अग्निपरीक्षामा राजनीतिक दलहरु : ओली क्षेत्रमा सीमित, कांग्रेस–रास्वपामा उत्साह

Nayabimarsha (Weekly Newspaper from Nepal)

भक्तपुर/ यही फागुन २१ गते हुने भनिएको प्रतिनिधिसभाको निर्वाचनको तयारी अन्तिम चरणमा पुगेको छ । विभिन्न राजनीतिक दलहरुबाट उम्मेदवार बनेका तथा स्वतन्त्र उम्मेदवारहरु आफ्नो राजनीतिक भविष्यको लागि अग्निपरीक्षामा रहेका छन् । राजनीतिक दलहरुले नचाहिरहेको अवस्थामा यो निर्वाचन हुन गैरहेको विश्लेषण हुँदै आएको छ । हरेक पाँच–पाँच वर्षमा आवधिक निर्वाचन हुनुपर्ने संवैधानिक व्यवस्था छ । यस क्रममा नेकपा (एमाले) का अध्यक्ष खड्गप्रसाद शर्मा ओली प्रधानमन्त्री रहेका बेलामा दुई दुई पटक प्रतिनिधिसभा विघटन गर्नु भएको थियो । त्यो बेला प्रतिनिधिसभालाई अन्तिम विकल्प रहेसम्म विघटन गर्न नपाइने संवैधानिक व्यवस्था रहेको भनी सर्वोच्च अदालतले व्याख्या गरेको थियो । सोही कारण प्रतिनिधिसभा ती समयमा पुनस्र्थापित भएका थिए । त्यसैले पनि आगामी २०८४ सालमा हुनुपर्ने प्रतिनिधिसभाको निर्वाचन दुई वर्षअघि नै हुन गएकोमा नेपाली कांग्रेस, नेकपा (एमाले) लगायतका दलहरुले भित्री रुपमा चाहेका होइनन् ।
मुख्य राजनीतिक दलहरु निर्वाचनको पक्षमा नखुलेको अवस्थामा पनि गत भदौ २३ र २४ गते भएका विद्रोहले अहिलेको अवस्थामा निर्वाचन गरिनुपर्ने अवस्था आएको हो । ती दिन नवयुवा (जेन–जी) का नाममा भएका विद्रोहले देशको राजनीतिलाई नै अर्को अवस्थामा परिवर्तित गरिदियो । तात्कालिन प्रधानमन्त्री ओलीसहितका राजनीतिक दलका नेताहरुले नेपाली सेनाको सहयोगमा भागेर ज्यान जोगाउनु परेको थियो ।
त्यहि विद्रोहका कारण भदौ २७ गते सुशीला कार्कीको नेतृत्वमा वर्तमान सरकार गठन भएको थियो । यो सरकार गठनसँगै प्रतिनिधिसभा विघटन गरिएको थियो । प्रतिनिधिसभाको रिक्तता बढीमा ६ महिनासम्मको मात्र हुने संवैधानिक व्यवस्था अनुसार यही फागुन २१ गतेका लागि यो निर्वाचनको मिति तय गरिएको हो ।
मुख्य दलहरुले नचाहेको अवस्थामा पनि परिवर्तित स्थितिमा दलहरु निर्वाचनमा होमिने निर्णयमा पुगेका हुन् । यही २१ गते हुने निर्वाचनको लागि सबैजसो प्रमुख दलहरुले उम्मेदवारी दिएर प्रचार प्रसारमा रहेको अवस्था छ । खासगरी यो निर्वाचनको लागि भनी पुराना दलहरु तथा नयाँ दर्ता भएका दलहरु पनि आफ्नो राजनीतिक अजेण्डासहित आएका छन् ।
यसैगरी कतिपय निर्वाचन क्षेत्रमा स्वतन्त्र उम्मेदवारहरुले पनि आफ्नो भाग्यको परीक्षण गरिरहेका बताइएको छ । यसैगरी निर्वाचनमा उम्मेदवार बन्नका लागि एक दलबाट अर्को दलमा प्रवेश गर्नेहरुको लहर नै चलेको थियो । यसअघि २०७९ निर्वाचनमा उम्मेदवार बनेका कतिपय उम्मेदवारहरु यस पटक अर्को दलबाट उम्मेदवार बनेको अवस्था छ ।
यसरी निर्वाचनको मिति नजिकिएसँगै सरकार निर्वाचनलाई सहज रुपमा गराउने उपायहरुका बारेमा लागि रहेको बताइएको छ । सरकार संचालनमा सहज होस् भनी बनाइएका मन्त्रीहरुमध्ये चारजना राजीनामा गरी उम्मेदवार बनेको अवस्थामा प्रधानमन्त्री सुशीला कार्की यो निर्वाचन सफल बनाएर विश्राम लिने पक्षमा रहनु भएको बताइएको छ । यसका लागि निर्वाचित सरकार बनाएर आफ्नो जिम्मेदारी फत्ते गर्ने सोचका साथ कार्कीले प्रयास गरिरहेको बताइएको छ ।
यसरी उम्मेदवारहरु सक्रिय रुपमा लागि रहेको स्थितिमा पनि नेकपा (एमाले) मा भने खासै उत्साह नदेखिएको भनी टिप्पणी भैरहेको छ । भदौ २३ र २४ गतेको विद्रोहका बेला प्रधानमन्त्री रहनु भएका एमालेका अध्यक्ष खड्गप्रसाद शर्मा ओलीप्रतिको आक्रोश अझै पनि शान्त नभएकाले त्यस्तो अवस्था आएको राजनीतिक विश्लेषक रामेश्वर ढकालको बुझाइ छ । त्यसैले पनि ओली एमालेको प्रचार प्रसारमा समेत सरिक नदेखिएको टिप्पणी गर्दै ढकाल भन्नु हुन्छ, ‘उहाँ पछिल्लो समय आफ्नो निर्वाचन क्षेत्र अर्थात झापा क्षेत्र नं.५ मा मात्र सीमित हुनु भएको छ ।’
ओली आफ्नो निर्वाचन क्षेत्रमा सीमित बन्नुपर्ने कारणमा उहाँमाथि उम्मेदवारको प्रभाव तथा दबाब पनि रहेको बताइएको छ । झापा क्षेत्र नं.५ मा यसअघि विजयको माला ओलीले पहिरिनुमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सँगको गठबन्धन कारक रहँदै आएको थियो । राप्रपाको मत पाएर विजयी बन्दै आउनु भएका ओलीलाई यस पटक राप्रपाले समेत साथ नदिएको अवस्था छ ।
सबैजसो दलहरु एक्लाएक्लै चुनावी प्रतिस्पर्धामा रहेको अवस्था छ । यस्तो अवस्थामा ओली राप्रपाको समर्थनविहीन बन्दा रानो हराएको मौरीको जस्तो अवस्थामा पुगेको विश्लेषण हुँदै आएको थियो । आफ्नो मतान्तरण बढी रहेको भनी घमण्ड गर्दै आउनु भएका ओलीलाई यस पटकको निर्वाचनमा अन्य प्रतिस्पर्धीहरु दह्रो रुपमा आउँदा सकस स्थिति रहेको बताइने गरेको छ । खासगरी परम्परागत प्रतिस्पर्धी दल नेपाली कांग्रेसले स्थानीय क्षेत्रमा सामाजिक कार्य समेत गर्दै आएकी मन्धरा चिमौरिया पौडेललाई उम्मेदवार बनाएको छ । उहाँको स्थानीयस्तरको लोकप्रीयताले समेत ओलीलाई दबाब दिइरहेको चर्चा छ ।
यसैगरी अघिल्लो निर्वाचनमा समेत राम्रै उपस्थिति देखाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले यस पटक चर्चित उम्मेदवार बालेन्द्र (बालेन) शाहलाई त्यहाँ उम्मेदवार बनाएको छ । बालेनको उम्मेदवारीले ओलीलाई झनै बढी दबाबमा पारेको विश्लेषण हँुदै आएको छ । यसअघि काठमाडौं महानगरपालिकाको प्रमुखमा अप्रत्यासित रुपमा जित निकाली राष्ट्रियस्तरमा चर्चामा बालेन पुग्नु भएको थियो ।
बालेनले काठमाडौं महानगरमा रहँदा धेरै सकारात्मक कार्यहरु गर्न खोज्दा प्रधानमन्त्रीमा आसीन ओलीले पटक पटक अवरोध सिर्जना गरेको भन्ने आम बुझाइ रहेको छ । त्यसैले पनि बालेनले काठमाडौं महानगरपालिकाको प्रमुखबाट राजीनामा गरी झापा क्षेत्र नं.५ मै उम्मेदवारी दिनु भएको हो । बालेन यस पटक रास्वपाबाट उम्मेदवार बनेका कारण पनि सो क्षेत्रमा बढी चर्चा चलिरहेको स्थिति छ ।
यसअघिका निर्वाचनहरुमा आफूलाई सुरक्षित ठानेर ओली देशव्यापी रुपमा प्रचार प्रसारमा हिंड्ने गर्नु हुन्थ्यो । यस निर्वाचनमा भने ओली आफ्नो निर्वाचन क्षेत्रमै खुम्चिनु परेको बताइएको छ । विगतका निर्वाचनमा महाराज शैलीमा बसी अरुलाई खटाउँदै आउने ओली यस पटक भने हात जोड्दै गाउँ गाउँ मत माग्दै हिंडेको दृष्यहरु देखिँदै आएका छन् । यसैगरी नवयुवा (जेन–जी) हरुको विद्रोहपछि पनि आफू नै एमालेको अध्यक्ष बनेको अवस्थामा ओलीको आलोचना बढी भैरहेको स्थिति छ ।
सोही कारण पनि ओलीलाई अन्य क्षेत्रका उम्मेदवारहरुले भाषणका लागि पनि आमन्त्रण नगरेको बताइएको छ । ‘ओलीको तस्वीरविना एमालेको प्रचार भैरहेको छ । एमालेले ठूला आमसभा पनि गर्न चाहेको छैन । त्यस्ता आमसभामा ओलीलाई आमन्त्रण गर्दा नतिजा झनै नकारात्मक अवस्थामा पुग्ने पो हो कि भन्ने त्रासमा एमाले तथा एमालेका उम्मेदवारहरु रहेको जस्तो देखिएको छ ।’ विभिन्न जिल्लामा अनुगमन गरी काठमाडौं फर्किनु भएका अधिवक्ता चन्द्रप्रसाद लुइँटेलले आफ्नो धारणा ‘नयाँ विमर्श’ सँग राख्दै भन्नु भयो । उहाँका अनुसार जेन–जी विद्रोहका कारण एमाले र ओलीप्रतिको आकर्षण घटेको देखिएको भनी जिल्ला जिल्लाका मतदाताले भन्ने गरेका छन् ।
उता, निर्वाचनको मिति नजिकिएसँगै सबैभन्दा ठूलो दल नेपाली कांग्रेस र यसअघिको निर्वाचनमा भाग लिइसकेको रास्वपा भने निर्वाचनलाई लिएर उत्साहित बनेका छन् । कांग्रेसमा विशेष महाधिवेशनबाट गगन थापाको नेतृत्वमा नयाँ पदाधिकारीहरु आएका कारण कांग्रेस बदलिएर आएको भनी कांग्रेसजनमा उत्साह थपिएको छ । १६५ प्रत्यक्ष उम्मेदवारहरुमध्ये १०६ जना त नयाँ उम्मेदबार बनाई थापाले कांग्रेसको टिकट दिएका कारण कांग्रेसबाट खस्किने मत जोगिएको विश्लेषण गरिँदै आएको छ । त्यसो त कांग्रेसले थापालाई भावी प्रधानमन्त्रीको रुपमा प्रचार गर्दै आएबाट उहाँलाई प्रधानमन्त्री बनाउनका लागि पनि आफ्नो क्षेत्रबाट कांग्रेसका उम्मेदवारहरुलाई जिताएर पठाउनुपर्ने अवस्था भनी कांग्रेसजनले भन्दै आएका छन् ।
यसैगरी बालेनको आगमनबाट रास्वपामा नयाँ उत्साह जागेको बताइएको छ । रास्वपाका सभापति रवि लामिछाने विभिन्न मुद्दामा अल्झिएर रहेको अवस्थामा बालेनको आगमनले रास्वपामा रक्तसंचार भएको चर्चा छ । त्यसो त रास्वपाले पनि बालेनलाई भावी प्रधानमन्त्रीको रुपमा चर्चामा ल्याएको छ । बालेन कम बोल्ने भएकाले उहाँका कुराहरु बाहिर नआएको भनी आमजनताले उहाँ प्रधानमन्त्रीका लागि लायक हो कि होइन भनी टिप्पणी गरिहाल्न नमिल्ने अवस्था रहेको भन्ने गरिन थालिएको छ ।
पुराना दलहरुले केही राम्रो नगरेको, सुशासन नभएको जस्ता नाराहरु सहित रास्वपा निर्वाचनमा गएको बताइएको छ । आफूलाई नयाँ र परिवर्तनकारी भन्दै रास्वपा निर्वाचनमा होमिएको छ । आफूलाई नयाँ बताउँदै रास्वपाले प्रचार गर्ने गरे पनि अघिल्लो आम निर्वाचनमा भाग लिइसकेको तथा दुई पटक सरकारमा गैसकेको भनी रास्वपा पनि पुरानै रहेको भनी आलोचना पनि भैरहेको बताइन्छ ।

 

 

कांग्रेस महामन्त्री पौडेल
काठमाडौँ÷ नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेल काठमाडौँ क्षेत्र नं.५ को निर्वाचनको प्रचार प्रसारमा केन्द्रित हुनु भएको छ । सोही क्षेत्रबाट प्रतिनिधिसभाका सदस्यका उम्मेदवार पौडेल आफ्नो जित दोहो¥याउनका लागि भनी घरदैलौ कार्यक्रममा व्यस्त रहेको बताइएको छ । यसअघिको निर्वाचनमा सोही क्षेत्रबाट राम्रो मतान्तरले विजयी पौडेल यस पटक पनि जित निकाल्न कम्मर कसेर लाग्नु भएको बताइएको छ ।
यस क्रममा बुधबार उहाँले बुढानीलकण्ठ नगरपालिका ६ का भद्रकाली, खड्का टोल, इटालीटार, खड्का गाउँ, न्यू कोलोनी, गणेश चोक लगायतका ठाउँमा घरदैलो गर्नु भएको थियो । यसैगरी बुढानीलकण्ठ ४ का शिव मन्दिर, सुनाखरी टोल, चपली कार्की गाउँ लगायतका ठाउँमा घरदैलो भएको पनि जनाइएको छ । पौडेलले विगतमा इमान्दारिताका साथ क्षेत्र र राष्ट्रिय मुद्दाहरुमा सक्रियतापूर्वक काम गरेको भन्दै अलपत्र रिङरोडको कामलाई गति दिन, मेलम्ची खानेपानीको सुधार तथा विस्तार, विष्णुमति करिडोर लगायतका काम क्षेत्रमा अघि बढेको र सांसद तथा मन्त्रीका रुपमा स्वास्थ्य सुधारमा काम गरेको बताउने गर्नु भएको छ ।
उहाँले आगामी दिनमा पनि क्षेत्रका विकासका मुद्दाका साथै देशलाई समृद्धितर्फ लैजान इमान्दारिताका साथ लागि पर्ने प्रतिबद्धता जनाउँदै अबको विकल्प पनि बदलिएको कांग्रेस नै रहेको बताउने गर्नु भएको बताइएको छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *