एनआरएनएको चुनावी प्रक्रिया शुरू

Nayabimarsha (Weekly Newspaper from Nepal)

काठमाडौँ/ गैर आवासीय नेपाली सङ्घ (एनआरएनए) को चुनावी प्रक्रिया शुरु भएको छ । आगामी मे ३–५, २०२५ मा काठमाडौँमा आयोजना हुन गइरहेको एकता महाधिवेशनको नेतृत्व चयनका लागि बन्ने उम्मेदवारहरूको मनोनयन दर्ता शुल्क तोकिएसँगै यो प्रक्रिया शुरू भएको हो ।
सर्वोच्च अदालतको आदेश बमोजिम गठित उच्चस्तरीय समितिको १३ औँ बैठकले उम्मेदवार बन्नका लागि मनोनयन शुल्क निर्धारण गरेको हो । बैठकले अध्यक्ष पदको उम्मेदवार बन्नका लागि रु. सात लाख रुपियाँ शुल्क तोकेको छ । यसैगरी उपाध्यक्ष पदका लागि पाँच लाख रुपियाँ तय गरिएको छ । महासचिवको उम्मेदवार बन्न चार लाख रुपियाँ मनोनयन शुल्क तिर्नुपर्ने निर्णय भएको जनाइएको छ ।
त्यस्तै, सचिव र कोषाध्यक्ष पदको उम्मेदवारका लागि तीन–तीन लाख रुपियाँ तोकिएको छ । उच्चस्तरीय समितिकी सदस्यसचिव जानकी गुरुङका अनुसार सह कोषाध्यक्षदेखि संयोजक पदका उम्मेदवारको शुल्क रु. दुई लाख निर्धारण गरिएको छ । यसैगरी उप–संयोजकदेखि आइसिसी सदस्य बन्नका लागि एक–एक लाख रुपियाँ उम्मेदवारी दर्ता शुल्क तोकिएको गुरुङले बताइन् ।
उच्चस्तरीय समितिले यसअघि नै तीन सदस्यीय निर्वाचन समिति गठन गरी सकेको छ । वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरे संयोजक रहेको समितिमा सेवानिवृत्त मेजर डमर घले र अधिवक्ता आशिष उप्रेती सदस्य रहेका छन् । निर्वाचन समितिलाई उच्चस्तरीय समितिले सदस्यता र डेलिगेट्सको सूची बुझाएपछि औपचारिक काम अघि बढाउने जनाइएको छ ।
यसैगरी, निर्वाचन समितिलाई सहजीकरण गर्नका लागि आवश्यक कार्यविधि (टिओआर) पनि एक साताभित्र बनाउने बैठकले निर्णय गरेको छ । उच्चस्तरीय समितिले सदस्यता वितरणको समय एक साता थप गरेर अप्रिल ७ तारिखसम्म पु¥याएको छ । डेलिगेट्स (प्रतिनिधि) बन्नका लागि अप्रिल १ देखि २२ सम्म निवेदन दिन समय सीमा तोकेको छ । काठमाडौँमा डेलिगेट्स बन्नका लागि भने एक सय डलर वा सो बराबरको नेपाली रकम बुझाउनुपर्ने भनिएको छ ।
एमआइस सिस्टममा पहुँच नपाएपछि उच्चस्तरीय समितिले आफ्नै वेबसाइटमार्फत सदस्यता आह्वान गरेको हो । उक्त वेबसाइट धधध।लचलबजअि।अयm मा गएर एनआरएनएका आजीवन सदस्यहरूले पनि अनिवार्य दर्ता गर्नुपर्ने व्यवस्था गरिएको उच्चस्तरीय समितिका अध्यक्ष डा.शेष घलेले जानकारी दिनु भएको छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *