मुख्य समाचार
भक्तपुर/ गएको फागुन ७ गतेको प्रजातन्त्र दिवसको अवसर पारेर राजा ज्ञानेन्द्र शाहले दिएको सन्देशले राजनीतिक दलहरुमा हलचल उत्पन्न गरिदिएको छ । उक्त दिनको शुभकामना वक्तव्यमा राजा ज्ञानेन्द्रले देशमा भैरहेको अवस्थालाई विश्लेषण गर्दै अब चूप लागेर बस्न नमिल्ने अवस्था रहेको भन्ने आशय दिनु भएको थियो । राजगद्दीबाट च्युत गराइनु भएका ज्ञानेन्द्रले अब आफूलाई साथ दिनका लागि नेपाली जनतालाई आह्वान गर्नु भएको थियो । सोही कारण जनतामा उत्साह थपिँदै गएको पछिल्ला घटनाक्रमहरुले पुष्टी गर्दै गएका छन् । राजा ज्ञानेन्द्र फागुनको २५ गते पोखराबाट काठमाडौं आउँदा स्वागतमा जनसागर उर्लिएको थियो । जनसागरका कारण राजा तथा राजावादीहरुमा उत्साह छाउन पुग्यो । उता, राजनीतिक दलहरुमा भने हलचल उत्पन्न गरिदिएको छ । सोही दिनदेखि राजनीतिक दलहरु आफ्नो तथा आफ्ना नेताहरुको भविष्यका लागि चिन्तित हुन थालेको अवस्था छ ।
पछिल्लो समय गणतन्त्र र राजतन्त्रको बीचमा बहस हुन थालेको छ । यही चैत्रको १५ गते दुवै तन्त्रवादीहरुले काठमाडौंमा आफ्नो शक्ति प्रदर्शनी गरे । काठमाडौंको कोटेश्वर–तीनकुने क्षेत्र राजातन्त्रवादीहरुका लागि छुट्याइएको थियो । यसैगरी समाजवादी मोर्चाको नाममा गणतन्त्रवादीहरुका लागि भनी भृकुटीमण्डप क्षेत्र तोकिएको थियो । राजावादीहरुले पहिले नै उक्त दिन कार्यक्रम गर्ने भनी सार्वजनिक गरिसकेको अवस्थामा सोही दिन नै विपरित धुूवको कार्यक्रमलाई सरकार (स्थानीय प्रशासन) ले स्वीकृति दिएको थियो ।
यसरी भिडन्त गराउने मनसायले विपरित कित्ताका कार्यक्रमहरु सरकारले गर्न अनुमति दिएको भनी सर्वत्र आलोचना भैरहेको थियो । यसैगरी त्यसको अघिल्लो दिन प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओलीले एक सार्वजनिक कार्यक्रममा आमसभा, भेला, जुलुस भैरहन्छन् भनी हल्का रुपमा टिप्पणी गर्नु भएको थियो । प्रधानमन्त्री जस्तो पदमा आसीन व्यक्तिले त्यसको केही दिनअघि आप्mनो दलको भातृसंस्थाको एक कार्यक्रममा ‘बाघले भैंm झम्टन भनी कार्यकर्ता उकास्ने कार्य भएको भनी’ त्यसको पनि आलोचना भैरहेको थियो ।
यस्तो बेलामा भएको प्रदर्शनीहरुमा दुई जनाले ज्यान गुमाउनु परेको छ । डेढ दर्जन बढी गोली लागेर घाइते भएका छन् । निजी भवन तथा सार्वजनिक सम्पत्तिहरुमा नोक्सानी गरिएको छ । प्रदर्शनीकारीहरुले धनजनको क्षति गरेको भनी सरकारी पक्षबाट आरोप लगाउने कार्य भैरहेको छ । उता, राजावादीहरु भने सरकारी पक्षले नै प्रदर्शनकारीहरुकोमा घुसपैठ गराएर जनधनको क्षति गराउने कार्य गरेको भनी त्यसको प्रतिवाद गरिरहेका छन् ।
समाचार संकलन गर्न गएका पत्रकार सुरेश रजकको समाचार संकलनकै क्रममा जलेर मृत्यु हुन गएको छ । सविन महर्जन नामक युवा गोली लागेर मृत्युवरण गर्न पुगेका छन् । तीनकुने क्षेत्रमा सरकारले सम्यमता नअपनाई अश्रुग्यास, लाठी चार्ज तथा गोली समेत हान्ने कार्य गरेको भनी सरकारको आलोचना भैरहेको छ । उता, राजावादीहरु पनि उक्त दिनको कार्यक्रममो समीक्षामा छन् । यस्तो अवस्थामा काठमाडौं महानगरपालिकाले राजा ज्ञानेन्द्रको निवासमा तोडफोड र फोहोरको जिम्मा लगाउँदै जरिवाना तोक्ने कार्य गरी जगत हसाउने कार्य गरेको छ । कार्यक्रमको आयोजक वा सरकार पक्षलाई जरिवाना गराउनु स्वाभाविक नै हुने अवस्थामा राजा ज्ञानेन्द्र जो आफ्नै निवासमा बस्नु भएको थियो, उहाँको नाममा जरिवाना गरी पठाउने कार्यको आलोचना पनि भैरहेको छ ।
सोही दिनको कार्यक्रममा सामेल भएका राप्रपाका उपाध्यक्ष रवीन्द्र मिश्र, महामन्त्री धवल शमशेर राणासहित ४१ जनालाई दोस्रो पटक म्याद थप भएको छ । जिल्ला प्रहरी परिसर काठमाडौंको हिरासतमा रहेका ४१ जनालाई काठमाडौं जिल्ला अदालतमा म्याद थपका लागि बुधबार उपस्थित गराइएकोमा थप ६ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिइएको हो ।
यसैगरी आपराधिक उपद्रव र संगठित अपराधमा ३० जना र राज्यविरुद्धको कसुरमा ११ जना गरी ४१ जनालाई पहिलो पटक आइतबार पाँच दिनको म्याद थप भएको थियो । राजावादीहरुले राजसंस्था पुनस्र्थापनाका लागि भनी थालेको आन्दोलन अन्योलमा परेको छ । ८७ वर्षीय नवराज सुवेदीको नेतृत्वमा गठित आन्दोलन समितिका संयोजकका रुपमा रहनु भएका सुवेदीलाई सरकारले निवासमै नजरबन्द गरेको छ । उहाँको नजरबन्दको कारण राजावादीहरुले अर्को कुनै कार्यक्रम गर्न सकेका छैनन् ।
यही चैत्र २६ गते राप्रपाले आन्दोलनको कार्यक्रम घोषणा भने गरेको छ । यता, रविन्द्र मिश्र, धवलशम्शेर राणालगायतका नेताहरु पक्राउ परिरहेको तथा अर्का नेता दीपक बोहोराको पनि निधन भएको अवस्थामा राप्रपा कार्यक्रम गर्ने कि फिर्ता लिने भन्ने दोधारको अवस्थामा रहेको बताइन्छ ।
राजावादीहरुलाई एक ठाउँमा ल्याई आन्दोलन चर्काउने उद्देश्यका साथ समिति गठन गरिए पनि राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनका कारण राप्रपा पूर्ण रुपमा सो समितिलाई नमान्ने अवस्थामा पुगेको बताइएको छ । समितिले आह्वान गरेको कार्यक्रमको नेतृत्व गर्न दुर्गा प्रसाइँलाई तोकिएको अवस्था थियो । त्यो कार्यक्रममा राप्रपाका केही नेताहरु कार्यक्रमस्थलमा पुगेका थिए भने केही गएका थिएनन् ।
यता, राजनीतिक दलहरु भने यो अवस्थालाई हिलोमा माछा मार्ने स्थिति बनाई रहन चाहेको देखिन्छ । राजा ज्ञानेन्द्र तथा राजावादीहरुमाथि दोष थोपरेर सरकार अपजसबाट बाहिर निस्कन चाहेको देखिन्छ । उक्त घटनाको सत्य तथ्य जाँच गर्नका लागि छानविन समिति बनाइने भने पनि साता बित्न लाग्दा समेत छानविन समिति बनेको छैन ।
यसरी राजाको आह्वानका कारण सरकार पक्षमा रहेका मात्र होइन कि विपक्षमा रहेका दलहरु समेत एउटै कित्तामा पुग्ने अवस्था आएको छ । सरकारमा रहेका नेपाली कांग्रेस र नेकपा (एमाले) मात्र होइनन् कि प्रतिपक्षमा रहेको नेकपा (माओवादी केन्द्र) समेत गणतन्त्रको नाममा एकै कित्तामा उभिन पुगेको अवस्था छ । दलहरु गणतन्त्रको पक्षमा देखिए पनि दलमा रहेका नेता कार्यकर्ताहरुमा भने मत भिन्नता देखिन्छ । सबैजसो दलमा राजाको विषयलाई लिएर पक्ष र विपक्षमा मत विभाजित अवस्था देखिन्छ ।
उता, राजाको आह्वान र राजावादीहरुको गतिविधिका कारण तराई केन्द्रित दलहरु आफ्नो हैसियत बचाउने पक्षमा लागेका छन् । तराई मधेस केन्द्रित दलहरूले हिजो विहीबार घोषणा गरेको संघीय लोकतान्त्रिक मोर्चा पनि सोही कारण जन्मिएको बताइन थालेको छ । मोर्चामा संघीय संसद भित्र र बाहिरका सातवटा तराई मधेश केन्द्रित दल रहेका छन् । मोर्चाको नाम संघीय लोकतान्त्रिक मधेशी मोर्चा राखिएको छ । यसअघि आठ दलको मधेशी मोर्चाको तयारी भए पनि अन्तिममा अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी भने सो मोर्चामा सामेल नहुने भएको हो ।
उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाल, महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी नेपाल, चन्द्रकान्त (सी.के.) राउत नेतृत्वको जनमत पार्टी र रेसमलाल चौधरी संरक्षक रहेको नागरिक उन्मुक्ति पार्टी यसमा रहेका छन् । संसदभन्दा बाहिर रहेका दलहरूमध्ये राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टी नेपाल, हृदयेश त्रिपाठी नेतृत्वको जनता प्रगतिशील पार्टी र वृशेषचन्द्र लाल नेतृत्वको तराई मधेश लोकतान्त्रिक पार्टी मोर्चामा सहभागी हुने भएका हुन् ।