सिंहदरबारलाई समस्याको रुपमा लिएको छु

Nayabimarsha (Weekly Newspaper from Nepal)

– हिरालाल तण्डुकार (वडा अध्यक्ष ११ नं., काठमाडौं म.पा.)
(काठमाडौं महानगरपालिका वडा नं.११ का वडा अध्यक्ष हुनुहुन्छ हिरालाल तण्डुकार । बागमती सरसफाइदेखि विभिन्न सामाजिक गतिविधिमा आफ्नो वडाभन्दा पनि बाहिरसमेत सक्रिय रहँदै आउनुभएका अध्यक्ष तण्डुकार बागमती नदीको सभ्यताको राम्रो जानकारका रुपमा रहँदै आउनु भएको छ । सरकार सञ्चालनको मुख्य थलो अर्थात सिंहदरबार समेत सोही वडामा पर्ने हालको अवस्थामा वडा अध्यक्ष हिरालाल तण्डुकारसँग ‘नयाँ विमर्श’ का सम्पादक कौशल कुमार भट्टराईले गरेको साक्षत्कारको केही अंश यहाँ प्रस्तुत गरिएको छ ।)
काठमाडौं महानगरपालिका वडा नं.११ को वडा अध्यक्षमा पछिल्लो पटक निर्वाचित भएपछि के कस्ता योजना तथा कार्यक्रमहरु संचालन गर्दै आउनु भएको छ ?
– प्रजातन्त्रको पुनस्र्थापनापछिको पहिलो स्थानीय निर्वाचन अर्थात २०४९ को निर्वाचनदेखि नै वडाको काममा मेरो योगदान तथा बढी सक्रियता रहेको हो । यो वडा अन्य वडाभन्दा भिन्न प्रकारको रहेको छ । विभिन्न मन्त्रालय, विभाग तथा अन्य खालका कार्यालयहरु यो वडामा पर्ने गरेका छन् । संख्यात्मक हिसाबले हेर्ने हो भने यो वडाको जनसंख्या भन्दा पनि बढी कार्यालयहरु रहेको वडाको रुपमा चिनिने गरेको अवस्था छ । पुराना बस्ती रहेको यो वडामा हामी बाटो घाटोको विकासमा बढी केन्द्रित रहँदै आएका छौं । विकासको लागि बाटोको सुविधा अत्यावश्यक हुने भएका कारण हाम्रो वडामा बाटोको विकास प्राथमिकतामा पर्ने गरेको छ ।
महानगरपालिकाले तोकेका भन्दा नयाँ योजनाहरु वडास्तरबाट संचालन गरिँदै आएका छन् कि ?
– योजनाहरु वडाले नै बनाउने हो । हाम्रो वडामा स्थानीयबासीको मागलाई ध्यान दिएर वडास्तरको योजनाहरु बनाएर कार्य गरिरहेका छौं । मैले चाहीँ वडास्तरमा के कस्ता कार्यहरु गर्दा ठीक होला भनी स्थानीयबासीसँग आवश्यकताको विषयलाई लिएर माग गर्ने गर्दछु । यस क्रममा वडाबासीका तर्फबाट करिब एक सय वटा योजना भनौं वा मागहरु आएका छन् । तिनीहरुलाई प्राथमिकतामा राखी स्थानीयबासीको सुझाव र सल्लाहलाई मानेर गल्ली गल्लीमा बजेट छुट्याएर कार्य गर्दै आएको छु ।
तपाईको वडामा बाँदरहरुले निक्कै नै समस्या पार्ने गरेको भन्ने छ, त्यसका लागि कुनै छुट्टै योजना संचालित छन् ? छन् भने के हुन् ?
– वडा कार्यालय रहेको स्थानमा बाँदरहरुको बसोबास रहेको थियो । लकडाउनको समयमा बाँदर, कुकुर, परेवा जस्ता जीवजन्तुको अवस्था देखेर म चिन्तित भएँ किनकि मानिसका लागि त राहत वा खानपानको व्यवस्था गरिएला तर यिनीहरुको अवस्था के होला भन्ने मलाई लाग्यो । त्यो बेला मानिसहरु घरबाट बाहिर ननिस्कने अनि आफ्नै खानपानको व्यवस्था गर्न समेत धौ धौ पर्ने गरेको अवस्थामा ती जिवजन्तुको विजोग हुने भयो भनी मैले उनीहरुका लागि समेत भनी बजेट छुट्याउनु पर्छ भनेको हुँ ।
स्थानीय निकायलाई पछिल्लो अवस्थामा सिंहदरबार गाउँ गाउँ पुगेको भनिन्छ । संजोगले सिंहदरबार नै तपाईको वडा क्षेत्रमा पर्दछ, त्यसेले वडा अध्यक्षको रुपमा हेर्नुपर्दा सिंहदरबारलाई गौरवको रुपमा लिनु हुन्छ कि समस्याको रुपमा ?
– मैले समस्याको रुपमा लिएको छु । सिंहदरबार क्षेत्र भित्रका विभिन्न समस्याहरुलाई हाम्रो वडाले सम्बोधन गर्नुपर्ने अवस्था पनि छ । सिंहदरबार भित्रको फोहोरको व्यवथापन पनि हाम्रो समस्याको रुपमा रहेको छ । सिंहदरबारको अधिकार वडास्तरसम्म पुग्न सकोस् भनी त्यसो भनिएको हो । संविधानले पनि त्यहि परिकल्पना गरेको हो तर संघीय, प्रदेशका सांसदहरुले प्रभावकारी ढंगबाट कार्य गर्न नसकेका कारण त्यस्तो हुन भने सकेको छैन । संघ र प्रदेशले नगरेसम्म स्थानीय निकायले चाहेरमात्र पनि त्यस्तो हुन सक्दैन । उनीहरुको कार्यविधि अनुसार चल्नु पर्ने अवस्था विद्यमान रहेका कारण स्थानीय निकायले आफूलाई सिंहदरबारको अधिकारयुक्तको रुपमा प्रस्तुत गर्न सकेको छैन ।
तपाईको वडा क्षेत्रमा पर्ने माइतीघर मण्डला अनसन तथा प्रदर्शनी गर्ने स्थलको रुपमा रहेको छ, यसको विकल्प केही सोच्नु भएको छ ?
– माइतीघर मण्डला अहिले अनसनस्थलको रुपमा रहन थालेको छ । यसो हुँदा हाम्रो वडामा यसले समस्या पार्ने गरेको छ । सधैंजसो केही न केही भइरहने सो क्षेत्रमा सवारी आवागमनमा समस्या पर्ने गरेको छ । यो स्थान अनसनस्थल वा प्रदर्शनी स्थलको रुपमा रहनुमा संसद भवन अहिले नयाँ बानेश्वरमा रहनु हो । सिंहदरबार भित्र संसद भवन बनी संचालनमा आए अहिलेको माइतीघरको समस्या सिंहदरबार अगाडि अर्थात भद्रकालीतिर सर्ने देखिन्छ ।
बागमती सभ्यताको विषयबारे तपाई राम्रो ज्ञाता पनि हुनुहुन्छ, पहिलेको बागमती र अहिलेको बागमतीको अवस्थाबारे छोटकरीमा बताइदिनुस् न ?
– बागमतीको सभ्यताले आफ्नै महत्व बोकेको छ । हामी सानो हुँदा देखिने बागमतीको क्षेत्र र स्वच्छता अहिले सबै हराएको जस्तो लाग्दछ । बागमतीको समस्याको समाधानका लागि विभिन्न चरणका कार्यहरु हुँदै आएका छन् । बागमतीको सरसफाइ अभियानलाई अहिले कतिपयले बागमतीको लागि भैरहेको कार्यको रुपमा बुझ्ने गरेका छन तर त्यो मात्र पूर्ण होइन । बागमतीको सही पहिचानका लागि मलगायत हुतराम वैद्य, भैरव रिसाललगायतका व्यक्तिले विभिन्न समयमा विभिन्न किसिमबाट योगदान दिंदै आएका हौं । पछि आएर एघार वर्षअघिदेखि बागमती सफाइ अभियान चलिरहेको छ । यो अभियानसँग म पनि जोडिंदै आएको छु । बागमतीको पहिचान बचाउनका लागि बागमतीको सफाइमात्र पर्याप्त छैन । बागमती नदीमा आएर मिसिने विभिन्न अन्य नदीहरुमा सफाइ नभएसम्म बागमती नदी पूर्णरुपमा स्वस्थ हुने अवस्था छैन । यसैगरी यस क्षेत्रमा रहेका अव्यवस्थित बसोबासलाई व्यवस्थित गराउनुपर्ने अवस्था छ ।
विभिन्न चाडपर्वहरुलाई समेटेर कार्तिक २८ गते तुचा कार्यक्रम राख्नु भएको रहेछ, यस कार्यक्रमका विषयमा केही प्रकाश पारी दिन सक्नु हुन्छ ?
– यो कार्यक्रम राखिएको छ । यो कार्यक्रम काठमाडौंका नेवार समुदायको संस्कृतिसँग जोडिएको छ । नयाँ वर्षको रुपमा नेवारी समुदायले न्हुदँया भिंःतुना मनाउने गरेका छौं । यो कार्यक्रम पञ्चायत कालमा आपूmहरुलाई अराष्ट्रिय तत्व भनिने बेलादेखि नै मनाउँदै आएका हौं । त्यो बेलामा हामीलाई आफ्नो पर्व मनाउन समेत नदिने गरिएको थियो । हामी सहभागी हुने कार्यक्रम भनी पञ्चायती व्यवस्थाका पक्षधरहरुले त्यो बेला खासै कार्यक्रमहरु गर्न नदिने गरेका कारण हामीले चिया विस्कुट मात्र खुवाएर यो कार्यक्रम गर्ने गरेका थियौँ । पछि प्रजातन्त्र आएपछि भने यो कार्यक्रमलाई हामीले खुलेर तथा अलि भव्य रुपमा मनाउने गरेका छौं । कार्तिक २८ गते पनि यसलाई भव्य रुपमा मनाउने तयारीमा छौं । हाम्रो वडाले यस कार्यक्रमलाई पछिल्ला वर्षहरुमा जस्तै निरन्तरता दिने भएको हो । यस कार्यक्रमलाई सफल पार्नका लागि सबै निम्तालुहरुलाई कार्यक्रममा सहभागिता जनाई दिनु हुन अनुरोध पनि गर्दछु । यसैगरी नेपालीको महान् चाड दीपावली, छठ पर्व लगायतका चाडपर्वहरुको उपलक्ष्यमा सबैमा शुभकामना पनि दिन चाहन्छु ।

 

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *