काठमाडौं/नेपाली काँग्रेस सभापति शेरबहादुर देउवाले पार्टीको कोषाध्यक्षमा उमेश श्रेष्ठलाई मनोनित गरेका छन् । काँग्रेसको १५औं महाधिवेशन आउन एक वर्ष बाँकी हुँदा श्रेष्ठ कोषाध्यक्षमा मनोनित भएका हुन् ।
पार्टीको १३औं महाधिवेशनबाट सीतादेवी यादव कोषाध्यक्ष बनेकी थिइन् । त्यसपछि १४औं महाधिवेशन भएको तीन वर्ष वितिसक्दा पनि काँग्रेसमा कोषाध्यक्ष पद खाली रहेको थियो । विधानले काँग्रेसको महाधिवेशन विशेष परिस्थिति बाहेक चार वर्षमा गर्नुपर्ने व्यवस्था गरेको छ ।
काँग्रेसमा संस्थापनइतर पक्षका नेताहरु जतिसुकै उफ्रिए पनि र नडराए पनि सभापति देउवाको अगाडि नतमस्तक बन्नुपर्ने अवस्था छ । काँग्रेस महामन्त्री गगनकुमार थापाले सभापति देउवासँग हिमचिम बढाएपछि इतरपक्ष कमजोर बनेको चर्चा चलेको छ । पार्टीको विधान अनुसार देउवाका लागि सभापति पदमा रहने यो अन्तिम कार्यकाल हो ।
लिटिल एञ्जल स्कूलका संस्थापक अध्यक्ष समेत रहेका श्रेष्ठ व्यवसायी पनि हुन् । उनले होटल डेल अन्नपूर्ण लगायत विभिन्न क्षेत्रमा लगानी गर्दै आएका छन् । गत २०७९ को निर्वाचनमा श्रेष्ठ चितवन–२ बाट चुनावमा होमिएर राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेसँग पराजित बनेका थिए । दुईपटक संविधानसभा सदस्य भै स्वास्थ्य राज्यमन्त्री समेत उनी बनेका थिए ।
उनको कृषि, हस्पिटालिटी, हाइड्रो, अस्पताल व्यवसायमा र होटल तथा रिसोर्टमा लगानी रहेको समाचार सूत्रले जानकारी दिइएको छ । काँग्रेसमा नेताहरु धनी र पार्टी गरिब रहेको अवस्थामा श्रेष्ठलाई पार्टीको आर्थिक पक्ष हेर्ने जिम्मेवारी पनि दिइएको छ । व्यावसायिक पृष्ठभूमिका धनी व्यक्तिलाई काँग्रेसको कोषाध्यक्षमा मनोनित गरेपछि पार्टी गरिब नबन्ने अडकल काँग्रेसवृत्तमा गरिएको छ ।
नेतृत्व र नेता जे जस्तो भए पनि पार्टी सबल र मजबुत बन्नुपर्ने काँग्रेसजनहरुको मत रहेको छ । आगामी दिनमा काँग्रेसको आर्थिक कोष बलियो हुने आशा एवं विश्वास पनि गरिएको छ । श्रेष्ठ गत मंसिर ९ गते कोषाध्यक्षमा मनोनित भएका हुन् ।