शम्भु अर्याल
इच्छा प्रकटीकरण मस्तिष्कभन्दा मनमा हुन्छ । अपूर्णतामा अनुहारभन्दा बढी मन छट्पटिन्छ । मनको आभा पनि अनुहारले पढ्न सकिँदैन । चिरिएको मानिसको प्रभा त झन् तनले पनि निर्माण गर्न सक्दैन ।
इच्छाले नाम पाउन सकिन्छ, नजोडिएको प्रेम प्राप्त गर्न सकिँदैन । जब छुट्टिन्छ कति तड्पिन्छ, रुखिएर, पग्लिएर मन मस्तिष्कमा एक्लैएक्लै रोइरहने रहेछ । प्राप्त गर्न नसकेका अनुरागीलाई मात्रै प्रेममा उजाडिएको उपहार प्राप्त हुन्छ । न दिन मिल्छ न लिन, न जोड्न मिल्छ न बोल्न । इच्छा उडेर पनि ओढेर मनमै रगमग गरिरहन्छ । अन्तर्मनको इच्छा थिइन् उनी, जति दौडिएपनि मनमै बसिरहन्थिन् । उसबखत सम्झिइरहन्थेँ, दमित भयो भने मन छटपटिन्छ र हरबखत किनारमा सम्झिइरहन्छ । त्यहाँ पानी हुन्छ । फराकिलो हुन्छ । निलो हुन्छ । बलिरहन्छ ।
प्राप्त गर्न नसकेको इच्छाजस्तै अपूरो भइन् उनी, अमूर्त बनिन्– जतिबेला पनि माया मात्रै गरिरहने । कहिल्यै नरिसाउने, हिमालजस्तै सेतै फुलेकी, गुलाबजस्तै अनेक फक्रिएकी, हिउँमा छाया ढल्किएर सिँदुर बनेकी । लालुपातेजस्तै शिर नुगेर रातै बनेकी, चुल्ठोमा बुकी फूलजस्तै निक्खर, कोमल, कलाको शृङ्गार थिइन् । ममताको तातो वात्सल्य थिइन् । पग्लिइरहन्थिन्, बलिरहेको हुन्थेँ । कति उज्यालो मन थियो, प्राप्तिले पूर्ण थियो । दीप्ति थिइन्, हीरा थिइन्, टुक्राको अनमोल रत्न थिइन् । संसारको मरुभूमिमा एकलव्य एउटै विशाल रुख थिइन् । प्राप्तिको अभावमा अनमोल सिर्जना हुँदो रहेछ । प्रेम एक आडम्बर पनि रहेछ । प्रेममा शक्ति हुँदो रहेछ ।
उनी मनको इच्छा सम्हाल्न सक्ने गोलाकार शून्य थिइन्, जो छोडिएर अल्झिइरहिन्, मनमा घाउ परिरह्यो । बेलाबखतमा बल्झिइरहन्छ र बाझिएर साह्रै चर्किन्छ । अरु बोल्छ, इच्छा अपूर्ण हुन्छ, मान्छेको एकाकार मनमा पनि मुटुको वाचाल एक नुहुँदो रहेछ । चालमा मन टोलाइरहँदो रहेछ ।
मनमा चट्याङ परेपछि पनि सम्झिइरहेर एक्लै एक्लै सुइय सुस्ताएर मनको इच्छा खोजिरहँदोरहेछ । आफ्नो मान्छेले नचिनेर आवाजले मिचेपछि मित्रकै आडमा बसेर पनि कति एक्लो हुँदो रहेछ संसार । साह्रै साँघुरो हुँदो रहेछ फराकिलो आकाश, कति खल्लो हुँदो रहेछ मिलन । भेट्न नपाएर वर्तमानमा सोध्न भ्याएका आत्मीय पनि छली हुँदारहेछन् । जति पढे पनि मानिसको मन नै त झुटो हुँदो रहेछ । कति कठोर पदार्थले बन्दोरहेछ मान्छेको मन ।
ठूल्ठुला आँखाले कहिल्यै नरिसाएर, हिमचुर्काको बतासले सिरसिर ध्वजा उडाएर, सगरमा पछ्यौरी लहरिएर, वर, पिपल, शमी र ढलेको पिपलमा शीतल ताप्दा कति कोमल थियौ तिमी, मायाको खानी थियौ, मूल्य थिएन, तिमी अमूल्य बन्यौ जसले प्राप्त गर्यो, ऊ अझै उज्यालो बन्यो ।
अगाडि आँधी बगिरहेको छ । बाहुनथानको एक्लो रुखमा छाया परिरहेको हुन्छ तिमी उठ्दिनौ, ओरिपरि हुन्छ्यौ । इच्छा अप्राप्तिको त्यो क्षणमा म गडिरहेको छु ।
म उठेर खुशी छैन, उठेर माथि छैन, तलतल देखिने तिमी ममताको प्रतीक हौ, धरतीको केन्द्र थियौ, छटा थियौ । पहराको झरना बन्यौ– जो छङछङ बगिरह्यो । अप्राप्तिमा मन खडेरी परेर सुक्न सकेन । हिमालमा हिउँ पग्लिएर पनि मुटु चलिरह्यो । जब मन जम्दोरहेछ, मुटु बज्रिँदो रहेछ । मस्तिष्क चिसो हुँदो रहेछ । शरीरमा धड्कनको गति एउटै नहुनु मुटु बिमारी हो कि अभिशाप, न त डाक्टरले निको पार्न सके न त औषधिले नै ।
मस्तिष्कमा यो मनोरोग हुँदो रहेछ । कर्मयोगमा प्वाल परे पछि धमनीले बालुवा सिन्चित गर्दोरहेछ । इच्छा ! अप्राप्तिमा मुटुरोग रहेछ । मेरा लागि भने अर्जित प्रेमको अनुपम उपहार बनिरहेको छ ।
अपूर्ण भएपछि भौतिकताले के अर्थ राख्छ ? जीवन सालिक हुँदो रहेछ । अनुहार छ, इच्छा छैन । उभिइरहन्छ, पैताला छैन । हेरिरहन्छ मधुरो हुन्छ, झन् चहक बनेर नानीसम्म पानी धसिन्छ । अपूर्ण हुनु मानिसको कान्ति हराउनु मात्रै होइन रहेछ मानिसको लागि उचाइ बढ्दैजाँदा अक्सिजनको अभावले हरबखत व्याकुल बनेर तड्पनु भन्दा कारुणिक हुँदो रहेछ ।
माया नपाए उनको टाउको दुख्थ्यो । उनका सपनाजस्तै लाग्ने आशा पनि मैदानजस्तै फराकिला थिए । जसले असम्भव ठान्छ ऊ पछाडि फर्किन्छ । दृढ रह्यो, सङ्कल्प गर्यो र साधनामा निर्लिप्त बन्यो– अगाडि बढिरहन्छ । अघि पछि विचारले निर्माण गर्दो रहेछ । उनी बिलाएरै गइन् । आँखा दुइटै हुन्छ– सेतै हुन्छ, पर्दाले ढाकेर खरानी हुन्छ । सानो हुन्छ, बहुत हुन्छ । विविधतामा अल्प हुन्छ । ममतामा मनको इच्छा प्राप्त गर्ने सफल हुन्छन् । यो दृष्टिमा कला हुन्छ । सबै विधामा अनमोल हुन्छ । सत्य हुन्छ, मिलन हुन्छ ।
अनेकतामा एकता हाम्रो आवाज थियो । स्पष्ट र सत्य हाम्रो पथ थियो । हामी झुट कहिल्यै बोल्थेनौँ । हामीले एकअर्काको आँखा कहिल्यै छलेनौँ, रातो थियो, नानी थियो पानी पानी भयो । नानी तिमी ठोस हुन्छौ, त्यही चलमल पानी बनिदिन्छ, जमेर बरफ बनिदिन्छौँ, पग्लिएर ग्यास बनिदिन्छ । हामी दुइ चार ओटा फोका हौँ । लडेर एक्लिइरहन्छौँ ।
हामी चेम्बरका भाइरस होइनौँ । खरानीको उपत्यका हाम्रो सङ्केत थिएन । हामी दारी भित्रका लक्पा होइनौँ, फिलिङ्गा होइनौँ । हामीले जिउँदै मनको इच्छा जलाउदैनौँ । खरानीको भस मरिचिकाको टिका पनि लाउदैनौँ । हामी पानीका फोका हौँ, थोपा लहर होस् कि बलेँसी जहाँ अपर्झट जन्मिन्छ, यताउता लहरिन्छ, खेलिरहन्छ । जोडिएर फक्रिन्छ, सगरमा पनि एकैछिन अद्भुत सुन्दर बनेर यताउता उडिरहन्छ । एकैछिनमा प्याट्ट फुट्छ ।
मेरो मन, मनको अपूरो इच्छा, प्रेमलाई बिर्सिएर कसरी तिमी निदाउन सकेकी छौ ? मलाई निदमा पनि, स्मरणमा पनि हरपल जागराम बनाइदिने तिमी कहिल्यै नमेटिने खत बन्यौ । सन्नाट अविराम अल्झिएर सुइय्य सुस्ताएर कसरी सुत्न सक्छ्यौ तिमी ? तिम्रो मनको इच्छा कति कठोर रहेछ । आफू फक्रिएर अर्को मुटु असमान धड्काउन सक्ने हृदयमा विजयको जरा वर कस्तो हुन्छ ? सोच्थेँ प्रेम पिँजरा होइन । अप्राप्तिमा बिलखबन्द चौघेरो हुँदो रहेछ । प्राप्तिमा अनुपम उपहार हुँदो रहेछ ।
