कन्सल्टेन्सीलाई दोष नथोपर्न इक्यानको आग्रह

Nayabimarsha (Weekly Newspaper from Nepal)

काठमाडौं/ नेपाल शैक्षिक परामर्श संघ (इक्यान) ले वैदेशिक अध्ययनका क्रममा उत्पन्न हुने व्यक्तिगत कारणका आधारमा कन्सल्टेन्सीमाथि ‘ठगी’ जस्ता अभियोग लगाई धरपकड गर्नु कानूनी र व्यावसायिक दृष्टिले न्यायसंगत नभएको जनाएको छ ।
सोमबार पत्रकार सम्मेलनमार्फत संघले विज्ञप्ति जारी गर्दै विद्यार्थीले विदेशी भूमिमा अध्ययन प्रारम्भ गरिसकेपछि व्यक्तिगत परिस्थिति, वातावरणीय असहजता वा निजी निर्णयका कारण स्वदेश फर्किन चाहँदा त्यसको सम्पूर्ण दोष परामर्शदातालाई थोपर्ने प्रवृत्ति बढ्दो रहेको उल्लेख गरेको छ ।
संघका अनुसार पछिल्ला वर्षहरूमा संयुक्त अरब इमिरेट्स (UAE) नेपाली विद्यार्थीका लागि सर्वसुलभ, पहुँचयोग्य र उच्च सम्भावनायुक्त शैक्षिक गन्तव्यका रूपमा विकास हुँदै आएको छ । शैक्षिक परामर्शदाताहरूले विद्यार्थी र सम्बन्धित कलेजबीच समन्वय तथा सहजीकरणको भूमिका निर्वाह गर्ने गरेको र प्रचलित नियमअनुसार निश्चित सेवा शुल्क लिने गरिएको इक्यानको भनाइ छ ।
इक्यानले अध्ययन शुल्क भुक्तानी प्रक्रियामा नेपालको बैंकिङ प्रणाली अनिवार्य प्रयोग गर्दै राज्यलाई तीन प्रतिशत शिक्षा सेवा कर तिर्ने गरिएको स्पष्ट पारेको छ । विद्यार्थीले अध्ययन शुरु गरिसकेपछि उत्पन्न हुने व्यक्तिगत जीवनशैली, आवास व्यवस्थापन, वैदेशिक रोजगारीको उपलब्धता वा अन्य निजी व्यवस्थापनसम्बन्धी विषयहरू परामर्शदाताको प्रत्यक्ष नियन्त्रण वा कानूनी क्षेत्राधिकारभित्र नपर्ने संघको जिकिर छ ।
विज्ञप्तिमा भनिएको छ, “यदि कन्सल्टेन्सीले भ्रामक सूचना दिएको, झुटा कागजात पेस गरेको वा सिफारिस गरेको कलेज भौतिक रूपमा अस्तित्वमा नरहेको प्रमाणित भएमा सम्बन्धित संस्थाले पूर्ण जिम्मेवारी वहन गर्नुपर्छ । त्यस्तो अवस्थामा प्रचलित कानूनअनुसार कारबाही भोग्नुपर्छ । व्यक्तिगत कारणका आधारमा सम्पूर्ण दोष कन्सल्टेन्सीलाई थोपर्नु उचित होइन ।”
संघले नेपाल सरकारको आधिकारिक संवैधानिक तथा प्रशासनिक संयन्त्रबाट उपयुक्तता परीक्षणपछि वैदेशिक अध्ययन अनुमतिपत्र (एनओसी) स्वीकृत हुने प्रक्रियामा परामर्शदाताहरूले सहजीकरण मात्र गर्ने जनाएको छ । राज्यले नै वैध मानेको प्रक्रियामा सहभागी व्यवसायीहरूमाथि मात्रै एकलौटी रूपमा दोषासोपण गर्नु विद्यमान नियामक संरचना र सरकारी निर्णयमाथिकै अविश्वास भएको इक्यानको ठहर छ ।
यसै सन्दर्भमा संघले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोलाई कुनै दबाब वा पूर्वाग्रह बिना निष्पक्ष, तथ्यपरक र प्रमाणमा आधारित अनुसन्धान गर्न आग्रह गरेको छ । इक्यानले ग्लोबल एजुकेशन मोबिलिटीलाई विश्वका विकसित राष्ट्रहरूमा दीर्घकालदेखि स्थापित अभ्यासका रूपमा उल्लेख गर्दै नेपालजस्तो विकासोन्मुख राष्ट्रका लागि यसलाई रणनीतिक तथा रूपान्तरणकारी अवसरका रूपमा लिनुपर्ने धारणा राखेको छ । विश्व बजारमा प्रतिस्पर्धा गर्न सक्षम, नवप्रवर्तनशील र विश्वस्तरको दक्ष जनशक्ति उत्पादनका लागि पारदर्शी र उत्तरदायी ‘अब्रोड एजुकेशन इकोसिस्टम’ निर्माण अपरिहार्य रहेको संघको भनाइ छ ।
संघका अनुसार उक्त इकोसिस्टमको सफलताका लागि सरकार, नियामक निकाय, शैक्षिक परामर्श संस्था, गन्तव्य देशका शैक्षिक संस्थान, विद्यार्थी र अभिभावकबीच समन्वित सहकार्य आवश्यक छ । यस प्रणालीलाई निरुत्साहित गर्नु भनेको देशलाई आधुनिक ज्ञान, प्रविधि र विश्वव्यापी अवसरबाट टाढा धकेल्नु हुने इक्यानको निष्कर्ष छ ।
संघले सदस्य संस्थाहरूलाई विद्यार्थी तथा अभिभावकसँग गरिने हरेक संवादमा पूर्ण पारदर्शिता कायम गर्न निर्देशन दिएको जनाएको छ । कन्सल्टेन्सी र विद्यार्थीबीच हुने सहजीकरणलाई कानूनी रूपमा सुरक्षित र स्पष्ट बनाउन लिखित सेवा–सम्झौता अनिवार्य गरिएको तथा सेवा शुल्क संरचनालाई पारदर्शी र व्यवस्थित बनाउन स्पष्ट नीति कडाइका साथ लागू गरिएको इक्यानले जनाएको छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *