अनुसा थापा
मुलुकभर अहिले आर्थिक मन्दीको प्रभाव देखिएको छ । काठमाडौं उपत्यका होस् या बाहिरका अन्य जिल्ला धमाधम सटर खाली हुँदै गएका छन् । चारवटा सटर भएका घरमा तीनवटा त खाली नै छन् । व्यापारमा सुख्खाराम लागेपछि व्यवसायीहरुले धमाधम सटर छोडिरहेका छन् । उनीहरु विदेश पलायन भइरहँदा घरधनीहरुको होस् उडेको छ । घरजग्गामा लगानी गर्दा नाफा हुने भएपछि सबैको ध्यान यही केन्द्रित भयो ।
घर बनाउने ‘कम्पिटिसन’ नै चल्यो । व्यापार व्यवसायबाट केही पैसा कमाएकाले पनि घरजग्गामा नै लगानी गरे । विदेश गएका र जागिर खाएकाहरुको आँखा पनि त्यतै गाढियो । घर बनाउने यति होड चल्यो कि आफूसँग भएको पैसाले नपुग्ने भएपछि बैंकबाट धमाधम कर्जा लिन थालियो । जग्गा बैंकको नाममा धितो राख्ने अनि कर्जा लिएर घर ठड्याउने । घरजग्गामा लगानी गर्नुपछाडि पनि थुप्रै कारण छन् ।
पहिलोः दलालीहरुले घरजग्गाको मूल्य दिनको दुई गुणा र रातको चार गुणाले बढाए । दोस्रोः भाडामा लगाएर बसीबसी खाने अल्छीहरुका लागि यो सबैभन्दा उत्तम उपाय हो । तेस्रोः छिटो नाफा हुने देखेपछि बैंकले पनि धमाधम कर्जा दियो । आनाको २० लाखमा किनेको जग्गा एक महिनामै दोब्बर भाउ पुग्थ्यो । अनि लगानी नगर्ने त कुरै भएन । घरजग्गाको भाउ निरन्तर आकाशिँदै गयो ।
सबैले घरजग्गा फाइदै फाइदा देखे । खरिदकर्ताले घरजग्गाको नक्सा, लालपूर्जा, घर बाटो र चार किल्ला लिएर पेश गरेको एक घण्टामै बैंक तथा वित्तीय संस्थाले कर्जा दिइहाल्थे । मालपोत कार्यालयमा तुरुन्तै जग्गा रोकेर पैसा दिइहाल्थ्यो । ६० लाखको जग्गालाई ५० लाख रुपियाँ कर्जा दिइएको पाइन्छ । यता, बैंक र सहकारी संस्था पनि कहाँ लगानी ग¥यौं भनेर ढुकेर बसेका हुन्थें ।
बचतकर्ताले राखेको निक्षेप लगानी गर्न सकिएन् भने कहाँबाट ब्याज खुवाउनु ? बैंकलाई पनि समस्या नै थियो । पहिले पहिले बैंकका कर्मचारी आफैं ऋण लिने मान्छे खोजेर हिँड्थें । घरजग्गाको व्यवसाय फस्टाएसँगै बैंक तथा वित्तीय संस्थालाई पनि फाइदा नै भयो । बैंकको काम अरुले राखेको पैसा लगानी गरेर नाफा खानु हो । बैंकका कर्मचारीले दुइटा डुंगामा खुट्टा हालेका हुन्छन् ।
एउटा डुंगामा बचतकर्ता, अर्को डुंगामा ऋणी हुन्छन् । दुइटैलाई बैंकका कर्मचारीले सँगसँगै लग्छन् । पछिल्लो समय बैंकमा बढी नाफा कमाउने होडबाजी नै चलेको छ । हरेक वर्ष सबैभन्दा धेरै नाफा कमाउने बैंकको नाम सार्वजनिक गर्ने गरिएको छ । जसरी हुन्छ बैंकलाई नाफा कमाउने मामिलामा पहिलो स्थानमा आउनु छ । जसले गर्दा बैंकहरुले आँखा चिम्लेर घरजग्गा, शेयर र गाडीमा लगानी गरे ।
दुई वर्षअगाडि फर्किने हो भने एकैदिन २३ अर्ब रुपियाँको शेयर कारोबार भएको छ । त्यही वर्ष शेयरको कारोबार घटेर ४८ करोडमा झ¥यो । मूल्य घट्नु र बढ्नु स्वाभाविकै हो यद्यपि एक दिन २३ अर्बको कारोबार हुनु र फेरि ४८ करोडमा झर्नुले शेयर बजार टिकाउ छैन भन्ने कुरा प्रष्ट हुन्छ । कम्पनीले त एक सय रुपियाँमा शेयर निकाश गर्छ । त्यही शेयर ३२ सय रुपियाँसम्म पुग्यो ।
शेयरलाई ३२ सय पु¥याउने को त ? व्यापारीले एक सय रुपियाँको शेयर ३२ सय रुपियाँ पु¥यायो । सरकारको त त्यसमा कुनै हात नै छैन । शेयरको मूल्य ३२ सय भए पनि सरकारले पाउने राजश्व एक सय रुपियाँकै हो । जग्गाको पनि त्यही नै हो । सरकारी दर एक लाख रुपियाँ भएको जग्गामा करोडौं लगानी गरिएको छ । राज्यले पाउने राजश्व त लाखकै हो नि ।
केही कारणबस् सरकारले त्यो जग्गा लियो भने त क्षतिपूर्तिबापत दिने त सरकारी दर नै हो । सबैले सरकारी दरलाई वास्ता गरेनन्, बजार दरको पछाडि लागे । बैंक तथा वित्तीय संस्था त जिम्मेवार हुनुपथ्र्यो । तिनीहरु पनि बजार दरअनुसार नै चले । बजारमा चलेको भाउ हेरेर कर्जा लगानी गरिएको छ । धितो मूल्याङ्कन गर्दा बजारमा चलेको दरअनुसार गरिन्छ । बजारले जहिले पनि रफ्तार लिन्छ भनेर धमाधम लगानी गरियो ।
बजारमा मन्दी आउन सक्छ है । आँखा चिम्लिएर गरिएको लगानी डुब्न सक्छ भनेर कसैले सोचेनन् । बजार जहिले उही गतिमा चल्दैन । मुलुकमा देखिएको राजनीतिक अस्थितरताका कारण निकै होसियार भएर लगानी गर्नुपर्ने छ । यो कुरा न बैंक, फाइनेन्सले सोच न सर्वसाधारणले । दलालीले मूल्य ह्वात्तै बढाएर बेचिहाले, नाफा आफ्नो खल्तीमा हालिहाले । फस्ने त सीधासाधी आम सर्वसाधारण ।
उनीहरुलाई अहिले कर्जा तिर्न धौं धौं परेको अवस्था छ । कतिपय ऋणीले त हात पनि उठाइसकेका छन् । बैंक, फाइनेन्सलाई अहिले जथाभावी गरिएको कर्जाले समस्यामा पारेको छ । मनलाग्दी लगानी गर्दाको असर सहकारीमा देखि हालियो । बैंक तथा वित्तीय संस्थाले सोचविचार नगरी कर्जा लगानी गर्दाको असर मुलुकको अर्थतन्त्रमा परेको छ । बैंक, सहकारी होस् या फाइनेन्स, पैसा त आम सर्वसाधारणको हो ।
बैंक त एउटा सहजकर्ता त हो । बैंक तथा वित्तीय संस्थाको लगानी केही हुँदैन, बीचमा बसेर नाफा कमाउने मात्रै हो । निक्षेपकर्ताले राखेको निक्षेप लगानी गर्नुअघि विचार पु¥याउनुपर्छ कि पर्दैन ? उद्योगमा लगानी गरिदिएको भए आज यो अवस्था नै आउँदैन्थ्यो । लाखौं नेपालीले रोजगारी पाउँथे । निक्षेपकर्ताको निक्षेप पनि सुरक्षित हुन्थ्योे । सहकारीहरु धमाधम भागिरहेका छन् ।
लाखौं निक्षेपकर्ता सडकमा आएका छन् । कारण खोज्यो भने घरजग्गा, शेयरमा गरिएको लगानी । निक्षेपकर्ताले घरजग्गा, शेयरमा लगानी गर्नु भनेर राखेको पैसा त होइन । सुरक्षित हुन्छ, अलिअलि ब्याज पनि आउँछ भनेर राखेका हुन् । उनीहरुको दुःख पसिनाको कमाइ लगानी गर्नुभन्दा अगाडि बैंक तथा वित्तीय संस्थाले सोच्नुपथ्र्याें । अधिकांशको घरजग्गा, शेयर बैंकको नाममा छ ।
राज्यको ढुकुटीमा राजश्व आउने पनि यिनै क्षेत्र हुन् । यही क्षेत्रमा अहिले आर्थिक मन्दी छ । राजश्व नउठेपछि सरकारलाई सरकारी खर्च धान्न सकस परेको छ । संघीयता राज्यलाई नै बोझ बनेको अवस्था छ । विदेशी ऋण तिर्न नसक्ने अवस्था छ । घरभाडामा लगाएर खान्छु, बैंकको कर्जा तिर्छु भन्नेहरु यहाँ धेरै छन् । महिनाको लाखौंदेखि करोडौं रुपियाँसम्म भाडा उठाउने घरधनीहरुलाई अहिले बैंकको किस्ता तिर्न नै हम्मेहम्मे छ ।
महंगी र बेरोजगारीको कारणले कोठा छोड्नेको संख्या ह्वात्तै बढेको छ । सर्वसाधारणसँग जीविकोपार्जन गर्न दुइटै उपाय छ । कि गाउँ जाने कि विदेश । यहाँ बस्नै नसक्ने भइसकेको छ । धेरैले व्यापार व्यवसाय छोडिसकेका छन् । भएकाले पनि दशैंतिहारसम्म कुरेको अवस्था छ । चाडपर्वमा व्यापार बढ्छ कि भनेर आशमा छन्, व्यापारीहरु । बजारलाई कसरी ‘ट्रयाक’ मा ल्याउने ? सरकारसँग कुनै योजना नै छैन ।
नेपालको आफ्नो उत्पादन केही छैन् । न उद्योग छ न कलकारखाना । उद्योग व्यवसायी भन्छौं तर कुन सामानचाँहि आफ्नो छ ? अर्कोको देशबाट सामान ल्याउने, बीचमा बसेर नाफा खाने । यस्तालाई उद्योग व्यवसायी भन्नुपरेको छ । घर बनाउने ‘टे«ण्ड’ का कारण मुलुक ध्वस्त बन्यो । सर्वसाधारणले त यसलाई जागिर नै बनाए । सबैभन्दा सजिलो पेशा भनेको घर बनाउने, भाडामा लगाउने ।
काम पनि गर्नु नपर्ने, महिना मरेपछि बसीबसी भाडा आउने । अब अहिले आएर थुकथुकाएर के गर्नु । पैसा गएर फ्रिज भइसकेको छ । रोएर भएन, कराएर भएन । व्यक्तिको मात्रै भएको भए त हुन्थ्यो, बैंक, फाइनेन्सको लगानीसमेत त्यही छ । पहिलेकै स्थितिमा बजार फर्किने कुनै लक्षण नै देखिँदैन । आम जनतालाई बिहानबेलुका छाक टार्न मुश्किल छ । अब कसले घरजग्गा र शेयरमा लगानी गर्ने ?