काठमाडौ । गत मंसिर १० गते बसेको मन्त्रिपरिषद्को बैठकले नेपाल धितोपत्र बोर्डको अध्यक्षमा स्याङ्जा घर भै हाल बुटवलमा बसोबास गर्दै आएका सन्तोष नारायण श्रेष्ठलाई नियुक्त गरेको छ ।
गत २०८० साल पुस २० गतेदेखि धितोपत्र बोर्ड नेतृत्वविहीन बन्दै आएको थियो । तात्कालिन अध्यक्ष रमेश हमालको दुई वर्षे कार्यकाल पूरा भएपछि बोर्डको अध्यक्ष बन्न रस्साकस्सी चल्दै आएको थियो । तात्कालिन प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकारका पालाका अर्थमन्त्री बर्षमान पुनको पालामा धितोपत्र बोर्डको अध्यक्ष बन्न ५ अर्ब रुपियाँको चलखेल भएको आरोप लागेको थियो ।
धितोपत्र बोर्डको अध्यक्ष प्रकरणले आफ्नो सरकार ढलेको नेकपा (माओवादी केन्द्र) का अध्यक्ष दाहालले आरोप पनि लगाएका छन् । बोर्डको अध्यक्ष नियुक्तिमा ठूला कर्पोरेट घरानाहरु शंकर गु्रप र विशाल गु्रपले मुक्तिनाथ श्रेष्ठलाई लविङ गरे पनि सफल हुन सकेनन् । प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओलीले चासो राखी अघि सरेको डा. नवराज अधिकारी पनि पर्न सकेनन् ।
व्यावसायिक पृष्ठभूमिका श्रेष्ठ अर्थमन्त्री विष्णुप्रसाद पौडेलको निर्वाचन क्षेत्रका बलियो जानकार भएका व्यापारी भएकाले श्रेष्ठलाई जसरी पनि धितोपत्र बोर्डको अध्यक्ष बनाउनुपर्ने नत्र २०८४ को चुनावमा अर्थमन्त्री पौडेल निर्वाचन हार्ने संभावना रहेको जानकारहरुले बताएका छन् । अर्थमन्त्री पौडेल र नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाकी पत्नी एवं परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाको स्वार्थ मिलेपछि श्रेष्ठले दुईजना प्रतिस्पर्धीहरुलाई पछार्न सफल भएको समाचार श्रोतले जानकारी दिएको छ ।
अब ११ महिनादेखि रोकिएको बोर्डका धेरैवटा काम अघि बढ्ने बताइएको छ । आइपीओ निष्कासनका लागि हाल बोर्डको पाइपलाइनमा ७७ वटा कम्पनी रहेकाले तिनले स्वीकृत पाउने बताइएको छ । यसबाहेक ऋणपत्र– म्युचुयल फण्ड तथा हकप्रद निष्कासनको कार्यसमेत रोकिएको अवस्थामा अघि बढ्ने बताइएको छ । ५ अर्बको खेल प्रकरण भएको भनिएको धितोपत्र बोर्डको अध्यक्ष पद अब कसरी अघि बढ्ने हो त्यो भने हेर्न बाँकी नै छ ।