रुषा थापा
सरकार राष्ट्र र जनताको अभिभावक हो । आफ्नो देश र जनतामाथि केही आँच आएमा सरकार खरो भएर उभिनुपर्ने हुन्छ । जनता र राष्ट्रको सुरक्षा, रक्षा गर्नुपर्छ । हाम्रोमा त सरकार देश र जनताको लागि खरो भएर उभिनु त परको कुरा, एउटा कानून र निर्णय समेत गर्न सक्दैन ।
अहिले नेपाली विद्यार्थीहरु लाखौं रुपियाँ खर्चिएर पढ्नको निम्ति अमेरिका, अस्ट्रेलिया, क्यानडालगायत विकसित मुलुक गइरहेका छन् । त्यहाँ पुगेका अधिकांश नेपाल फर्किँदैनन् । जाने बेला पढ्ने बहाना बनाए पनि उनीहरुको लक्ष्य र उद्देश्य नै त्यहाँको ‘ग्रिन कार्ड’ वा नागरिकता पाउनु हुन्छ ।
उनीहरुले नेपालको नागरिकता त्याग्छन् । अनि त्यहाँको नागरिक बन्छन् । सँगै यहाँ भएको पुख्र्यौली सम्पत्ति पनि बेचेर लैजान्छन् । नागरिकता त्यागे पनि पुख्र्यौली सम्पत्ति चाँहि त्याग्दैनन् । बेचेरै लैजान्छन् । सरकारले पनि नेपाली नागरिकता त्याग्नेले आफ्नो यहाँ भएको पुख्र्यौली सम्पत्ति बेचेर लैजान नपाउने निर्णय गरेको छैन ।
यसले गर्दा केही वर्षयता विकसित मुलुक विदेशिएकाहरुले नेपाली नागरिकता त्याग्ने र यहाँ भएको सम्पत्ति पनि बेचेर लैजाने क्रम हवात्तै बढेको छ । त्यसैले, आफ्नो देशको नागरिकता त्याग्नासाथ पुख्र्यौली सम्पत्ति पनि नपाउने र बिक्रीवितरण पनि गर्न नपाउने कानून अब सरकारले बनाउनुपर्छ । त्यस्तो सम्पत्ति राष्ट्रिकरण गरिनुपर्छ ।
सरकारले यो कानून नबनाउँदा एकातिर देशका दक्ष, सक्षम नागरिक विदेशिएका छन्, अर्कोतिर मुलुकको पैसा पनि बाहिरिएको छ । नेपालीले यहाँ भएको सम्पत्ति बेचेर लगी त्यहाँ घडेरी किनेको सुनिन्छ । यसरी वर्षेनी खर्बौ रकम अमेरिका, अस्ट्रेलिया, क्यानडालगायत विकसित मुलुक गइरहेका छन् । एक पटक अमेरिका, अस्ट्रेलिया पुगेपछि मानिसहरु नेपाल फर्किदैंनन् । यहाँ त पैसा पठाउँदैनन् नै उल्टै भएको समेत बेचेर लैजान्छन् । त्यहाँको सरकारले पनि आफ्नो देशमा पठाउँछ भनेर त्यहीँ ऋणमै घरजग्गा, गाडीलगायत विभिन्न बस्तु तथा सामग्री भिडाउँछ । अनि त्यहाँ कमाएको पैसा सबै त्यहीँ खर्चिनुपर्छ ।
नेपालीजन विदेशीको नोकर जस्ता बनेका छन् । त्यो देशको सरकारले जे भन्छ, त्यही गर्छन् । विदेशीलाई धनी बनाइरहेका छन्, नेपालीजन । अहिले नेपालमा आर्थिक मन्दी छ । अर्थतन्त्र शिथिल बनेको छ । यता, सरकार भन्छ, ‘विदेशी पर्यटकको आगमन बढ्यो । यसले राजस्व वृद्धि भयो ।’
सरकारकै तथ्ंयाक हेर्ने हो भने विदेशी पर्यटकको आगमनभन्दा नेपालीजन अमेरिका, अस्ट्रेलिया बढी विदेशिएका छन् । त्यो पनि मासिक अर्बो खर्चिएर । विदेशी आउँदा राज्यको ढुकुटीमा मासिक करोडको हाराहारीमा राजस्व संकलन हुँदा नेपालीजन मासिक अर्बो खर्चिएर विदेशी मुलुकमा पढ्ने बहानामा गइरहेका छन् ।
सरकार भने पढ्ने नाममा मुलुकबाट वर्षेपिच्छे खर्बो रकम बाहिरिँदा समेत केही गर्न सक्दैन । नेपाली नागरिकता त्यागेर यहाँ भएको पुख्र्यौली सम्पत्ति समेत बेचेर त्यहाँ लैजाँदा पनि सरकार केही गर्न सक्दैन । सरकार आफ्नो देशको दक्ष जनशक्ति र मुद्रा बाहिरिएको रमिते भएर बसिरहेको छ । मुलुकभित्र थुप्रै राम्रा÷राम्रा कलेज छन् । अध्ययनका लागि उत्कृष्ट कलेज छन् ।
नेपालमा गुणस्तरीय शिक्षा नभएको आरोप लगाउँदै पढ्ने बहानामा शुरुमा लाखौं खर्चिएर अमेरिका, अस्ट्रेलिया विदेशिन्छन् । अहिले कालोधन समेत विदेशमा लगेर राख्ने प्रवृत्ति हवात्तै बढेको छ । छोराछोरी विदेशमा पठाउने अनि यहाँ भ्रष्टाचार गरेर, राजस्व छलेर आयआर्जनगरेको गैरकानूनी सम्पत्ति त्यहाँ लगेर राखी छोराछोरीले कमाएको दाबी गर्ने गरिएको छ ।
अरु मुलुकको दक्ष जनशक्ति र पैसा आफ्नो मुलुकमा भित्र्याएर विकाससँगै धनी भएका छन् ती देशहरु । अरु देशको जनताको रगत, पसिना र पैसा चुसेर आफ्नो देशलाई विकसित र धनी बनाएका छन् । विडम्बना, हाम्राजस्तो मुलुकहरु भने आफ्नो देशको दक्ष, सक्षम जनशक्तिलाई देशभित्र रोक्न सकिरहेका छैनौं ।
देशको नागरिक र पैसा दुवै पलायन भइरहेका छन् । यसतर्फ अझै पनि सरकारको ध्यान गएको छैन । कन्सल्टेन्सीहरु आफ्नो फाइदाको निम्ति देशको नागरिक र पैसा दुवै विदेश पठाइरहेका छन् । यसले उनीहरुलाई त फाइदा होला तर समग्र राष्ट्रलाई क्षति पुगेको छ । अहिले कक्षा १२ उत्तीर्ण गर्नेबित्तिकै विदेशमा अध्ययन गर्ने नाममा विद्यार्थीहरु जान्छन् । उनीहरुलाई सानैदेखि नेपालमा बसेर केही हुन्न भन्ने भ्रम छरिदिएको छ । आफ्नो स्वार्थको लागि कन्सल्टेन्सी, दलालहरुले विद्यार्थीहरुमा यस्तो भ्रम छरिरहेका छन् । अहिले कक्षा १ देखि १२ सम्म अध्ययन गरिरहेका विद्यार्थीहरुकै मन, मस्ष्तिकमा नेपालमा बसेर केही हुन्न भन्ने भ्रम सिर्जना भएको छ । यसैले पनि कक्षा १२ उत्तीर्ण गर्नेबित्तिकै विद्यार्थीहरु अभिभावकहरुलाई विदेशिने योजना सुनाउँछन् ।
आफ्नो बालबच्चाको सुन्दर भविष्य अनि दलालहरुको लहैलहैमा लागेर नचाहेर पनि अभिभावकहरु आफ्नो छोराछोरी विदेश पठाउन बाध्य भइरहेका छन् । अर्कोतर्फ, कक्षा १२ उत्तीर्ण नगर्नुञ्जेल विद्यार्थीहरुलाई पनि यहाँको सबै कुरा ठीक लाग्छ । शिक्षा, राजनीति, हावापानी सबै ठीक लागेको हुन्छ । कक्षा १२ उत्तीर्ण गर्नेबित्तिकै साथी वा कन्सल्टेन्सी, दलालको लहैलहैमा लागेर आफ्नो देशको शिक्षा, स्वास्थ्य, राजनीति र हावापानीमाथि प्रश्न उठाउँदै लाखौं खर्चिएर पढ्ने बहानामा विदेशिन्छन् ।
खाडी मुलुक जानेहरु एकदेखि पाँच लाख खर्चिएर जान्छन् । मासिक ५० हजारदेखि लाखसम्म नेपाल पठाउँछन् । त्यो पैसाले उसको परिवार धान्छ अनि राज्यलाई पनि रेमिट्यान्स आउँछ । यता, विकसित मुलुक जान शुरुमै २० देखि ३० लाखसम्म खर्चिछन्, नेपालीजन । कतिपय त करोडौं खर्चिएर समेत गएका छन् । त्यहाँ पुगेर पनि उनीहरुले यहाँ पैसा पठाउँदैनन् । उल्टै त्यहाँ नै बस्न थाल्छन् । अनि यहाँको नेपाली नागरिकता त्यागेर पुख्र्यौली सम्पत्ति समेत बेचेर उतै लैजान्छन् । खाडी मुलुक गएकाहरु त्यहाँ कमाएकोले पैसाले नेपालमा घरजग्गा किनिरहेका छन् ।
विकसित मुलुक गएकाहरु नेपालमा भएको पुख्र्यौली सम्पत्ति समेत बेचेर लगिरहेका छन् । नेपाली नागरिकता त्यागेपछि त्यो व्यक्ति नेपाली हुँदैन । त्यसैले, अब सरकारले नेपाली नागरिकता त्यागेर विदेशी नागरिकता लिनेलाई नेपालमा भएको आफ्नो सम्पत्ति लैजान दिनुहुन्न । नागरिकता त्यागेपछि उसले कसरी नेपालमा भएको आफ्नो सम्पत्तिको हकदाबी गर्न पाउँछ ?
अब सांसदहरुले छिटोभन्दा छिटो विदेशी नागरिकता लिने नेपालीले नेपालमा भएको आफ्नो सम्पत्ति नपाउने कानून बनाउनुपर्छ । पढ्ने नाममा मुलुकबाट वर्षेनी खर्बौ रकम बाहिरिएको छ । अहिले मुलुकमा आर्थिक मन्दी वा संकट आउनुको विविध कारणमध्ये यो प्रमुख हो । यता, नेपाल राष्ट्र बैंक अर्थतन्त्र कसरी गम्भीर अवस्थामा पुग्यो ? कसरी बजारमा आर्थिक मन्दी आयो ? भनेर अध्ययन गर्दैन ।
अहिले पैसा जति सबै पढ्ने नाममा विदेशिएको छ । बाँकी भएको पनि घरजग्गा, गाडी र शेयरमा फ्रिज हुन पुगेको छ । राष्ट्र बैंक भने घरजग्गा र गाडीमा बैंक तथा वित्तीय संस्थाको कर्जा प्रवाह बढाइरहेको छ । सरकारको जग्गाको कित्ताकाट फुकुवा ग¥यो तर घरजग्गाको कारोबार बढेन । शेयरमा लगाइएको १२ करोडको सीमा हटाइयो । सवारीसाधन कर्जा पनि बढाइयो । यति गर्दा समेत शेयर र गाडीको समेत कारोबार बढेन । पैसा जति सबै पढ्ने बहानामा विदेशिएको छ । अब शिक्षा मन्त्रालयले यो रोक्नपर्छ । शिक्षामन्त्री सुमना श्रेष्ठले कि त देशको शिक्षा गुणस्तरीय छैन भनेर भन्नुपर्छ नभए विद्यार्थीहरुलाई विदेशिनबाट रोक्नुपर्छ ।
अहिले नेपाली विद्यार्थीहरु पढ्नको निम्ति धमाधम विदेशिँदा मुलुककै शैक्षिक गुणस्तरमाथि प्रश्न उठेको छ । मुलुकका ठूल्ठूल्ला कलेज, विश्वविद्यालयहरु बन्द हुनुपर्ने अवस्थामा पुगेका छन् । अनि नेपाली विद्यार्थीहरु चाहिँ लाखौं खर्चिएर पढ्नको निम्ति विदेशिरहेका छन् । अब शिक्षामन्त्री श्रेष्ठले जवाफ दिनैपर्छ, के देशको शिक्षा निकै कमजोर हो ?