ललिता शर्मा
१.विषय प्रवेश
शिक्षाको विकास मानव सभ्यताको विकाससँगै भएको पाइन्छ । मानव सभ्यताको विकासको आधारमा शिक्षाको विकासलाई व्याख्या गर्न सकिन्छ । प्राचीनकालमा पनि शिक्षाको महत्व निकै थियो । विद्या अर्थात् शिक्षा आर्जन नगर्ने वा गर्न नचाहने व्यक्तिलाई पशुसँग तुलना गरिन्थ्यो । संस्कृत भाषामा विद्याविहीन ः पशु भन्ने उक्ति अहिले पनि चर्चित छ ।
प्राचीनकालमा प्रचलित शिक्षा
परापूर्वकालदेखिनै आफ्ना सन्तानलाई अभिभावकले असल, योग्य, सक्षम, प्रतिस्पर्धी बनाउन प्रयत्न गरिन्थ्यो । घर (गृह) छोडेर गुरुकुल पठाउने गरेको हामी महाभारत लगायत अन्य ऐतिहासिक ग्रन्थहरूमा पढ्ने र सुन्ने गरेका छौं । द्वापर युगमा कौरवहरू र पाँच पाण्डवलाई गुरुकुलमा गुरु द्रोणाचार्यले धनुर्विधाका साथैं संस्कारयुक्त शिक्षादीक्षा दिएको महाभारतमा पढ्न सकिन्छ । त्यस्तै त्रेतायुगमा भगवान रामचन्द्र र लक्ष्मणलाई गुरु विश्वामित्रले प्राचीनकालको धनुर्विद्या सिकाएका थिए । त्यस्तै गुरु विश्वामित्र ऋषिले धनुर्विद्याका साथै राजपाठ सम्बन्धी ज्ञान दिएका थिए ।
यो २१औं शताब्दी हो । अहिले नेपालमा पूर्व प्राथमिक शिक्षामा कूल भर्नादर ८४ दशमलव ७ प्रतिशत पुगेको छ । प्रारम्भिक बाल विकासको अनुभवसहित कक्षा १ मा भर्ना हुने बालबालिकाको प्रतिशत ६६ दशमलव ९ प्रतिशत पुगेको छ । अहिले सन्तानलाई राम्रो शिक्षा दिन हरेक अभिभावकले आफ्नो क्षमताले भ्याएसम्म राम्रो विद्यालय छनोट गर्ने होडबाजी देख्न सकिन्छ । आजको बदलिँदो समयमा चलायमान समयभित्रको सीमित पाठ्यक्रमले मात्र दैनिक जीवनलाई आवश्यक पर्ने जीवनोपयोगी सीप र पर्याप्त ज्ञान दिन सक्दैन । फलस्वरुप उच्च शिक्षाको डिग्रीसम्म हासिल गरेका युवा युवति पनि व्यावहारिक ज्ञान र सीपमा अनभिज्ञ छन् । हुर्किएका सन्तानहरु समाजमा घुलमिल हुन असहज भइरहेको महसुस कतिपय अभिभावकले गरेका पनि छन् । यस्तो अवस्थाबाट मुक्त हुन हामी (अभिभावक) ले बालबालिकालाई सानैदेखि व्यावहारिक र समयसापेक्ष ज्ञान एवं बालसाहित्य पढ्ने अवसर प्रदान गरी दिनुपर्छ ।
२. नेपाली भाषा र बालसाहित्य
प्राचीनकालमा लिखित साहित्यको विकास हुनुअगाडि हाम्रा पुर्खाले लोकसाहित्यको एक लामो र सुदृढ परम्पराको विकास गराएको पाइन्छ ।
आफ्ना बालबालिकालाई औपचारिक शिक्षाप्रणालीको विकास हुनुअघि लोकगीत, लोककथा, गाउँखानेकथा, लोककविता लगायत उखान टुक्का समेत प्रयोग गरेर घरमै शिक्षा दिने परम्परा थियो । संयुक्त परिवारमा हजुरबुबा हजुरआमाबाट लोककथा, गाउँखानेकथाहरु बालबालिकाले सुन्न पाउँथे । अहिले संयुक्त परिवार एकलमा परिणत भएको छ । त्यसैले बालसाहित्यको महत्व झन् बढेको छ ।
२१औं शताब्दीमा आइपुग्दा पनि बालसाहित्यको महत्व र उपयोगिता झन्–झन् सान्दर्भिक हुँदै आएको छ । अहिले नेपालभित्र र बाहिरि मुलुकमा प्रकाशित भइरहेका बालसाहित्य सम्बन्धि सिर्जनाले पनि यसको पुष्टि गर्दछन् ।
३. पाठ्य बालसाहित्यको इतिहास
नेपाली भाषामा पाठ्य बालसाहित्यको लेखनक्रम धेरै ढिला शुरु भएको हामी पाउँछौँ । राणा शासनकालमा राजनीतिक निरङ्कुशता चरम सीमामा थियो, जसको फलस्वरुप शिक्षामा लगाइदिएको बन्देजले पाठ्य बालसाहित्यको लेखनक्रम अत्यन्त ढिलो शुरु भएको पाइन्छ । बालबालिकालाई औपचारिक शिक्षा दिनकालागि पुस्तकको अभाव महसुस गर्दै वि.सं.१९४० मा गङ्गाधर द्रविडले गोर्खा पैह्ल किताब (भाग १) बाल पाठ्यपुस्तकको नाममा निकालेको अहिलेसम्मको खोज र अन्वेषणले देखाउँछ या भनौ यस पुस्तकले पहिलो पुस्तक हुने अवसर प्राप्त गरेकोछ । प्रधानमन्त्री देवसम्सेरले वि.सं. १९५८ मा पहिलो पल्ट विद्यालयको स्थापना गरेपश्चात नेपाली भाषामा पाठ्यसामग्रीको आवश्यकता महसुस गरियो । जय पृथ्वीबहादुर सिंह (१९३४–१९४७) ले आफ्नो प्रयासलाई केन्द्रित गरे । बालबालिकालाई उपयोगी हुने विविध बिषयका पाठ्यपुस्तक तयार गर्ने राजा पृथ्वीबहादुर सिंहको योगदान इतिहासमा अविस्मरणीय र अद्वितीय छ । यस प्रकार पाठ्य बालसाहित्य तयार गर्ने कार्य वि.सं. १९४९ मा शुरु भई निरन्तर रूपमा भैरहेको छ ।
४ बालसाहित्य
सामान्य अर्थमा भन्नुपर्दा बालसाहित्य भन्नाले बालबालिकाका बारेमा लेखिएका र बालबालिकाले आफैंले लेखेका बालसाहित्यका पुस्तक भन्ने बुझाउँछ ।
प्रसिद्ध अमेरिकी बालसाहित्यकार श्री मेयर्स (ःथभचक) का अनुसार ‘वास्तविक अर्थमा बालबालिकाले बाल पाठ्यपुस्तकलाई ऐना र नक्सा वा चित्रका रूपमा देख्दछन् । यतिमात्र होइन आफ्नो गन्तव्यको खोजी पनि यसैंबाट गर्छन् । दिइएको कथाबाट उनीहरू जीवनको सृजना गर्छन् र नयाँ विश्वको रचना गर्छन् । उनीहरू त्यसलाई एटलस हेरै झैं हेरेर पढेर आपूm जाने बाटो तय गर्छन् र अरुसंँग सम्बन्ध स्थापित गर्छन् ।
आजका बालबालिका विश्वको आर्थिक समस्या, सह–सम्बन्ध र जटिलताको सामना कसरी गर्ने भन्ने कुराको वोध समेत यसबाट थाह पाउँछन् । यसरी आफ्नो जीवनको बाटो कसरी सकारात्मक र मूल्ययुक्त बनाउने कुरा पनि यस प्रकार प्राप्त गर्छन् ।‘ (ःथभचक, द्दण्द्दद्ध,उ द्द)
सहज तरिकाले वास्तविक रुपमा भन्नुपर्दा विद्यालयको पाठ्यक्रमलाई आधार नमानी स्वतन्त्रतापूर्वक लेखिएका बाल पुस्तकहरु नै बालसाहित्य हुन् ।
५ बालसाहित्यका विधा र बिषयहरु व्यापक
(यथार्थमूलक, कल्पनापरक र अन्य )
– लोकसाहित्य लोककथा, परिकथा, दन्त्यकथा, नैतिककथा, पशुका, गाउँखानेकथा, भूतप्रेतका कथा, पुराणका कथा, लोकगीत, लोककविता, उखान टुक्काका कृतिहरु ।
– बालगीतहरू, गणितका गीतहरू, अक्षर चिनारी गीतहरू, लोरीगीतहरू, भजनगीतहरु आदि ।
– विज्ञानकथा र उपन्यास ।
– रहस्य र जासुसी कथा र उपन्यासहरू
– विश्वसाहित्यका उत्कृष्ट कथा र उपन्यास आदिका सरलीकृत र सङ्क्षेपीकृत कथा र उपन्यासहरु
– गैह्रसाहित्यक ग्रन्थहरू खासगरी बिषयगत, जस्तैंः रुख, बिरुवा, फूल, डाइनोसोर, जलचर, नभचर, सौर्यमण्डल आदिका बारेमा लेखिएका रङ्गीन चित्रमय पुस्तकहरू ।
– आधुनिक पुस्तकहरूः आवाज निकाल्ने, बोल्ने र गाउने पुस्तकहरू, चल्ने पुस्तकहरू, थ्रीडी पुस्तकहरु आदि ।
– बाल सन्दर्भ ग्रन्थहरू ः चित्रमय, शब्दकोश, विश्वकोश, सामान्यज्ञानका पुस्तकहरू आदि ।
– जीवनी, आत्मकथाहरू, चिठीपत्र, संस्मरणहरू, दैनिकीहरू र यात्रा संस्मरणहरू आदि
– इतिहास, भूगोल, वर्णन, तथा भ्रमणका पुस्तकहरू ।
– ऐतिहासिक कथा, हास्य कथा, चुट्किला, खेल, कला, तथा साहसका कथाहरु ।
– कथा, उपन्यास, कविता, नाटक, गीत, गजल, आदिका पुस्तकहरू ।
– अति काल्पनिक (ँबलतबकथ) कृतिहरु ।
६ बालबालिकाको सिक्ने स्थानः
आमाको गर्भ, परिवार र विद्यालय, बालपुस्तकालय
७. बालबालिकाको सिक्ने उमेर
गर्भ ः बच्चाले आमाको गर्भबाट नै सिक्न र बुझ्न थाल्छ भन्ने कथनलाई पुष्टि महाभारतको एउटा घटनालाई लिन सकिन्छ । महाभारतका पात्र अभिमन्यू निकै वीर थिए । आमाको पेटमा भएको अवस्थामा अर्जुनले महाभारतको युद्धमा चक्रव्यूह भित्र कसरी प्रवेश गर्ने भन्ने विधि सुनाउँदै थिए तर अभिमन्युकी आमा निदाउँछिन् । आमा निदाएको कारण चक्रव्यूहबाट बाहिर निस्कने उपाय अभिमन्यूले सुन्न नपाउँदा उनको युद्धमा मृत्यु भएको कथाबाट पनि बच्चाले आमाको गर्भबाट सिक्छ भन्ने प्रमाणित गर्छ ।
परिवार ः आमा बुबा र घरपरिवार नै बालबालिकाको पहिलो पाठशाला हो । जन्मेपछि बच्चाले आफ्ना परिवारका सदस्यबाट सिक्न थाल्छ । परिवारबाट नै अनेकौ कुरा सिक्नुको साथै कथाहरु सुन्छ, बालगीत, लोरी, बालकविता सुन्दै अनुशरण समेत गर्न थाल्छ ।
विद्यालय ः विद्यालय जाने उमेर पुग्नासाथ बालबालिका औपचारिक शिक्षा लिन विद्यालयजानेगर्छन्। विद्यालयमा पाठ्यपुस्तकका साथै अन्य कथा, कविता, बालगीतका किताब र अन्य अतिरिक्त क्रियाकलापद्वारा विद्यार्थीलाई ज्ञानको साथै कला र सीप सिकाइन्छ । एउटा अनुसन्धानले ५ प्रतिशत बालबालिकालाई विद्यालय गएको पहिलो र दोस्रो बर्षको अन्त्यसम्ममा पढ्ने कला र सीप सिकाउन सकिन्छ ।
बालपुस्कालय, गर्भ, परिवार, पुस्तकालय र विद्यालय आदिबाट क्रमशः उमेर अनुसार सीप र कला सिक्ने प्रक्रिया शुरु हुन्छ मानिसको जीवनमा । विद्यालय जानुभन्दा पहिले नै बच्चाहरू आफ्ना परिवारका सदस्यसँग १ देखि ३ वर्षका बालबालिका पुस्तकालय पुगी सकेका हुन्छन् । आफ्ना उमेरका बालबालिका साथीभाइसँंग बसेर चित्रकथाहरू पल्ट्याउन थाल्छन् । त्यसैले भनिन्छ परिवार पछिको दोस्रो पाठशाला पुस्तकालय हो । ३ देखि ४ बर्षभन्दा माथिका बालबालिकाहरु विद्यालमा गई औपचारिक शिक्षा लिन थाल्छन् । यसरी विद्यालय, कलेज, विश्वविद्यालय आदि गएता पनि हरेक बालबालिका वा युवा वा प्रौढ सबैलाई जीवनमा नयाँ नयाँ सीप, कला सिक्नको लागि निरन्तर रुपमा पुस्तकालय जानुपर्ने हुन्छ ।
८ . पठनसंस्कृति तथा बालसाहित्यको विकासमा अभिभावकको भूमिका ः
आजको डिजिटल युगमा बालबालिकामा पढ्ने बानी बसाल्न निकै चुनौतीपूर्ण छ । पहिलेको सापेक्षतामा डिजिटल युगका बालबालिका निकै चलाख र फुर्तिला छन् । ठूलामान्छेभन्दा आधुनिक सूचना र सञ्चार प्रविधिका सेवा सुविधाहरू इन्टरनेट र सामाजिक सञ्जाल प्रयोग गरी आफूलाई मनपर्ने र आवश्यक श्रव्य, दृश्य र श्रव्यदृश्य आदि सामग्रीको उपयोग गर्छन् । आजकलका बालबालिकामा आत्मबल उच्च हुन्छ । यसकारण उनीहरूको सीप र क्षमतालाई नजर अन्दाज नगरिकन अत्यन्त सावधानीका साथ अभिभावकले पठनसंस्कृतितिर लोभ्याउनु पर्छ । उनीहरूलाई पठनसंस्कृतिमा लोभ्याउनको लागि विभिन्न थरीका विभिन्न विधाका रमाइला र आकर्षक पाठ्य सामग्री घरमा उपलब्ध गराइदिनुपर्छ । अभिभावक स्वयम्ले पनि मोबाइल फोनको मोह छोडेर पुस्तक पढ्ने गरेमा बालबालिका बिस्तारै अभिभावकको सिको गर्दै पठनसंस्कृतिमा आकर्षित हुँदैं पठनसंस्कृतिको विकास हुन्छ ।
बालसाहित्यको आजको अवस्था ः
१४५ बर्षको अवधिमा आज गएर बालसाहित्यको अवस्था सकारात्मक र आशावादी छ । कछुवा चालको गतिले पढेपनि हामी पछि परेका छैनौं, अन्तर्राष्ट्रियस्तरमा हाम्रा पुस्तक र लेखक आइरहेका छन् । सोच्नुपर्ने कुरा यो छ कि हामीले फेसबुकमा पुराना नाम चलेका लेखकका किताब पढ्ने र समीक्षा लेखेर आफूलाई राम्रो साहित्यकार स्थापना गर्न खोज्छौँ तर बालसाहित्यका पुस्तक पढेर आफ्नो विचार राख्ने कमै गर्छौं । बालसाहित्य बालबालिकाको लागि मात्र नभएर अभिभावक लागि पनि हो भन्ने हामी सबैले बुझ्नु पर्छ ।
आजको अवस्थामा बालसाहित्यलाई निम्न लिखित चरणमा राखिएको छ ।
गर्भअवस्था (पेटमा बच्चा हँुदादेखि नै आमाले राम्रा राम्रा पुस्तक पढ्ने)
१ देखि ३ सम्म शब्दविहीन चित्रपुस्तकद्वारा सिकाइ ।
३ देखि ६ सम्मका बालबालिकालाई वर्ण चिन्ने पुस्तक, शब्द, सानासाना वाक्य सहितका चित्रपुस्तक ।
६ देखि ९ सम्मका बालबालिकालाई पाठ्य पुस्तकका साथै विभिन्न कथा, कविता, र बालगीतका रमाइला चित्रपुस्तकहरू देखाउँदै चित्र वर्णन र छलफलबाट सीप र कला सिकाइ प्रोत्साहन ।
– अभिभावकले पठनसंस्कृतितिर बालबालिकालाई डो¥याउन सर्वप्रथम मोबाइल फोनको मोह स्वयम् आफूले पहिले छोड्नुपर्छ ।
– पाँच वर्षसम्म आफ्ना बालबालिकालाई बढी समय दिनुपर्छ ।
– ठूला मानिसलाई शक्ति र पैसा प्राप्तीमा जति खुशी मिल्छ बालबालिकाहरुलाई पहिलो पाइला चाल्दा, पहिलो अक्षर पढ्दा, चित्र कोर्न सिक्दा, गीत गाउन सिक्दा र नाँच्न जान्दा धेरै खुशी मिल्छ । बच्चाका यस्ता साना साना सफलताले भविष्यलाई उज्ज्वल बनाउन सक्छ । अतः हामी अभिभावकले पठनसंस्कृतितिर लोभ्याउन, डो¥याउन आफूले नजिकबाट बालसाहित्यलाई बुझ्नुपर्छ । बालसाहित्यमा रमाउन सिक्नुपर्छ ।
– आजभोली निजी विद्यालयको साथै सरकारी विद्यालले बालसाहित्यलाई महत्वपूर्ण स्थान दिँदै विद्यालहरुमा बालपुस्कालयको व्यवस्था गरेको छ ।
अतः हामी कमजोर छैनौं । पठनसंस्कृतिको विकासको लागि माथिल्लो तहदेखि विद्यालय, संघ–संस्थाबाट विभिन्न कार्यक्रम गोष्ठी, अन्तरक्रियाहरु भैंरहेका छन् । मात्र एउटा कुरामा हामीले ध्यान दिनुपर्ने देखिन्छ चित्रपुस्तक पढेपछि त्यो बीचमा कस्तो किसिमको पुस्तकहरु दिनुपर्ने पुस्तकको कमी छ । यसको पहल पनि भैंरहेको छ ।
हाम्रो पठनसंस्कृति अभियानले सफलता पाओस् ।
जय साहित्य । जय बालसाहित्य ।
(लेखिका शर्मा पूर्वशिक्षिका भई हाल विभिन्न सामाजिक क्षेत्रमा सक्रिय रही बालसाहित्य तथा बालबालिकाका लागि गरिने तालिम आदिमा सक्रिय हुनु हुन्छ)