कविताः शैक्षिक बेथिति

Nayabimarsha (Weekly Newspaper from Nepal)

शिवबहादुर विश्वकर्मा

मेरो पढाइलाई
पु¥याउनु पर्ने साईं थियो,
तर सिंगौडी पुग्न भ्याएछ
खैर केही छैन,
ठीकै छ
शिक्षाको बेथिति भएको देशमा जन्मिएको न हुँ !

सुकी सकेछन् यी
घाँटीका नशाहरू
नियालिरहेछु ती
बेवास्ता क्षणहरू
अनुभव गरिरहेछु ती
धम्कीका आवाजहरू

कराउनु कराएँ
घोचघोच्याउनु घोचघोच्याएँ
तर प्रतिफल शून्य

भन्दैन अब म
प्रयोगात्मक सामग्री चाहिए
लेख्ने मार्कर र मेटाउने डस्टरको उदाहरण नै काफी

भन्दैन अब म
ल्याबको व्यवस्था गरिदिनुहोस् भनेर
चौरमा मन्दिर नै काफी

भन्दैन अब म
नछुटाई निरन्तर पढाउनुहोस् भनेर
कागजको सरस्वतीको पूजा नै काफी

भन्दैन अब म
जाँगरका साथ सिकाउनुहोस् भनेर
अर्काका छोराछोरी न हुन्
के राम्ररी सिकाउने है !
तर आफ्ना छोराछोरीलाई
बोर्डिङ स्कूल नै काफी

साथै यो पनि भन्दैन कि,
विद्यार्थीहरूलाई–
सर्वोत्कृष्ट उत्तीर्ण गराएर
विज्ञान प्रविधिसँग नजिक गराएर
व्यावहारिक कुरा सिकाएर
तर्कशील र विवेकशीलका परिभाषाहरू सिकाएर
खुशीको उत्सव मनाऔं
तर यहाँ उद्देश्य र प्रतिफल बिनाको
शिक्षालयको वार्षिक उत्सव नै काफी

कक्षा शुरू भएको महिनौँदेखि वर्षौं बित्दा पनि थाहा छैन
हाम्रो प्रधानाध्यापक को हो ?
थाहा छैन, हाम्रो कक्षा शिक्षक को हो ?
थाहा छैन, आफ्नै हाजिरी कति हो ?
थाहा छैनन् पढ्ने विषयका नाम
भनिदिनु न बाबा,
अब दोष आफैंलाई लगाऊँ या त मास्टरलाई ?

बुझ्दै छु आमा यहाँ
कक्षामा समानता र स्वतन्त्रताका
भाषण दिने शिक्षकले
जाँड खाएर स्वास्नी पिट्दा रहेछन्
छोरी सरहका छात्रालाई
गलत नजर लगाउँदा रहेछन्
धारामा आफ्नै विद्यार्थीसँग
छोइछिटो गर्दा रहेछन्
पढाउन हिँडेका शिक्षक
जुवाको खालमा बस्दा रहेछन्
अब भन्नु न आमा
म के सिकिरहेछु ?

म त विरुद्धमा कराउँदा कराउँदा
शिक्षकको नजरदेखि नै गिरेको मान्छे हुँ बाबा
अब म कराउँदिन
मनपरि गर्न दिन्छु

म हारेँ
शिक्षा प्रणालीदेखि हारेँ
शैक्षिक बेथितिदेखि हारेँ
शिक्षकका दुई जीब्रे बोलीदेखि हारेँ
गलत आचरणदेखि हारेँ
त्यसैले म अहिले मौन छु
र गम्भीरताका साथ सबै नियालिरहेछु ।

(आठविस –६, दैलेख)

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *