कविताः म पनि हाँस्न थालें बेलगाम

Nayabimarsha (Weekly Newspaper from Nepal)

एलबी क्षत्री

अनुहारमा गुनासो
मनभित्र अन्तद्र्वन्द्व
मस्तिष्कमा अनगिन्ती अनुत्तरित प्रश्नहरू
अनिश्चय र रहस्यको पोको बोकेर हिँड्ने

एक विचलित पात्र
फूलहरूको बगैँचामा प्रवेश गर्दा
मस्त फक्रिरहेका पहेँला सयपत्रीहरूले
चिहाउँदै सोधे मलाई –
‘कता हो सर ?
आज पाइला किन यति बोझिल ?
निधारमा किन यति धेरै गुनासाका धर्का ?’

म मौन थिएँ
तत्काल,
पिउटिनियाका ससाना फूलहरू पनि
खितित्त हाँस्दै जिस्किए–
‘जिन्दगी छोटो छ सर
हामी त
हाँसी–हाँसी उम्री दिन्छौं
फक्री दिन्छौं
हाँसी–हाँसी बाँची दिन्छौं
लत्री दिन्छौं
हामी त,
हाँसी–हाँसी नै झरिदिन्छौं
भूइँमा…

अनि,
हाँस्न थाले–
एकाएक बगैँचाका सबै फूल
विस्मय मिश्रित उन्मादको हाँसो
बेलगाम भई

अहा !
म पनि तरङ्गित भएँ
मन र मस्तिष्कमा अल्झिएर बसेका
अनगिन्ती
अनुत्तरित
प्रश्नहरूलाई पन्छ्याउँदै
अन्तद्र्वन्दलाई विश्राम दिँदै
मिस्सिएँ म पनि फूलहरूको हाँसोमा
र,
हाँस्न थालें,
म पनि बेलागम…

त्यसपछि
अनुहारमा कुनै गुनासो रहेन
थियो त मात्र–
मस्तिष्कमा शान्ति
मनमा उत्साह
ओठमा मुस्कान
र हृदयमा मधुर आनन्दको स्पन्दन…।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *