्थिति हेरेर निर्णय गरिरहेको बुझाइ पार्टीभित्र छ । यस्तो अवस्थामा देउवा पक्षले छुट्टै महाधिवेशनबाट वैधानिक र राजनीतिक बल प्राप्त गर्न सक्ने सम्भावना पनि चुनौतीपूर्ण देखिन्छ । राजनीतिक रूपमा प्रभावकारी देखिन जनसमर्थन, संगठनात्मक उपस्थिति र नेताहरूको व्यापक साथ आवश्यक पर्छ । तीमध्ये केही पक्षमा कमजोर देखिन थालेपछि समानान्तर संरचना निर्माणको औचित्यमाथि नै प्रश्न उठ्न सक्छ ।
गगनको परीक्षा
गगन थापाका लागि पनि यो अवस्था जितसँगै चुनौती बोकेर आएको छ । पार्टीको नेतृत्वमा पुग्नु उनको राजनीतिक यात्राको ठूलो उपलब्धि भए पनि त्यसपछि कांग्रेसलाई एकीकृत राख्नु अझ कठिन जिम्मेवारी हुनेछ ।
उनले आफूलाई केवल युवा पुस्ताको नेता नभई सम्पूर्ण कांग्रेसको सभापतिका रूपमा स्थापित गर्नुपर्नेछ । देउवा पक्षका नेता–कार्यकर्तालाई पर धकेल्ने शैली अपनाइयो भने अहिलेको विभाजन अझ गहिरिन सक्छ । बरु पुरानो पुस्ताको अनुभवलाई सम्मान गर्दै नयाँ पुस्ताको ऊर्जा उपयोग गर्ने संरचना बनाउन सके कांग्रेसभित्रको संक्रमण सहज बन्न सक्छ ।
वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा र महिला उपसभापति पुष्पा भुसालको भूमिकाले पनि आगामी नेतृत्वमा महत्व राख्नेछ । नयाँ नेतृत्वको सामूहिक कार्यशैली, जिम्मेवारी बाँडफाँट र आन्तरिक लोकतन्त्रको अभ्यासले कांग्रेसको आगामी स्वरूप निर्धारण गर्नेछ ।
न निषेध, न अवरोध
कांग्रेस अहिले एउटा महत्वपूर्ण मोडमा छ । पुरानो पुस्तालाई पूर्णतः विस्थापित गरेर मात्र नयाँ कांग्रेस बन्न सक्दैन । त्यस्तै पुरानो नेतृत्वको प्रभावलाई कायम राखेर नयाँ पुस्ताको चाहना रोक्न खोज्दा पनि पार्टीको भविष्य सहज हुँदैन । त्यसैले कांग्रेसले अहिले खोज्नुपर्ने बाटो पुस्ताबीचको संघर्ष होइन, पुस्ताबीचको सहकार्य हो। देउवा र उनीसँग लामो समय काम गरेका नेताहरूको अनुभवलाई संगठन निर्माणमा प्रयोग गर्दै गगनसहितको नयाँ पुस्तालाई निर्णय र कार्यान्वयनको मुख्य जिम्मेवारी दिन सक्नु कांग्रेसका लागि सबैभन्दा व्यावहारिक बाटो हुन सक्छ ।
आगामी दिनमा कांग्रेसले जनतासँग जोडिएका विषयलाई आफ्नो राजनीतिक अजेन्डाको केन्द्रमा राख्नुपर्नेछ । रोजगारी, युवा पलायन, शिक्षा, स्वास्थ्य, सुशासन, भ्रष्टाचार नियन्त्रण, अर्थतन्त्र र सार्वजनिक सेवाका प्रश्नमा ठोस धारणा नबनाई केवल नेतृत्व परिवर्तनले पार्टीलाई पुनर्जीवित गर्न सक्दैन ।
महाधिवेशनबाट कांग्रेसले नयाँ नेतृत्व पाउनु एउटा राजनीतिक घटना हुनेछ । त्यस नेतृत्वले नयाँ कांग्रेस बनाउन सक्नु वा नसक्नु नै यसको वास्तविक परीक्षा हुनेछ । अहिलेको वातावरणले एउटा कुरा भने स्पष्ट गरिसकेको छ कि कांग्रेसका कार्यकर्ताको ठूलो हिस्सा अब विगत दोहो¥याउने पक्षमा छैन । उनीहरू परिवर्तन चाहन्छन् । यही चाहनाले युवापुस्तामा उत्साह बढाएको छ भने पुरानो नेतृत्वलाई सोच्न बाध्य बनाएको छ ।
शेरबहादुर देउवाका अगाडि अब प्रश्न केवल आफ्नो पक्षको राजनीतिक अस्तित्व जोगाउने होइन, उनले दशकौँसम्म नेतृत्व गरेको पार्टीलाई विभाजनबाट कसरी जोगाउने भन्ने पनि हो । थापाका अगाडि पनि चुनौती त्यत्तिकै ठूलो छ कि परिवर्तनको नारालाई व्यवहारमा उतारेर सबै धारलाई समेट्ने कांग्रेस बनाउने ।
१५औँ महाधिवेशनको परिणामले कांग्रेसको सभापति को हुन्छ भन्ने तय गर्नेछ । त्यसपछि शुरु हुने अध्यायले चाहिँ कांग्रेस पुरानै शैलीमा फर्किन्छ कि नयाँ राजनीतिक संस्कारतर्फ अघि बढ्छ भन्ने निर्णय गर्नेछ । यही कारण यसपटकको महाधिवेशन कांग्रेसका लागि नेतृत्व चयनभन्दा पनि अस्तित्व, पुनर्निर्माण र भविष्यको दिशानिर्देशन गर्ने अवसर बनेको छ ।
