कविताः हल्ला नगर

Nayabimarsha (Weekly Newspaper from Nepal)
छवि वैरागी घिमिरे

हतार नगर…
टुप्पामा पुग्न अग्ला रुखहरूका
ट्वार… ट्वार पनि नगर
शत्रुहरू उम्रन्छन् घोक्रो फुलाउँदा
वरिपरि छन् दुलामा लुकेका गोमन सर्पहरू
डस्दै छन् विदेशीहरूले घर छोडेका ओछ्यान
खोस्रँदै छन् कसैका घु¥यान भालेहरू
उराल्दै छन् ग्राहक ठग पसलेहरू
ओ ! भ्यागुताहरू हो ! कुवाबाट हल्ला नगर

किल्ला किल्लामा उत्पात छ गर्मी
मान्छेले मान्छे बन्न बिर्सिएका बेला
ओकलेको छ आकाशले पनि आगो
धर्तीले गर्भधारण गर्ने समयमा
विष निस्किएको छ विवेकका खलेगरामा
यस्तो समयमा ताराकासुरहरू विद्वान् बन्छन्
रावणहरू राम बन्छन् अनि शूपर्णखाहरू सीता बन्छन्
यो नाम बेचेर पैसा असुल्ने समय हो
ओ ! भ्यागुताहरू हो ! कुवाबाट हल्ला नगर ।

टाँगेका छन् चोक चोकमा भ्रमका पर्दा
आँखाले आँखा नदेखेको बेला
चरित्र गन्हाएको छ घरघरमा
साँझले दिन निल्न नपाउँदै सर्वाङ्ग नाङ्गो छ
दिनले अस्तित्व छोड्न नपाउँदै उदाङ्गो छ
दुर्गन्धहरू यहीँ वरिपरि छन्
निचोर्दै छन् कसैका कागती, निबुवा
लाज पनि लजाएको बेला चुप लाग हल्ला नगर
भतुवाहरू भाग्न सक्छन्
ओ ! भ्यागुताहरू हो ! हल्ला नगर।

उदेक लाग्छ मुर्दा बेच्ने दलाल देख्दा
श्वासप्रश्वास कहिले बन्द हुन्छ
अनि दोकान राखूँ मुर्दाहरूको
उता कुरिरहेछ्न् सडकमा मलामीहरू
कुर्लिरहेछ्न् अवसर नपाएका दलालीहरू
नपाउनेले केरा पाए जस्तो
कण्डम बनेका जिउँदा नामहरूले
मुर्दा हुँदा पनि धर पाएका छैनन्
यहाँ दलाली र मलामीले लुछ्न थालिसके चिता
यस्तो डरलाग्दो समयमा
ओ ! भ्यागुताहरू हो ! हल्ला नगर ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *