हाम्रो पुस्तकालय: हाम्रो भविष्य

Nayabimarsha (Weekly Newspaper from Nepal)

खिम लामिछाने ’काजी’
पुस्तकालय कुनै नयाँ आविष्कार होइन, तर हरेक पुस्तालाई नयाँ बनाउने अद्भुत स्रोत हो । यो त्यस्तो स्थान हो, जहाँ ज्ञान साँचिन्छ, विचारहरूको आदानप्रदान हुन्छ, र चेतनाको उज्यालो फैलिन्छ । नेपाल पुस्तकालय संघद्वारा हरेक वर्ष २०६५ सालदेखि निरन्तर रूपमा पुस्तकालय दिवस भाद्र १५ गते मनाउने गरिन्छ । साथै हरेक पुस्तकालय दिवसमा एउटा नारा सृजना गरिन्छ, जसलाई हामी आदर्श वाक्य भन्दछौं । यस पालिको आदर्श वाक्य ‘हाम्रो पुस्तकालयः हाम्रो भविष्य’ भन्ने रहेको छ । यो केवल एउटा नारा वा आदर्श वाक्य मात्र होइन, कि हाम्रो सामाजिक, शैक्षिक र नैतिक विकासको बाटो सुधार्ने वाणी पनि बनोस् – पुस्तकालय दिवसको शुभकामना !
१८ औं पुस्तकालय दिवसको आदर्श वाक्यः ‘हाम्रो पुस्तकालयः हाम्रो भविष्य’
पुस्तकालय कुनै केवल किताब राख्ने ठाउँ मात्र होइन, यो त ज्ञानको खानी, सोचको स्रोत, र सभ्य समाज निर्माण गर्ने आधार हो; जहाँ अक्षरहरू मौन हुन्छन् तर बोल्छन्, जहाँ शब्दहरू केवल पढिँदैनन्, जीवनलाई दिशा दिन्छन्, र जहाँ बच्चादेखि वृद्धसम्म सबैले सिक्ने अवसर पाउँछन् । यही कारणले “हाम्रो पुस्तकालयः हाम्रो भविष्य” भन्ने नारा केवल प्रचारको शब्द होइन, यो त पुस्तान्तरणको बाटो हो, जसले हाम्रा बालबालिकामा जिज्ञासा, युवामा क्षमता र समग्र समाजमा चेतना रोप्छ, र हामीलाई किताबप्रेमी, विचारशील र समुन्नत राष्ट्रतर्फ अघि बढाउँछ ।
आजको युग सूचनाको युग हो, जुन हामी सबैलाई थाह भएको कै कुरा हो । तर सूचना र ज्ञानमा ठूलो अन्तर हुन्छ । सूचना त इन्टरनेटले दिन सक्छ, तर गहिरो अध्ययन, विश्लेषण र जीवनमा परिवर्तन ल्याउने शक्ति चाहिने ज्ञान भने पुस्तकालयले दिन्छ । पुस्तकालयहरू सच्चा अर्थमा विचारको गोदाम हुन् । जहाँ केवल किताबहरू राखिंदैनन्, भविष्यका सपना पनि साँचिन्छन् ।
पुस्तकालयः भविष्यका लागि लगानी
‘हाम्रो पुस्तकालयः हाम्रो भविष्य’ नाराले एक गहिरो सन्देश दिन्छ—यदि हामीले पुस्तकालयलाई संरक्षण, प्रवद्र्धन र विस्तार ग¥यौं भने हाम्रो भविष्यको जग बलियो हुन्छ । आज एउटा किताबको मूल्य कम लाग्न सक्छ, तर त्यो किताबबाट उत्पन्न हुने विचारको मूल्य अपार हुन्छ । पुस्तकालयहरूमा गरिएको लगानी भनेको केवल भवन निर्माण होइन, त्यो त मानव चेतनामा गरिएको लगानी हो ।
आजका बालबालिकालाई यदि पुस्तकालयमा आकर्षित गर्न सक्यौं भने, भोलि उनीहरू विचारशील नागरिक बन्नेछन् । तिनीहरूले लोकतन्त्र बुझ्नेछन्, वातावरणको रक्षा गर्नेछन्, विज्ञानलाई सम्मान गर्नेछन्, र समाजप्रति उत्तरदायी रहनेछन् । यो परिवर्तन केवल स्कुल वा विश्वविद्यालयबाट सम्भव छैन, त्यसमा पुस्तकालयको पनि उत्तिकै भूमिका हुन्छ ।
पुस्तकालयको ऐतिहासिक र सामाजिक महत्त्वः
पुस्तकालयको इतिहास निकै पुरानो छ । ग्रीक, रोमन, भारतीय र इस्लामिक सभ्यताहरूमा पुस्तकालयले महत्त्वपूर्ण भूमिका खेलेका छन् । नेपालमा पनि हाम्रो परम्परागत शिक्षा प्रणाली गुरुकुल, गुम्बा, विहार वा पाटी–पौवामा मौखिक र लिखित ज्ञान सञ्चित गर्ने कार्य पुस्तकालयकै प्रारूप थियो । आधुनिक पुस्तकालयको स्वरूप भने अहिलेको शिक्षा प्रणालीसँगै विकसित भएको हो ।
पुस्तकालयहरू कुनै पनि समाजको बौद्धिक स्वास्थ्यको सूचक हुन् । जहाँ पुस्तकालयहरू जीवित छन्, त्यहाँ विचारहरू मुक्त छन्, बहसहरू खुला छन्, र नागरिक सचेत छन् । पुस्तकालय एक यस्तो स्थान हो, जहाँ सबै वर्ग, जात, धर्म, लिङ्ग र उमेरका मानिसहरूलाई समान अवसर प्राप्त हुन्छ । यो समावेशिता नै पुस्तकालयको सच्चा सौन्दर्य हो ।
पुस्तान्तरणमा पुस्तकालयको भूमिका
वर्तमान पुस्ता, विशेषगरी बालबालिका र युवा, डिजिटल युगमा हुर्किरहेका छन् । इन्टरनेट, मोबाइल एप्स, युट्युब, च्याटजीपीटी जस्ता उपकरणहरूले सिकाइलाई सहज बनाएका छन्, तर ती सबैले पुस्तकालयको ठाउँ लिन सक्दैनन् । पुस्तकालयमा केवल सामग्री पढिँदैन; त्यहाँ अनुशासन, गम्भीरता, मौनता र सोच्ने वातावरण प्राप्त हुन्छ ।
एक विद्यार्थीका लागि पुस्तकालय त्यस्तो आँगन हो, जहाँ उसले पाठ्यपुस्तकबाहेक अरू विश्व पनि चिन्छ । ऊ साहित्य पढ्छ, इतिहास बुझ्छ, विज्ञानमा खोज गर्छ, र समाजशास्त्रमा प्रश्न उठाउँछ । पुस्तकालयले उसको आत्मबल, अभिव्यक्ति र विश्लेषण क्षमतालाई विस्तार गर्छ । यदि आज हामी बालक, युवा, सबै तह तप्काका व्यक्तिहरूलाई पुस्तकालयप्रति प्रेम पैदा गर्न सक्यौं भने सबै क्षेत्रमा नेतृत्व लिनेहरू विवेकी, जिम्मेवार र दूरदर्शी बन्न सक्छन् ।
पुस्तकालय र प्रविधिको सहयात्रा
आजको युग सूचना प्रविधिको युग हो । पुस्तकालय पनि यो परिवर्तनसँग कदम मिलाउँदै अघि बढिरहेको अवस्था छ । डिजिटल पुस्तकालय, ई–बुक्स, अडियो पुस्तक, अनलाइन जर्नलहरू, र डेटाबेसहरू पुस्तकालय सेवाको नयाँ आयाम हुन् । नेपालमा पनि केही पुस्तकालयहरूले धेरै पहिले देखी अनलाइन सेवा शुरू गरिरहेका छन्, तर यो यात्रा अझ धेरै टाढा जानु आवश्यक छ ।
सहुलियत दिन सक्छ, तर भौतिक पुस्तकालयमा जुन अनुभूति पाइन्छ, अध्ययनको आत्मीय वातावरण हुन्छ, त्यो लेभलको अनुभव र अनुभूति डिजिटल पुस्तकालयले दिन भने सक्दैन । यद्यपि डिजिटल पुस्तकालयले समयको माग हो । जति छिटो समयमा डिजिटल पुस्तकालयले सूचना उपलब्ध गराउन सक्छ, त्यही रफ्तार भौतिक पुस्तकालयले भने दिन सक्दैन । त्यसैले दुवैको सहअस्तित्व आवश्यक छ । प्रविधि र परम्पराको सन्तुलित संयोजन ।
समुदाय र नागरिक शिक्षामा पुस्तकालय
पुस्तकालय केवल शैक्षिक संस्था होइन । यो सामुदायिक जागरणको केन्द्र हो । यहाँ वाचन कार्यक्रम, छलफल, कार्यशाला, बाल विकास कार्यक्रम, महिला सशक्तीकरण, वृद्ध नागरिक शिक्षाजस्ता कार्यक्रम सञ्चालन गर्न सकिन्छ । यस्ता क्रियाकलापले पुस्तकालयलाई समुदायको जीवन्त केन्द्र बनाउँछ ।
त्यस्तै, ग्रामीण क्षेत्रका पुस्तकालयहरूले अझै पनि पाठ्यपुस्तकको पहुँच नपाएका विद्यार्थीलाई उज्यालो प्रदान गर्न सक्छन् । गाउँमा किताब पुग्दा सोच बदलिन्छ, अभिभावकको दृष्टिकोण बदलिन्छ । साना पुस्तकालयहरू गाउँका बुद्धिजीवी उत्पादन केन्द्र बन्न सक्छन्, यदि नीति निर्माताले त्यसलाई प्राथमिकता दिएको खण्डमा । तर हाम्रो देशको नीति निर्माताहरूले पुस्तकालयलाई कहिल्यै प्राथमिकतामा राखेको पाइँदैन । यद्यपि हरेको पार्टीको चुनावी घोषणा पत्रमा भने पुस्तकालय निर्माण भन्ने शब्द भने छुटेको हुँदैन ।
वर्तमान अवस्था हालका पुस्तकालयहरूलाई सिर्फ पुस्तक राख्ने भण्डारण केन्द्रको रूपमा परिणत भएको महसूस हुँदैछ । पुस्तकालयहरू पुस्तक पढ्ने पाठक समक्ष पुस्तक आदान–प्रदान गर्ने मात्र होइन समाज केन्द्रित लोककल्याणकारी कार्यक्रम सञ्चालन गर्ने ठाउँको रूपमा विकास गरिँदै लगिनु पर्दछ । समयअनुसार पुस्तकालयको ढाँचा, स्वरूप र कार्य प्रणालीमा परिवर्तन आउन जरूरी देखिन्छ ।
उदाहरणको लागि २००७ साल भन्दा अगाडि खोलिएका वाचनालय वा पुस्तकालयहरूमा प्रजातन्त्र ल्याउनको लागि जनचेतना जगाउने कार्यमा बढी उपयोगी हुन्थे । अहिले अस्तित्वमा रहेका सबै पुस्तकालयहरू धेरै जसो उपन्यास पढ्न, पत्रपत्रिका पढ्नको लागि प्रयोगमा आइरहेका छन् । त्यसो त खोज तथा अनुसन्धानमा पनि पुस्तकालयको प्रयोग भइरहेको छ तर नगण्य रूपमा । यदि पुस्तकालयले समाजसँग सम्बन्धित विभिन्न कार्यहरू जस्तैः सम्भव गतिविधिहरू (हरेक महफनामा गर्न सकिने) पठन प्रतियोगिता, कथाकविता वाचन, बाल चित्रकला÷लेखन, ज्ञानमूलक चलचित्र प्रदर्शन, डिजिटल लिटरेसी वर्कशप, एआइ, आइसीटी परिचय कार्यक्रम, स्थानीय लेखक भेला, नयाँ पुस्तक प्रदर्शन, पुस्तक दान कार्यक्रम, स्वास्थ्य, वातावरण वा अधिकार विषयक छलफल आदी जस्ता कार्यक्रमहरू गर्दै गएमा पुस्तकालयमा पाठकहरूलाई आज बढी आकर्षित गर्न सकिन्छ । पोखरामा रहेको पोखरा सार्वजनिक पुस्तकालयले बर्सेनी यस्ता थुप्रै कार्यक्रमहरू सञ्चालन गर्दै आएको पाइन्छ ।
ग्रामीण क्षेत्रमा परिवर्तनको सम्वाहक
विशेषगरी ग्रामीण क्षेत्रमा पुस्तकालयले डिजिटल पहुँच ल्याउन सक्छ, महिला र समुदाय सशक्त बनाउन सक्छ, स्वास्थ्य, शिक्षा र आत्मनिर्भरता बढाउन योगदान पु¥याउँछ । पुस्तकालयको माध्यमबाट ग्रामीण क्षेत्रहरूमा एआई प्रविधिको विस्तार र उपयोग गरी त्यहाँका जनताको शिक्षा, कृषि, स्वास्थ्य, रोजगारी लगायतका क्षेत्रमा क्रान्तिकारी परिवर्तन ल्याउन मद्दत मिल्दछ । एउटा पुस्तकालयले पूरै गाउँको विकासमा योगदान दिन सक्दछ ।
उदाहरणका लागि २०५९ सालमा उदयपुर जिल्लाको त्रियुगा नगरपालिकामा संगम सामुदायिक पुस्तकालय स्थापना भएको थियो । २०१० तिर यसको अवस्था झन बिग्रियो र बन्द हुन लागेको थियो, तर नेपाल लाइब्रेरी फाउन्डेशन (एनएलएफ) र स्थानीय नेतृत्वको प्रयासले २०१७ मा यसलाई पुनर्जीवित गरायो । त्यसपछि पारम्परिक पुस्तकालय सेवासँगै महिला कम्प्युटर साक्षरता कक्षा, ई–पुस्तकालय, डिजिटल पुस्तकालय, इन्टरनेट सेवा जस्ता सुविधाहरू थपियो  । बिस्तारै समुदायसँग सहकार्य गर्दै स्थानीय आर्थिक सहकारी संस्था, सामाजिक सुधार केन्द्र पनि सञ्चालनमा ल्याइएको छ जसले समुदायसँग पुस्तकालयको सम्बन्ध अझ प्रगाढ बन्दै गएको छ । हाल यस पुस्तकालयले ५०,००० भन्दा बढी स्थानीय बासिन्दालाई सेवा पु¥याएको छ भने यो समग्र समुदायको स्रोत केन्द्र बन्न पुगेको छ । महिला सशक्तीकरण कार्यक्रम, कम्प्युटर तालिम, डिजिटल पहुँच र सामाजिक एकता पहलले स्थानीय जीवनस्तरमा सकारात्मक प्रभाव पु¥याएको छ ।
त्यसैगरी रिड नेपालले स्थापना गरेको जुवानी कम्युनिटी पुस्तकालय, चितवनमा रहेको पुस्तकालयले स्थानीय महिलाहरूलाई सशक्त बनाउन, प्रशिक्षण, र सुरक्षित मातृत्व सेवा सन्देश प्रवाह गर्न प्रभावशाली कार्यक्रम सञ्चालन गरेको छ ।
यसैले पुस्तकालय केवल किताबको कोठा होइन, यो परिवर्तन ल्याउने एक सामाजिक शक्ति हो । पुस्तकालय दिवस विशेष दिन हो । यसले हामीलाई पुस्तकालयको महत्त्व सम्झाउँछ । ज्ञान, अध्ययन, र चेतनाको विकास भने वर्षमा एक दिनमा मात्र सीमित हुन सक्दैन । ज्ञान त दैनिक अभ्यास हो, त्यसैले पुस्तकालयसँगको सम्बन्ध पनि निरन्तर र जीवन्त हुनुपर्छ ।
‘पुस्तकालय दिवस’ एक प्रेरणा हो, तर यदि हामीले हाम्रो जीवनलाई पुस्तकालय–मैत्री बनायौं भने त्यो प्रेरणा सिर्जनामा रूपान्तरण हुन्छ । पुस्तकालय जीवन्त हुँदा समाज बौद्धिक रूपमा सशक्त बन्छ । जय पुस्तकालय !
(असिस्टेन्ट मेनेजर– लाइब्रेरी, मणिपाल कलेज अफ मेडिकल साइन्सेज)

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *