‘रमिताको पिरती’ को प्रदर्शनी जारी

Nayabimarsha (Weekly Newspaper from Nepal)

काठमाडौं/ चलचित्र ‘रमिताको पिरती’ लाई तत्कालको लागि प्रदर्शनीको लागि मार्ग प्रशस्त भएको छ । पाटन उच्च अदालतले यसमाथि दायर मुद्दामा सुनुवाइ गर्दै तत्काल अन्तरिम आदेश दिनु नपर्ने ठहर गरेपछि यस्तो अवस्था आएको हो ।
न्यायाधीश लालबहादुर कुँवरको एकल इजलासले चलचित्र विकास बोर्ड र चलचित्र निर्माता कम्पनी शिरो फिल्म्स् प्रा.लि.लाई बाटोको म्याद बाहेक १५ दिनभित्र लिखित जवाफ पेश गर्न आदेश दिएपछि यो चलचित्र प्रदर्शनीमा आउने भएको हो ।
केन्द्रीय चलचित्र जाँच समितिबाट जाँच भैसकेकाले तत्काल अन्तरिम आदेश जारी गर्नु नपर्ने अदालतको ठहर छ । सोमबार निवेदनकर्ताका तर्फबाट अधिवक्ताद्वय सृष्टि भट्ट र लक्ष्मी तामाङले बहस गरेका थिए ।
ती दुबैजना अधिवक्ताले उक्त चलचित्रले पुरुषप्रति घृणा फैलाएकाले प्रदर्शनमा रोक लगाउन माग गर्दै अदालतमा रिट दायर गरेका थिए । चलचित्र विकास बोर्ड, निर्माता कम्पनी शिरो फिल्म्स प्रा.लि., कार्यकारी निर्मात्री अन्नपूर्ण शर्मा (आना शर्मा), लेखक सुदीप्ता अधिकारी र निर्माता सागर लम्साललाई विपक्षी बनाइएको थियो ।
‘रमिताको पिरती’ अहिले हलमा प्रदर्शन भैरहेको छ । अदालतको अन्तिम फैसला आउन्जेलमा उस्तै परे चलचित्रले आफ्नो व्यापार गरी सकेको हुने बताइएको छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *