काठमाडौं/ लोकगायक तथा सञ्चारकर्मी कमल विके निर्मोहीको निधन भएको छ । उनी विगत केही वर्षदेखि मिर्गौला सम्बन्धी समस्याका कारण अस्वस्थ रहँदै आएका बताइएको छ । परिवारजनका अनुसार उनको मंगलबार साँझ निधन भएको तथा बुधबार अन्त्येष्ठी गरिएको थियो ।
‘त्यो माडी खोलाले छेकेको हैन, मलाई छेक्यो मायालु तिमै मायाले ……’ उनले बोलको गीत निकै लोकप्रिय बनेको थियो । दाङमा जन्मिएका निर्मोही पछिल्लो समय नेपालगञ्ज बस्दै आएका बताइएको छ । उनी रेडियो नेपालका पूर्व कर्मचारी समेत थिए । रेडियो नेपालमा उनका दर्जनौं गीत रेकर्ड भएका गायिका कोमल वलीले जानकारी दिइन् । उनका ‘लाग्यो माया मोहनी नजरमा …..’, ’पोखरामा क्या राम्रो रूपाताल, डुंगा चढी सलल मायाजाल ……’ लगायतका थुप्रै गीत चर्चित छन् ।
उनले केही लोकपप र आधुनिक गीतमा समेत श्वर दिएका बताइएको छ । उनका परिवारमा एक छोरा र दुई छोरी छन् । करिब एक महिनाअघि उनकी पत्नीको समेत दुःखद निधन भएको बताइएको छ ।
अस्ताए लोकगायक कमल विके
Facebook Comments Box
