भक्तपुर/ यही मंसिर १६ गते उपचुनाव हुने भएको छ । स्थानीय निकायहरुमा रिक्त रहेका विभिन्न स्थानहरुका लागि हुने उक्त उपचुनावलाई लिएर जनमतसंग्रह’ जस्तै भन्न थालिएको छ । यो उपचुनावमा विभिन्न दलहरु आ–आफ्नै हैसियतमा चुनावमा होमिने वातावरण बनेका कारण पनि यसले को कति पानीमा छ भन्ने देखाउने अवस्था रहन्छ । केही स्थानमा मात्र दलहरुले गठबन्धन गरे पनि त्यसले समग्रमा खासै असर नपार्ने अवस्था देखिन्छ । यो उपचुनावमा विभिन्न व्यक्तिहरुले स्वतन्त्र रुपमा समेत उम्मेदवारी दिएका छन् । यसैगरी अघिल्लो स्थानीय निर्वाचनमा गठन नै नभएको राष्ट्रिय स्वतन्त्र पार्टीले समेत कतिपय स्थानहरुमा उम्मेदवारी दिएका कारण नयाँ भनिने दलहरुको अवस्था पनि यसले स्पष्ट गर्ने अवस्था देखिन्छ ।
यो उपनिर्वाचनलाई मुख्य दलहरुले आफ्नो प्रतिष्ठाको विषय बनाएका छन् । सरकारमा रहेका नेपाली कांग्रेस, नेकपा (एमाले) ले सबैजसो स्थानमा छुट्टाछुट्टै उम्मेदवारी दर्ता गराएका छन् । सरकारमा साझेदारी गरे पनि उनीहरुले कुनै किसिमको गठबन्धन नगरी उम्मेदवारी दिएका कारणले यो निर्वाचनमा दलहरुको हैसियत जाँचिने अवस्था छ ।
पुराना दलहरुको अवस्था एकदमै कमजोर बनेको भन्ने भाष्य स्थापित गराउन राष्ट्रिय स्वतन्त्र पार्टी लागिपरेको छ । यसैगरी स्वतन्त्र उम्मेदवारका रुपमा यसअघि जितेका काठमाडौं महानगरपालिकाका प्रमुख वालेन साह, धनगढी र धरान उपमहानगपालिकाका प्रमुखहरुको लोकप्रीयता बढेका कारण पनि अहिले विभिन्न व्यक्तिहरु स्वतन्त्र उम्मेदवारीको पक्षमा देखिएका छन् ।
नयाँ दलहरुले पनि आफूलाई स्थापित गराउने माध्यमका रुपमा यही उपनिर्वाचनलाई बनाएका छन् । खासगरी रास्वपाले पनि यो निर्वाचनलाई आफ्नो अनुकुलको अवस्थामा ढाल्न चाहिरहेको देखिन्छ । रास्वपाले आफ्ना सभापति रवि लामिछानेलाई सहकारीको रकम अपचलन काण्डमा हिरासतमा राखिएको विषयलाई पनि उठाउन चाहिरहेको छ । उपचुनावमा रास्वपाले लामिछाने हिरासतमा रहेको कुरालाई मसला बनाउन चाहिरहेको देखिन्छ ।
रास्वपाले गत स्थानीय निर्वाचनमा उम्मेदवारी दिन नपाएको अवस्थामा यो निर्वाचनलाई उपयोग गर्न चाहेको देखिन्छ । यो बेला रास्वपाले आफ्ना प्रतिकुलका काण्डहरुलाई अवसरका रुपमा लिन चाहिरहेको देखिन्छ ।
रास्वपाले यो अवसर बनाउन चाहिरहेको स्थितिमा पुराना दलहरु खासगरी नेपाली कांग्रेस, नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) ले भने रास्वपा लगायत नयाँ दलहरुलाई देखाउने अवसरका रुपमा यो उपनिर्वाचनलाई परिणत गर्न चाहिरहेको देखिन्छ । उनीहरुले जसले जे भने पनि नयाँका कुरामात्र हो, गर्ने भनेका पुरानै हुन् भन्ने मान्यता स्थापना गर्न चाहिरहेका छन् ।
यो बेला ठूला दलहरु अग्निपरीक्षामा रहेको देखिन्छ । उनीहरुले विगतमा गठबन्धनका कारण हार र जितलाई मान्यता दिइएको भन्ने कुरा यसअघि आएकाले त्यसलाई प्रतिस्थापन गराउनका लागि पनि यो निर्वाचनमा ठूला दलहरु आफ्नो जितलाई स्थापित गराउन चाहन्छन् । यो निर्वाचनमा ठूला दलहरुले विजयको माला पहिरिन पाए भने भोलिका दिनमा नयाँलाई विस्थापित गराउनका लागि यो निर्वाचन परिणाम उपयोगी हुने देखिन्छ ।
पछिल्लो अवस्थामा विभिन्न दलहरु मिसन २०८४ भनी आगामी निर्वाचनमा केन्द्रित भैरहेको अवस्था छ । यसो हुँदा त्यो मिसनमा पुग्नका लागि पनि यो निर्वाचन सबै दलहरुका लागि अग्निपरीक्षाको रुपमा रहन जाने देखिन्छ । यो कुरालाई स्थापित र विस्थापित गराउने खेलमा दलहरुका बीचमा प्रतिस्पर्धा चलिरहेको छ ।
यो उपनिर्वाचनको सन्दर्भमा स्वतन्त्र उम्मेदवारहरुको भीड लागेको देखिएको छ । खासगरी कीर्तिपुर न.पा.को प्रमुख तथा अन्य स्थानका प्रमुख र अध्यक्षको हकमा स्वतन्त्र उम्मेदवारहरुको भीड देखिएको छ । कीर्तिपुरको चुनावमा धरानका प्रमुख हर्क साम्पाङ आएर आफ्नो समर्थन कसैलाई रहेको भनी प्रचार प्रसारमै होमिएको पाइएको छ ।
उता, कतिपयले भने बालेनको उम्मेदवार भनी आफूलाई प्रचार गर्नेहरुको लर्को लागेको छ ।
उपचुनाव ‘जनमतसंग्रह’ जस्तै: दलहरुको अग्निपरीक्षा, स्वतन्त्रको भीड
Facebook Comments Box