मेरो एक किताबप्रेमी साथी

Nayabimarsha (Weekly Newspaper from Nepal)
जयदेव गौतम

किताबहरू मेरा सच्चा दौँतरी हुन्, असल साथी हुन्, उम्दा मित्र हुन्, बेस सँगाती हुन्, र अझ राम्रा त सहचर, मीत, यार, बन्धु, दोस्त, दमाली, सहयात्री, सहदर्शी र सखा सबैसबै हुन् । यिनले मलाई कहिल्यै छल्दैनन्, मप्रति कहिल्यै विश्वासघात गर्दैनन्, र सबभन्दा ठूलो कुरा त मलाई कहिल्यै एक्लो हुन दिँदैनन् । आफ्नाहरूले छोड्लान्, सँग–साथी र परिचितहरूले छोड्लान तर, अहँ, किताबहरूले कहिल्यै छोड्दैनन् । अझ किताबहरूले कथंकदाचित् छोडी नै हाले भने पनि तिनले दिने सन्देश, शिक्षा र ज्ञानले त कदापि छोड्दैन । यसो हुँदा म किताब र किताब पढ्ने भाव सोचेर सधैँ अभिभूत हुन्छु, द्रवीभूत हुन्छु ।
मलाई किताबको औधी माया लाग्छ किनभने यिनै किताबले नै त विभिन्न समाज, संस्कृति र पुस्ताहरूबीच अक्षत ज्ञान, सूचना, कथा, मनोरञ्जन र शिक्षा निरन्तर साझा गरिरहेका हुन्छन् । संसारका जुन कुनै भाषाहरूमा उपलब्ध भए पनि यी किताब नै त समान किसिमले शिक्षा, ज्ञान एवं मनोरञ्जनका अमूल्य अनि अजस्र श्रोत हुन् । यसर्थ पनि, समय र जीवनको सबैभन्दा उत्तम लगानी भनेको किताबहरू पढ्ने र अथक् पढ्ने बानी बसाल्नु हो ।
किताब पढ्नु र किताबहरू निरन्तर पढ्दै जानु भनेको क्रमशः निजी परिपक्वता हासिल गर्नु हो । पढाइले मेरो ज्ञानचक्षु उघार्ने मात्र होइन, जीवनलाई बुझ्ने र आइपर्ने सबै परिस्थितिहरूविरुद्ध जुझ्न पनि सहयोग गर्दछ । अझ, अरूहरूलाई बुझ्न पनि त्यत्तिकै सघाउँछ । पढ्नु भनेको त मानसिक स्वास्थ्य र जीवन–कल्याणको महान श्रोत पो हो ।
कतै पढेको सम्झन्छु, पढ्नु भनेको सत्य–तथ्यबारे जान्ने वा सिक्ने होइन बरु नयाँ सोच विचार गर्नका लागि तालीम पो हो । अझ, अमेरिकी उपन्यासकार मार्क ट्वेनले त भनेकै छन्, “नपढ्ने मान्छेले पढ्नै नजानेको मान्छेभन्दा केही पनि थप फाइदा पाउन सक्दैन ।”
म किन पढ्ने गर्छु ? किनभने म कहिले आफैँबाट दिक्किएर वा उदेकिएर कतै भाग्ने ठाउँ खोज्दा किताबको शरणमा पुगेको हुन्छु, त कहिले प्रेम, वात्सल्य र सहानुभूति खोज्न किताबको पाना फर्काउन पुगेको हुन्छु । किताब पढ्दै गर्दा कहिले म रोइरहेको हुन्छु, कहिले मुसुमुसु हाँसिरहेको हुन्छु त कहिले अट्टहास नै गरिरहेको हुन्छु । कहिले जाडो, घाम र पानी छल्न घर वा घरबाहिर कतै किताबसँग मितेरी लाइरहेको हुन्छु त कहिले केही नयाँ पकवान पकाउने तरीका जान्न–सिक्न किताबसँग द्वन्द्व गरिरहेको हुन्छु । कहिले आत्मोत्थान वा सेल्फ–हेल्प किताबहरूमा प्रेरणा र जाँगर खोजिरहेको हुन्छु ।
किताबले मलाई नयाँ–नयाँ ठाउँ पु¥याइरहेको हुन्छ, नयाँ–नयाँ समाज र संसार देखाइरहेको हुन्छ, नयाँ–नयाँ शब्द सिकाउँदै नौला–नौला विचारहरू दिइरहेको हुन्छ, कहिले इतिहास–वर्तमान–भविष्य घुमाउँदै ज्ञान–विज्ञानको रोमाञ्चक जगतमा विचरण गराउँछ, त कहिले भूत–प्रेतका रहस्य–रोमाञ्च अनि सामान्यदेखि भयानक अपराधका जगरका रौं ठड्याउने किस्सा सुनाउँछ । यसरी अगाडि बढ्दै जाँदा पढ्ने बानीले मलाई साँचो अर्थमा मान्छे बनाउँछ, र, मानिस हुनुको बोध गराउँछ ।
म यिनलाई किताब भनूँ वा पुस्तक, ग्रन्थ भनूँ वा ठेली, पोथ्रापोथ्री भनूँ वा बही, हस्तलिपि या पाण्डुलिपि भनूँ वा ऋचा–सङ्ग्रह, मैले जे जे भने पनि किताब भनेका त किताब नै हुन् ।
सानोमा लघुत्तम जल–बिन्दुदेखि ठूलोमा आकाशको अनन्ततासम्म जुनसुकै विषयमा पनि किताब लेखिएका छन्, र उपलब्ध पनि छन्, केवल तिनलाई पढ्ने क्षमता, प्रेरणा, धैर्य, रुचि र जुनूनको मात्र आवश्यकता हो ।
पठन अथवा अध्ययन त मानिसका सबैभन्दा असल रुचि वा ‘हबी’ मध्येको एक हो । तसर्थ पनि धेरै थरी किताबको गम्भीर पठनले हाम्रो सोचाइ मात्र होइन जीवन नै पनि पूर्ण सकारात्मक ढङ्गले (अपवादस्वरूप यदाकदा नकारात्मक नै ढङ्गले पनि !) बदल्न सक्दछ ।
शिक्षित समाजमा किताब पढ्नु मानौं समाजकै एक महत्वपूर्ण हिस्सा हो, मानौं एक अविभाज्य एवं अत्यन्त ठूलो भाग हो । यही कारण हो, प्रायः विकसित मुलुकहरूमा रेल–बस–विमानहरूमा यात्रा गर्दा होस् वा भोजन–गृह या चमेना–गृह (कफी हाउस) मा अथवा बगैंचा (पार्क) मा बस्दा होस्, त्यहाँ मानिसहरू अक्सर किताब पढ्दै गरेका देखिन्छन् । किताब समाएरै बसेका भेटिन्छन् ।
जानिफकारहरू भन्छन्, “मान्छेको बौद्धिक विकास जन्मसँगै शुरू हुन्छ र एकै पटक मृत्युमा पुगेपछि मात्र टुङ्गिन्छ ।” तर यो बौद्धिक विकास अथवा बौद्धिक क्षमता वृद्धि अरूलाई देखेर, सुनेर वा बोलेर मात्र हुँदैन । त्यसका लागि त पढ्नु पर्छ, किताबको अँगालोभित्र हराउनु पर्छ, किनभने आजको पढाइ भनेको भविष्यका लागि प्रवेश–पत्र हो, भोलिका लागि आज हुने या गरिने तयारी हो । र, त्यही भोलिले भन्छ– बौद्धिक भइसकेको व्यक्ति वा बुद्धिमान मनुष्यलाई कहिल्यै पनि सबै कुरा थाहा हुँदैन, उसले त्यस्तो भन्दैन पनि । तर मूर्खलाई भने सधैँ सबै कुरा थाहा हुन्छ, उसले त्यस्तै अभिव्यक्त गरिरहन्छ पनि ।
यस कारण पनि बुद्धि भएकाहरू किताब पढ्छन्, त्यसबाट सिक्छन् र सिकीरहन्छन, अनि अन्ततः आफ्नो सफलताको बाटो आफैँले पहिल्याउँछन् ।
मेरा एक जना किताबप्रेमी साथी छन् । उनी किताब किनेर पनि पढ्छन्, सापटी मागेर पनि, र पुस्तकालयबाट लगेर पनि । उनलाई पढ्नमा जति रुचि छ, त्यसभन्दा बढी त उनी किताबलाई माया गर्छन् । आफ्नो या अरू जो कसैको किताब हात पर्ने बित्तिकै पढ्नुभन्दा पहिले त्यस किताबमा सुन्दर नयाँ जिल्दा (गाता) हाली दिन्छन् । आफूले दिएको चरणाम् नग्न किताब सुन्दर जिल्दा पहिरेर आएपछि त्यो किताबधनी मख्ख परी जान्छन् ।
किताबको जतन सम्बन्धमा केही महिना पहिले अमेरिकी समाचार संस्था एशोसिएटेड प्रेसले एउटा रोचक समाचार सम्प्रेषण गरेको थियो । अमेरिकी राज्य टेक्सासमा पर्ने सान एन्टोनियो शहरस्थित ‘सान एन्टोनियो पब्लिक लाइब्रेरी’ मा एक जना हजुरआमाले लगेको पुस्तक बयासी वर्षपछि उनका नातिले पुस्तकालयलाई फिर्ता बुझाएका छन् ! विवाह एवं पारिवारिक परामर्शदाता फ्रान्सिस ब्रूस स्ट्रेनद्वारा लिखित “योअर चाइल्ड, हिज फ्यामिली एण्ड फ्रेण्ड्स” पुस्तकसँगै एउटा पत्र पनि थियो, “हजुरआमाले अब यस किताबका लागि पैसा दिन सक्नुहुने छैन ।”
त्यो पुस्तकालयले एक विज्ञप्ति जारी गर्दै त्यो पुस्तक सन् १९४३ को जुलाई महिनामा पुस्तकालय–सदस्य मारिया डेल सोकोरो एल्ड्रेटे फ्लोरेसले लगेको, धेरैपछि सन् २०२५ को जुलाईमा ओरेगनका एक व्यक्तिले फिर्ता गरेको र किताब राम्रो अवस्थामा रहेको जनायो । समयमा किताब नबुझाएको जरिवाना सोह्र हजार डलर (नेपाली करीब एक्काइस लाख रुपैयाँ) पुगेको थियो, तर पुस्तकालयले त्यो जरिवाना तिर्नु नपर्ने गरी सम्पूर्ण मिनाहा गरेको थियो ।
विश्वभरका नानाभाँति कुराहरूको तथ्याङ्क राख्ने किताब ‘गिनिज बुक अफ वल्र्ड रेकडर््स’ का अनुसार भने पुस्तकालयमा कुनै पनि पुस्तक सबैभन्दा लामो समय (ओभरड्यू) पछि फिर्ता गरिएको विश्व कीर्तिमान सन् १९५६ मा बेलायतको क्याम्ब्रिज विश्वविद्यालय अन्तर्गत रहेको सिड्नी ससेक्स कलेज पुस्तकालय (रिचर्ड पावेल लाइब्रेरी) मा स्थापित भएको छ । त्यहाँ सन् १६६८ मा कर्णेल रोबर्ट वाल्पोल (तथा बेलायतका प्रथम प्रधानमन्त्री सर रोबर्ट वाल्पोलका पिता) ले लगेको “स्क्रीप्टोरेज रीरम जर्मानीक्यारम” शीर्षकको जर्मन इतिहास पुस्तक दुई सय अठासी वर्षपछि सन् १९५६ मा प्रोफेसर जोन एच.प्लम्बले फेला पारेपछि पुस्तकालयमा फिर्ता बुझाएका थिए । प्रोफेसर प्लम्बले वाल्पोलको जीवनी लेख्ने क्रममा खोज–अनुसन्धान गर्दा फेला पारेको त्यो पुस्तकमा लागेको हजारौं पाउन्ड जरिवाना पनि सबै मिनाहा भएको थियो ।
किताबको जतनकै सन्दर्भ उठ्दा, कुनै घरमा जाँदा त्यहाँ किताब च्यातिएको देखेमा मेरा ती किताबप्रेमी साथी सोझै झगडा नै गरी हाल्छन् । उनको स्वभाव कस्तो छ भने उनले कसैसँग सापटी मागेर लगेको किताब च्यातिएको छ, अथवा, त्यसका पाना उप्किएका छन् भने उनी अरू काम छाडेर पहिला त उप्किएका वा च्यातिएका ती पानालाई टाँसेर हुन्छ या अरू जे गर्न सकिन्छ, हेरेर टाँस्ने काम गर्छन् र त्यस्तो पुरानो किताबलाई चट्ट नयाँ जस्तो बनाइदिन्छन् ! त्यसो हुँदा पनि किताबलाई स्याहार–सुसार गर्दै जतनसाथ राख्नु पर्छ भन्छन् । र, त्यसो नगर्ने वा नमान्नेहरूसँग धेरै पटक उनको चर्को विवाद भएको छ । पटकपटक र थाकुञ्जेल भन्दा पनि किताब स्याहार गर्न नमान्ने कति जनासँग त उनको बोलचाल र आइजाई नै कपाल झैँ पातलिएको छ । किताबलाई अपमान र हेलाहोँचो गर्नेहरू उनलाई मन पर्दैनन् ।
उनै किताबप्रेमी साथी मलाई भन्ने (सुनाउने) गर्छन्, “बुझ्नुभयो दाइ, वैज्ञानिक अल्बर्ट आइन्स्टाइन भन्ने गर्थे– ‘मैले जति पढ्दै र बुझ्दै गएँ, मलाई त्यति नै ज्ञात हुँदै गयो, मलाई कति कम मात्र थाहा रहेछ ।’ भनेसी, बीसौं शताब्दीका सबैभन्दा सूक्ष्म र ठूलो दिमाग भएको मानिस कहलिएका आइन्स्टाइनको सोचाइ त त्यस्तो रहेछ भने तपाईं–हामी, जो आफ्नो हातमुख जोर्ने परिस्थितिजन्य व्यस्तताबीच केही समय निकालेर धेरथोर जो पढ्छौं, लाई के पढने, कति पढ्ने र कसरी पढ्ने भनेर जान्नै धौ–धौ हुँदैन त ?”
वास्तवमा, अरू जुनुकनै विषयभन्दा पनि स्वयं जीवन सर्वाधिक कठिन परीक्षा हो, त्यसकारण यहाँ कसरी पढ्ने र कसरी सिक्ने भन्ने जान्नु भनेको संसारकै सबभन्दा ठूलो, र उत्तिकै महत्वपूर्ण, क्षमता हो ।
कुरा मेरो मात्र होइन, सबैलाई थाहा छ– पुस्तकहरू अनेक थरी हुन्छन् । तिनलाई मूलतः दुई भागमा बाँड्न सकिन्छ– विद्यालय वा महाविद्यालयीय प्रयोजनका लागि लेखिएका किताबहरू, र, साहित्यिक, धार्मिक, सांस्कृतिक वा प्राविधिक विषय प्रयोजनका लागि लेखिएका पुस्तकहरू ।
यी किताबहरूमा के पढ्न पाइन्छ ? नजिक वा टाढा छुटिसकेको अतीत, समयसँगै नित्य बित्दै गइरहेको जीवन, पीडा–पीर–व्यथाहरूको आख्यान, सुख–दुःख, सन्तोष–असन्तोष, प्राप्ति–अप्राप्ति, जय–पराजय, वेदना–संवेदना–सहानुभूति–प्रताडना, सुगमता–विषमता, गुमनामी–लोकप्रियता, अँध्यारो–उज्यालो, आशा–निराशा, भाग्य–अभाग्य, षडयन्त्र–कुटिलता–स्वच्छता–सहिष्णुता–असहिष्णुता, सपना–विपना, कमजोरी–सुदृढता, कायरता–साहस, भय–आँट, हताशा–विश्वास आदि तमाम भाव, बिम्ब र विचारहरू सबैसबै पढ्न पाइन्छ ।
किताबहरू पढ्ने क्रममा मैले थाहा पाएँ, “विगत भनेको ‘मिल्क्याइएको कागज’ हो, वर्तमान भनेको ‘समाचारपत्र’ हो, भविष्य भनेको ‘प्रश्नपत्र’ हो, त्यसकारण पढ्ने र लेख्ने काम गर्दा पूर्ण सतर्कता एवं सचेततापूर्वक नै गर्नु पर्दछ, अन्यथा जीवन फगत ‘टिशू पेपर’ मा फेरिन्छ र त्यसमै थन्किएर बस्छ । अन्यथा, के हामीले ठम्याउन सक्दछौं– कुनै काम यदि गलत छ तर सबै मानिसहरूले त्यही काम गरिरहेका छन्, भने पनि त्यो काम गलत नै हो । र, यदि कुनै काम सही छ तर त्यसलाई कोही एक जनाले समेत गरिरहेको छैन यदि भने पनि त्यो काम सही नै हो ।”
पछिल्लो समय निकट छिमेकमा रहेको पुस्तकालय–कक्षमा एक साहित्यिक छलफल हुँदा निष्कर्ष निस्केको थियो, “एउटा राम्रो किताबले हाम्रो मस्तिष्क उघार्छ, हृदय झङ्कृत पार्छ र जीवन बाँच्नका लागि तयार पार्दछ । मानवीय संवेदनाको भाव फराकिलो तुल्याउँछ । एउटा राम्रो साहित्यिक कृति कुनै सदाबहार फलवृक्ष जस्तै हो ।”
यसरी किताब पढ्नु भनेको समय व्यर्थिनु होइन बरु त्यसको सच्चा सदुपयोग हो, यो–त्यो किताब पढेँ भनेर कहिल्यै कतै बसेर लिखित वा मौखिक परीक्षा दिन नपरी ग्रहण गर्न सकिने अमूल्य शिक्षा प्राप्ति हो । त्यस कारण पढ्नु भनेको समय –भूत, वर्तमान र भविष्य– सँगै यात्रा गर्नु हो ।
यसरी किताब पढ्ने पढाउने कुरा भइरहँदा मलाई आफूले पढेको एउटा रुसी कथाको स्मरण भएर आयो । शायद एन्टोन चेखभको कथा हो जसमा उनले कसरी किताबहरूले जीवनमा आकाश–पाताल जस्तो फेरबदल ल्याउन सक्छन् भन्ने देखाएका छन् ।
त्यो कथामा एक जना पात्रले आफ्नो एक जना साथीले राखेको एक लाख रुपैयाँको बाजी केवल यति मात्र शर्तमा स्वीकार गर्दछ, ऊ त्यस साथीकै घरको एउटा कोठामा लगातार पच्चीस वर्षसम्म बन्दी भएर बस्नेछ र त्यो सम्पूर्ण अवधि ऊ केवल आफूलाई मन परेका किताबहरूको मात्र भर पर्नेछ, (अरू केही, केही पनि गर्ने छैन र केवल ती किताब मात्र पढ्दै बस्नेछ) । यही बिन्दुमा उनीहरू दुईबीच सहमति हुन्छ ।
समय क्रमशः बित्न थाल्छ । बिस्तारै–बिस्तारै त्यो मानिस सस्तो मनोरञ्जनका किताब पढ्न छाडेर क्रमशः धर्म र दर्शनका गहकिला किताब पढ्नेतिर आकर्षित हुँदै जान्छ । र, बाजीको अवधि, अर्थात् पच्चीस वर्ष लामो समय, समाप्त हुँदा–नहुँदै ऊ त्यस्तो आध्यात्मिक उचाइमा पुगिसक्छ जहाँ धन नगण्य हुन्छ, र जहाँ धनको कुनै मूल्य हुँदैन । त्यो मानिस बाजीको पच्चीस वर्षे अवधि सक्किनुभन्दा ठीक पाँच मिनेट पहिले ‘आफू बाजी हारेको’ र ‘त्यस कारण एक लाख रुपैयाँ नचाहिने’ भन्दै बाजी भंग गर्छ र कोठाबाट बाहिरिन्छ ।
पछि फेरि चेखभको यो कथा पढे पनि नपढे पनि मेरो मनमा एउटा अशान्त जिज्ञासा छ– महाकवि लक्ष्मीप्रसाद देवकोटाले आफ्नो चर्चित पुस्तक ‘लक्ष्मी निबन्धसङ्ग्रह’ मा ‘लेख्ने बानी’ शीर्षकमा एउटा निबन्ध त लेखे, तर उनले कहिल्यै कतै ‘पढ्ने बानी’ भनेर वा यससँग मिल्दो–जुल्दो रचना अरू केही लेखेनन् । किन होला ? महाकवि देवकोटाले मात्र होइन, नाम चलेका अरू तमाम नेपाली लेखक–साहित्यकारले पनि ‘पढ्ने बानी’ र त्यसको महत्ताबारे उस्तो केही लेखेनन्, लेखेको पाइँदैन । किन होला ?
हो, यद्यपि, पठन र लेखन मेरो रुचिका विषय हुन् तर मलाई लाग्छ, रुचि र बानी वा अभ्यास दुई अलग कुरा हुन् । रुचिभन्दा पनि बरु पढ्ने बानी बसाल्न सकियो भने त्यो चाहिँ असल स्वभाव हुन पुग्छ । किनभने पढ्ने बानीले किताबबाट एक त विविध मनोरञ्जन प्राप्त हुन्छ र त्यससँगै विचार पनि माझिन्छ (माझिँदै जान्छ,), अर्को चाहिँ, शब्द–भण्डार पउल हुँदै जान्छ र त्यसका साथै शब्द–प्रयोगमा रहरलाग्दो निखार आउँछ, अनि यसले सोचविचार गर्ने क्षमता पनि बढाउँछ । यसो हुँदा एक वा अर्को सफलताका ढोका उघारिन्छन् ।
एक दिन मेरा उनै किताबप्रेमी साथी फनफनिँदै हाम्रो घर भित्रिए । सधैँ जस्तै उनको हातमा केही किताब थिए । तिनैमध्येको एउटा किताब भारतीय साहित्यकार धर्मवीर भारतीले लेखेको ‘गुनाहोंका देवता’ शीर्षकको हिन्दी उपन्यास ‘यो पढ्नुस्’ भन्दै मलाई दिए र बसीबसी टोल्हाए जस्तो गर्न थाले ।
के भएको हो भनी सोधेको त उनको अन्यमनस्कताको कारण यस्तो पो रहेछ, “आज पनि एक जनाले मन्दिर बनाउन भन्दै रसीद देखाउँदै मसँग चन्दा माग्दै थिए । मैले बरु नयाँ पुस्तकालय बनाउनु पर्छ, अथवा, पुस्तकालयका लागि नयाँनयाँ किताब किन्नु पर्छ भनेको उनी त मसँग झर्किन थाले । कस्सो चर्कै बाझाबाझ नभएको !
“मानिसहरूले समाचारपत्र–पत्रिकाहरू पढ्छन्, रेडियो सुन्छन्, टेलिभिजन–यूट्यूब च्यानल–पोडकाष्ट–टिकटक आदि हेर्छन्, र फेसबुक आदि सामाजिक सञ्जालमा लेखिएका साना–मझौला स्टाटस हेर्छन्–पढ्छन् । तर त्यसबाट त उनीहरूले केवल तात्कालिक सूचना र केही मनोरञ्जन आदि मात्र त पाउने हुन् । आम मानिसको चेतना उकास्न र उनीहरूको बौद्धिक क्षमता विकास गर्न त किताब नै चाहियो नि । दिनहुँ छापिएर बजारमा आइरहने किताब सबैले किन्न र पढ्न कसरी सक्छन् ? त्यो त कसै गरी पनि सम्भव नै हुँदैन । त्यसकारण ठाउँठाउँमा सहज पहुँच भएका पुस्तकालयहरू खोल्नु र सुसञ्चालन गर्नु पर्दछ । के मैले गलत भनेको हो र ?”
मैले सफलतापूर्वक विषयान्तर गरेपछि उनको आक्रोश थामियो र उनी सहज भए ।
अहिले हामीलाई देउता र मन्दिरभन्दा बढी पुस्तक र पुस्तकालयहरू चाहिएका छन् भनेर ती साथीसित मेरो छलफल यसभन्दा पहिले पनि भइसकेको थियो ।
मलाई राम्रो सम्झना छ, तिनताका म क्याम्पस पढ्ने गरी सदरमुकाम तानसेनमा बस्ने गर्थेंं । त्यहीँ एकपटक पाल्पाली लेखक एवं पत्रकार दाइ विनयकुमार कसजूले मलाई सोध्नुभएको थियो, “खलील जिब्रानको नाम सुन्नुभएको छ ?” विनय दाइ पनि किताबहरू धेरै पढ्नुहुन्थ्यो र जतन पनि त्यत्तिकै गर्नुहुन्थ्यो । तर भर्खरभर्खर आई.ए. (प्लस टू) पढ्न थालेको मलाई त्यतिबेलासम्म खलील जिब्रान नाम भएका ती मानिस को हुन् भन्ने केही जानकारी थिएन । मैले उहाँलाई त्यही जवाफ दिएँ ।
“केही छैन । मैले देखे–बुझेको छु, तपाईंमा पनि किताब पढ्ने राम्रो रुचि छ । त्यस कारण अलि पछि गएर तपाईंले पक्कै पनि उनको बारेमा पढ्नुहुनेछ,” मेरो जवाफ सुनेर उहाँले अलिकति मुस्कुराउँदै भन्नुभएको थियो, “जिब्रान लेबनानमा जन्मे–हुर्केका थिए । पछि उनी अमेरिकामा बसाइँ सरे । यसर्थ उनी लेबनानी–अमेरिकी नागरिक थिए । उनी कवि, पेन्टर र दार्शनिक थिए । उनै जिब्रान भन्ने गर्थे– माटोमुनि पुरिएका मनहरूले कहिल्यै विद्रोह गर्दैनन्, न त मुर्दा नै कहिल्यै रुन्छन् । अब जिब्रानको यस भनाइलाई हामीले नेपाल र नेपालीहरूको सन्दर्भमा के कसरी प्रयोग गर्न मिल्छ होला ? अथवा, मिल्छ या मिल्दैन होला ? यसो सोचौं र छलफल गरी हेरौं न, के कस्ता तर्कनाहरू बाहिरिँदा रहेछन् !”
अनि यही सन्दर्भमा उहाँ विनय दाइसित समय–समयमा मेरो कुरा हुने गरेको थियो । नेपालमा सबैतिर मन्दिर बनाउने र देवी–देउताहरूको स्थापना गर्ने कुरा मात्र सुनिन्छ । कतै नयाँ मन्दिर बनाउन भागवत पुराण सप्ताह चलिरहेको हुन्छ त कतै नयाँ धार्मिक आयोजना गर्ने योजना बनिरहेको हुन्छ । व्यापक स्तरमा चन्दा पनि उठाइने गरिन्छ । ‘मनकारीहरू’को कुरा हुन्छ, फूलमाला अनि अबीरको वर्षा हुन्छ र हजारौं–लाखौं रुपैयाँ प्रदान हुन्छ, केही चाहिँ पछि दान प्रदान गर्ने प्रतिबद्धता हुन्छ । यसरी देवी–देउताको नाममा करोडौं रुपैयाँ उठ्छ । तर त्यसको केही भाग मात्र पनि गाउँ–शहरहरूमा तत्काल उपयोग–योग्य पुस्तकालयहरू स्थापना र व्यवस्थापन गर्ने हो भने कति राम्रो हुने थियो होला ?
वास्तवमा पुस्तकालयहरूका अगाडि विद्याकी देवी वीणा–वादिनी सरस्वतीको भव्य एवं आकर्षक मूर्ति स्थापना गर्ने र पुस्तकालयलाई देवी सरस्वतीको मन्दिर भन्ने गरे त भइहाल्छ नि । तर यसतर्फ कसैको सोचाइ गएको नै देखिँदैन । धन हुने मनकारीहरूले मन्दिरसँगै पुस्तकालय र वाचनालयहरू पनि बनाए त झन् राम्रो हुने थियो नि ।
कस्तो हुँदो हो यदि त्यसरी बनाइएका पुस्तकालय र वाचनालयका भित्ताहरूमा ठाउँठाउँमा जर्मनभाषी चेक लेखक फ्रान्ज काफ्काले भनेका यी पङ्क्तिहरू लेखिएको होस्, “हाम्रो आत्मा एक विशाल महल जस्तै हो, जसमा नजाने कति अनजान कोठाहरू छन् । ती प्रत्येक कोठाका ढोकाहरूमा ताल्चा लागेको छ । किताबहरू, खासमा, ती सबै ताल्चा खोल्ने चापी हुन् ।”
अथवा, काफ्काकै यो भनाइ पनि त्यहाँ होस्, “हामीभित्र एउटा समुद्र छ र त्यो बरफ झैं जमेर बसेको छ । किताबहरू त्यस्तो बञ्चरोजस्तो हुनु पर्छ जसले त्यो बरफ फोर्न सकोस् ।”….. “जुन किताब हामी पढ्छौं, ती किताबले यदि हाम्रो टाउकोमा मुड्की बजारेर, घनले हिर्काएर हामीलाई ब्युँझाउन सक्दैनन् भने ती र त्यस्ता किताब पढेर के फाइदा ?”
अथवा, अमेरिकी वैज्ञानिक टमस एल्बा एडीसनले भनेका पङ्क्ति त्यहाँ होऊन्, “पुस्तकहरू भनेको त महान प्रतिभाहरूले मानव जातिका लागि छोडेर गएको पैतृक सम्पत्ति हो । यो सम्पत्ति एक पुस्ताबाट अर्को पुस्तालाई सुम्पनका लागि हो । यो त मानौं अहिले जन्मिन नै बाँकी रहेका मानिसहरूका लागि समेत दिइएको उपहार पनि हो ।”
अथवा, ‘प्रमिथस’ महाकाव्यबाट लिइएको महाकवि देवकोटाको यो कवितांश त्यहाँ शोभायमान गरिएको होस्,
“मानिस एक तारा हो आफ्नो, अन्धकारमा ।
एक, अकेला, काफी, अन्तरिक्षमा आफ्नो ।
आफ्नो जगत्को स्रष्टा । आफ्नो जगत्को मालिक ।
एक, अकेला योद्धा । आफ्नो प्रकाश, आफ्नो मार्ग ।
विचारहरू उसका किरण–केन्द्र ज्योतिर्मय
आफैँ ऊ, मानिस । यिनै किरणको सब सिर्जना ।
यिनै किरणको उसको साम्राज्य, जगत्मा ।
सानो सूर्य हो मानिस, सानो जगत् प्रकाश ।”
अथवा, फेरि अर्का अमेरिकी लेखक जर्ज आर.आर.मार्टिनको यो पङ्क्ति होस्, “नियमित पुस्तक पढिरहने मानिस आफ्नो मृत्युभन्दा पहिले हजार जुनी बाँच्दछ ।” अथवा, फ्रान्सेली दार्शनिक रेने डेकार्टको यो भनाइ कतै उल्लेख गरिएको होस्, “धेरैभन्दा धेरै असल पुस्तक पढ्नु भनेको बितेका शताब्दीहरूमा भएका श्रेष्ठ व्यक्तिहरूसित कुराकानी गरे जस्तो हो ।”
तात्पर्य के हो भने बदलाव त्यसै हुँदैन, आफैँ आउँदैन, र, त्यसका लागि सधैँसधैँ ठूलाठूला कुरा गरिरहनु पनि पर्दैन । परिवर्तनको प्रारम्भ त उपेक्षा वा नजरअन्दाज जस्तो गरिएका सानातिना कुराबाट पनि मनग्गे हुनसक्छ ।
बेलायतमा अठारौं–उन्नाइसौं शताब्दीसम्म पनि कम आय भएका परिवारहरूमा एउटा रमाइलो प्रचलन झाङ्गिएको थियो– उनीहरू किनेर वा सापटी खोजेर नयाँ किताब ल्याउँथे र त्यसलाई सामूहिक तवरमा सस्वर पाठ गर्थे । यसरी त्यही एउटा किताब एकै पटकमा धेरैजनाले पढ्थे । यसो गर्दा उनीहरूको नयाँ र धेरै किताब पनि पढ्ने र त्यसबाट मनोरञ्जन एवं शिक्षा हासिल पनि गर्ने दोहोरो मनशाय पूरा हुन्थ्यो । यो प्रचलनले बेलायतीहरूमा अध्ययन–रुचि र पठन–संस्कृति विकास गर्न ठूलो भूमिका खेलेको थियो ।
यही प्रचलनलाई आधार बनाएर अङ्ग्रेज लेखक एवलीन वाले ‘द म्यान हू लाइक्ड डिकेन्स’ शीर्षकमा एउटा कथा लेखे । सन् १९३४ मा प्रकाशित भएको त्यो कथा बहुचर्चित मानिन्छ ।
पछिल्लो समयमा त्यो सामूहिक पठन संस्कृति स्वरूप परिवर्तन भएर फेरि अवतरित भएको छ, यस पटक चाहिँ “किताब क्लब” (बुक क्लब) वा “पाठक क्लब” (रीडर्स क्लब) को आकार ग्रहण गरेर । यस संरचनामा मन मिल्ने कतिपय साथीहरू निश्चित ठाउँमा भेला हुने, पहिले नै छनोट गरिएको किताबमाथि सबैले पालैपालो आआफ्ना विचार एवं मत राख्ने, फरक मत देखा परे त्यसमाथि सामूहिक छलफल गर्ने र हाँसीखुशी खानपीन गरेर त्यस एक दिनको कार्यक्रम समाप्त गर्ने प्रचलन चलाइएको छ । विदा हुनु पहिले अर्को भेटमा कुन चाहिँ किताब पढ्ने र त्यसमाथि छलफल केन्द्रित गर्ने भन्ने निष्कर्ष हुन्छ । यस्ता किताब क्लब छलफल कार्यक्रममा सहभागी हुने सबैले अनिवार्यतः निर्दिष्ट किताब पढेकै हुनु पर्दछ । चिया, खाजा र खानपीनको सन्दर्भमा आयोजक–घरधनी एक्लैले वा अन्य सबै सदस्य मिलेर समान रूपले खाने सामग्री ल्याएर अथवा एकाध जना मात्र मिलेर व्यवस्थापन गर्न सक्ने प्रावधान हुन्छ ।
मेरा किताबप्रेमी साथीले भने झैँ मलाई लाग्छ, नयाँ किताब पढ्नु भनेको कुनै अनजान साथीलाई भेटे जस्तै हो । ती किताबहरू नै त हुन् जसले हाम्रो अनुपस्थितिमा पनि पिठ्यूँ पछाडि मेरो, तपाईंको, हाम्रो वा अन्य कसैको कुरा कहिल्यै काट्दैनन् । बरु हामीभित्र आलोचनात्मक सोच र विश्लेषण क्षमताको विकास गर्न सघाउँछन् । अमेरिकी निबन्धकार–कवि–दार्शनिक आर.डब्लू.एमर्सन भन्ने गर्थे, कुनै पनि मानिसलाई चिन्नु र बुझ्नु छ भने उसले के कस्ता किताब पढ्ने गर्दछ भनेर जाने हुन्छ ।
यसरी किताबका कुरा काटी बस्दा मलाई लागिरहन्छ, कभर अथवा आवरण या मुखपृष्ठ हेरेर मात्र किताबको स्वाद र त्यसको गुणवत्ता थाहा हुँदैन । त्यसले दिने शिक्षा, मनोरञ्जन र सन्देश थाहा पाउन त किताबै पढ्नु पर्छ । ठीक त्यसरी नै जसरी अण्डा नफुटालीकन अमलेट बनाउन सकिँदैन, ओखर नफुटालीकन घाँजी खान सकिँदैन, र, बोक्रा नछोडाइकन सुन्तला खान सकिँदैन ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *