अनुराधा
बालसाहित्य सम्बन्धी लेख तथा छलफलका विषय र बहसहरू प्रायः एकै प्रकारका हुन्छन् । जस्तैः ‘बालबालिकामा बालसाहित्यका पुस्तक पढ्ने बानी बसाल्ने ?’ वा ‘पठन संस्कृतिको विकास कसरी गर्ने ?’ यी उचित प्रश्नहरू हुन् । बालसाहित्यको क्षेत्रमा अहिलेसम्म देखिएका सकारात्मक पक्षहरू यिनै विषयमा बहस र समन्वयका कारण सम्भव भएका हुन् । कतै हामीले बालबालिकामा पढ्ने बानीको विकास गर्नुका कारणहरू तथा पठन संस्कृतिको विकास गर्नुपर्ने आवश्यकताबारे छलफल गर्दै गर्दा बालसाहित्य पठनको समग्र प्रभावलाई गौण बनाइरहेका त छैनौँ ? हामीले नै बालसाहित्यको उद्देश्यलाई ‘पढ्ने बानी र पठन संस्कृतिको विकास’ का लागि भनेर सीमित गरेकाले विकासका अन्य पक्षहरू जसरी मूलधारमा समाहित भएका छन्, त्यसरी नै बालसाहित्यलाई समाहित गर्न नसकेको हो कि ?
पुस्तक पढेर नै पढ्ने बानीको विकास हुँदै पठन संस्कृतिको विकास हुन्छ भन्ने कुरामा म पूर्णरूपमा सहमत छु । यो सत् प्रतिशत सत्य पनि हो । एउटा बालकथा लेखिका भएको नाताले मैले पनि सधैँ यो कुराको पैरवी गरिरहेकी हुन्छु । मेरो लेखको तात्पर्य हामी बालकथा लेखकहरू आफैँले बालसाहित्यबारे हाम्रो न्यारेटिभलाई “पढ्ने बानी र पठन संस्कृतिको विकास”कै वरिपरि मात्र घुमाएर साँघुरो दायरामा सीमित पो गरिरहेका छौँ कि भन्ने हो । मेरो बुझाइमा ‘पढ्ने बानी र पढ्न संस्कृतिको विकास’ भनेको बालसाहित्य पढ्दाको एउटा उत्पादन (बाइ प्रोडक्ट) मात्र हो । अझ यसलाई हामी तत्काल देखापर्ने उपलब्धि (आउट पुट) भन्न सक्छौँ वा केही समयपछिको उपलब्धिका रूपमा पनि लिन सक्छौँ । वास्तविक प्रभाव भने पक्कै पनि होइन । बालसाहित्यको खास प्रभाव पढेर सिकेका ज्ञानलाई व्यवहारमा उपयोग गर्नु र त्यसले घर, समाज र देश हुँदै संसारको समग्र विकासका लागि योगदान पु¥याउनु हो ।
विकासबारे थोरै चर्चा गरौँ । विकास त्यति जटिल कुरा होइन तर सोचेको जस्तो सजिलो पनि छैन । यो एकै पटक नभएर प्रक्रियागत रूपमा निरन्तर भइरहने कुरा हो । हिजोका दिनहरूमा विकासोन्मुख देशहरूमा विकासका लागि प्रविधि र आर्थिक पक्ष भए पुग्छ भन्ने सोचाइ रहेको थियो । सन् ६० को दशकबाट विकासका लागि मानवीय संसाधनको विकास अत्यन्त आवश्यक हुने कुरा महसूस हुन गयो । फलस्वरूप, हाम्रो जस्तो विकासोन्मुख देशहरूमा मानवीय संसाधनको विकासमा जोड दिन थालियो । नतिजा स्वरूप, हरेक दिन जसो होटेल तथा सभा हलहरूमा अभिमुखीकरण तालिम, गोष्ठी, सेमिनार जस्ता कुराहरू व्यापक रूपमा सञ्चालन हुन थाले ।
असल तथा दक्ष जनशक्ति भन्नाले के बुझिन्छ ? विकासका लागि चाहिने असल तथा दक्ष जनशक्ति भनेको प्रविधि रूपमा दक्षता हासिल गरेका र आफ्नो विषयबस्तुमा राम्रो जानकारी तथा दक्खल राख्ने भन्ने मात्र होइन, देश र समाजमा रहेका प्राथमिकताका विषयहरूलाई बुझेको, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिवेशहरूसँग परिचित रहेको तथा विगत र हालका आवश्यकताहरू के कस्ता रहेका छन् भन्ने कुराहरू पनि मनन गर्न सक्ने व्यक्ति हो । अझ मेरो विचारमा, दक्ष जनशक्तिमा हुनुपर्ने एउटा अत्यन्त महत्वपूर्ण गुण भनेको सामाजिक संवेदनशीलतासँग प्रत्यक्ष सरोकार राख्ने विषयहरू (जस्तैः लैङ्गिक समानता, सामाजिक समावेशीकरण, सबै खाले हिंसाको न्यूनीकरण, जोखिममा रहेका वर्गहरूलाई दिइने प्राथमिकता, भौतिक पूर्वाधारहरूको संरक्षण, सम्पदाहरूको सम्मान तथा सुरक्षा, असल परम्परा तथा संस्कारहरूको निरन्तरता, जलवायु परिवर्तनका प्रभाव, सम्मान तथा प्रेम, सुशासन, राज्यले बनाएका विधान, नीति, नियमहरूको सहर्ष पालना गर्ने लगायत कुराहरू) प्रति जानकार तथा संवेदनशील रही त्यसलाई मनैदेखि स्वीकार गरी संरक्षण र पालना गर्नु पनि हो ।
व्यक्तिलाई प्राविधिक रूपमा दक्ष बनाउन र विषयबस्तुमा जानकार बनाउन त्यति गाह्रो नहोला तर चुनौतीचाहिँ माथि भनिएका सामाजिक संवेदनशीलतासँग प्रत्यक्ष सरोकार राख्ने विषयहरूप्रति संवेदनशील बनाउनु हो । त्यसैले होला कतिपय प्राविधिक रूपमा दक्ष, शिक्षित र आफ्नो क्षेत्रमा जानकार भनिएका व्यक्तिहरू पनि समावेशिता, लैङ्गिक समानता र अपाङ्गता जस्ता मूलभूत मुद्दाहरूप्रति असंवेदनशील देखिन्छन् । भनिन्छ, वयस्क भइसकेपछि कुनै कुरा सिकाउन जति जटिल हुन्छ, बाल्य अवस्थामा उक्त कुरा सिकाउन त्यत्तिकै सहज हुन्छ । बाल्यावस्थामा सिकेका कुराहरू दीगो पनि रहन्छ । “नानीदेखि लागेको बानी” भन्ने हाम्रो उखानले पनि यसलाई पुष्टि गर्न सक्छ ।
तसर्थ, यदि हाम्रो चाहना भोलिका लागि असल र दक्ष मानवीय संसाधनको विकास गर्ने हो भने आजका हाम्रा साझेदार बालबालिकालाई प्रविधि र विषयबस्तुमा जानकार तथा समाजप्रति संवेदनशील बनाउँदै लैजान अत्यन्त जरुरी छ । वास्तविक आवश्यकता पनि यही हो । यदि सामाजिक संवेदनशीलताका विषयहरूलाई बाल्यकालदेखि नै बुझ्दै आइएको छ र त्यसमा अभ्यास पनि गर्दै आइएको छ भने व्यवहारमा त्यसको निखरता र प्रभावमा फरक देखिन्छ । बाल्यकालीन प्रभावले कार्य गर्दा आउन सक्ने नकारात्मक प्रभावहरू न्यून हुन जान्छन्, जोखिम घट्दै जान्छ, सामाजिक सद्भाव कायम रहन्छ, निर्माण तथा भौतिक पूर्वाधार निर्माणका क्रममा हुने नकारात्मक प्रभावहरू कम हुन जान्छ, सेवा दिने तथा उत्पादन गर्ने प्रक्रियाहरूमा मानवीय संवेदनशीलतालाई ध्यानमा राखिएको हुन्छ, नीति नियमहरू अझ बढी सामाजिक परिवेश सुहाउँदो र स्वीकार्य हुन्छन् । समग्रमा भन्दा विकासले निम्त्याउने विनास न्यून हुँदै जान्छ ।
यस्तो अवस्थामा साहित्यले महत्वपूर्ण भूमिका खेल्छ । साहित्यले मानिसलाई मनोरञ्जन र आत्मसन्तुष्टि मात्र नभई जानकारी पनि दिन्छ । साहित्यबाट प्राप्त जानकारीले बालकालिकाको दृष्टिकोण र व्यवहारलाई संवेदनशील बनाउन महत्वपूर्ण भूमिका खेल्न सक्दछ । बालसाहित्य पढेर हुर्केका बालबालिका वयस्क भएपछि उनीहरूको कामलाई सानोमा पढेर प्राप्त गरेका आधारभूत ज्ञान र अन्तर्दृष्टिले निश्चय पनि प्रभाव पार्छ । उनीहरूले आआफ्नो क्षेत्रहरूमा सकारात्मक परिवर्तन ल्याउने परिवर्तनकर्ताको रूपमा योगदान गर्न सक्दछन् । आउने दिनहरूमा आ–आफ्ना क्षेत्रहरूमा कार्यरत हुँदा माथि भनिएका सामाजिक संवेदनशीलताका विषयहरूमा संवेदनशील रही कार्य गर्छन् । यसरी बालसाहित्यबाट प्राप्त ज्ञान आफूमा मात्र सीमित नरही समग्र समुदाय, समाज र अन्ततः विश्वलाई प्रभाव पार्न सफल हुन्छ ।
अब प्रश्न उठ्छ, विकासका लागि बालसाहित्यको योगदान कहाँ र कसरी रहेको छ ? नेपालमा परापूर्वकालदेखि नै बालसाहित्यले यात्रा निरन्तर तय गरिरहेको छ । मौखिक रूपमा भन्दै आइएका लोककथा, धार्मिक कथा, नैतिक कथाहरू र मिथकहरू हुन् वा तथ्यमा आधारित कथाहरू नै किन नहुन्, बालबालिकालाई मनोरञ्जनात्मक तथा चित्रात्मक तरिकाले विषयबस्तुमा जानकारी दिलाउनका साथै उनीहरूलाई सामाजिक संवेदनशीलताका विषयहरूमा संवेदनशील बनाउँदै लैजाने र त्यसलाई व्यवहारमा उतार्न सक्ने बनाउनका लागि प्रयासहरू हुँदै आएका छन् । सम्भवतः हामी सबैलाई आज पनि बगैँचामा फुलेका फूलहरू देख्दा टिपौँ टिपौँ लाग्छ होला तर त्यही बेला सानो छँदा पढेको महाकवि देवकोटाको कविता “नटिप्नु हेर कोपिला, नचुँड्नु पाप लाग्दछ, नच्यात्नु फूल नानी हो, दया र धर्म भाग्दछ !!” कविता सम्झेर हामीले आफूलाई त्यो फूल टिप्नबाट रोक्छौं । फूल टिप्नबाट रोकिनुले उक्त कविताको प्रभाव हामीमा परेको पुष्टि हुन्छ ।
आजको दिनमा बजारमा उपलब्ध कुनै पनि बालसाहित्यका पुस्तकहरू पल्टाएर हेर्ने हो भने त्यसमा कथाका माध्यमद्वारा बालबालिकालाई प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा कुनै न कुनै प्राविधिक, विषयगत तथा नैतिक कुराहरू सहज रूपमा सिकाउने प्रयास गरिएको हुन्छ । चाहे त्यो जलवायु परिवर्तन होस्, लैङ्गिक समानता वा सामाजिक समावेशीकरण होस्, मान सम्मान र प्रेम होस्, सम्पदाको संरक्षण होस्, वा अन्य नैतिक, भौतिक र प्राविधिक कुरा होस्, बालसाहित्यमार्फत बालबालिकालाई उक्त कुरा बुझाउने प्रयास गरिन्छ । साहित्यमार्फत भन्न खोजिएको कुरालाई कसरी उनीहरूले मनन गर्न सक्छन् भनी विविध तरिकाहरू अपनाउने क्रममा बालसाहित्यकार निरन्तर लागिपरेका छन् । त्यसैले बालसाहित्यलाई भविष्यका लागि गरिएको लगानीका रूपमा हेर्नु जरुरी छ । यसले जिम्मेवार नागरिकका साथै एक साक्षर तथा सूचित समाजका लागि आधार निर्माण गर्दछ ।
पछिल्लो समयमा बालसाहित्यलाई प्रोत्साहन दिइएको छ, रुचाइएको छ र स्थान पनि दिइएको छ । अधिकांश विद्यालयहरूमा बालसाहित्यका पुस्तकमार्फत बालबालिकालाई अध्ययन अध्यापन गराउने कार्यले राम्रो स्थान पाएको छ । राज्यले पनि पाठ्यक्रममा बालकथाका पुस्तकहरू समावेश गरेर विद्यालयहरूमा बुक कर्नरको स्थापना गर्न बजेट छुट्टाएर प्रोत्साहन गरेको छ । साथै, विभिन्न सरकारी तथा गैर–सरकारी संस्थाहरू तथा सङ्गठनहरूले पनि आफ्ना उद्देश्यअनुसारका बालसाहित्यका पुस्तकहरू प्रकाशित गरेका छन् । बालसाहित्यलाई अझै पनि विकासको मूलधारमा ल्याइएको भने देखिँदैन । हरेक खाले हिंसाका विरुद्ध शृङ्खलाबद्ध अभियान होस् या जलवायु परिवर्तन सम्बन्धित अभियान, सम्पदा संरक्षणसम्बन्धी अभियान होस् वा पर्यटनसम्बन्धी अभियान, सामाजिक समावेशीकरण सम्बन्धी अभियान होस् वा शैक्षिक तथा आर्थिक प्रगतिका लागि अभियान, स्वास्थ्य र पोषणसम्बन्धी अभियान होस् वा विकास सम्बन्धी कुनै पनि अभियान, बालसाहित्यलाई महत्वका साथ स्थान दिइएको देखिँदैन । राज्य तथा सरोकारवालाद्वारा परिवर्तनका लागि विभिन्न पैरवी गरिएको हुन्छ, सभा सम्मेलनहरू राखिन्छ, छलफल तथा बहसहरूको आयोजना हुन्छ, नीति निर्माण तथा रणनीतिहरूको ढाँचा तय गर्नका लागि पहलहरू भइरहेका हुन्छन् तर त्यहाँ बालसाहित्यको उपस्थिति आवश्यक महसूस गरिँदैन । राष्ट्रको समग्र विकासको परिकल्पनाका साथ अघि बढ्दै गर्दा राज्य तथा सबै सरोकारवालाले बालसाहित्यलाई पनि मूलधारमा ल्याउनु अत्यन्तै महत्वपूर्ण रहन्छ । यो वास्तवमै आवश्यकता हो भनेर बुझ्नु पनि जरूरी छ ।
सामाजिक संवेदनशीलतासँग प्रत्यक्ष सरोकार राख्ने महत्वपूर्ण विषयहरूबारे हामी अध्ययन गर्छौं, लेख्छौं । ठूलो लगानी गरेर प्रकाशकले पुस्तक प्रकाशन गर्छ । हाम्रो भूमिका विद्यालयको साहित्यिक सप्ताह वा बाल दिवस जस्ता कार्यक्रममा उपस्थिति जनाउनु र फेरि उही ‘कसरी पढ्ने बानी बसाल्ने’ भन्ने बारे सुझाव दिनुमै सीमित रहन्छ । हाम्रो उपस्थिति त हरेक खाले हिंसाविरुद्धका शृङ्खलावद्ध अभियान, जलवायु परिवर्तन, सम्पदा संरक्षण, पर्यटन, सामाजिक समावेशीकरण, शैक्षिक तथा आर्थिक प्रगति, स्वास्थ्य र पोषण वा विकाससम्बन्धी कुनै पनि अभियान, राज्य तथा सरोकारवालाद्वारा परिवर्तनका लागि गरिने विभिन्न पैरवीमा, नीति निर्माण तथा रणनीतिहरूको ढाँचा तय गर्नका लागि भइरहेका पहलहरूमा हुनुपर्ने होइन ? राज्यले गराइनु पर्ने होइन ?
हामीले पढ्ने बानीले बालबालिकामा ल्याउने शब्द भण्डारको विकास, पठनबोध कौशल, रचनात्मक, भाषिक र सिर्जनात्मक क्षमताको विकास, पठनप्रति रुचि जस्ता तत्कालका वा केही परका परिणाम सँगसँगै बालसाहित्यले ल्याउने समग्र दीर्घकालीन विकासको नतिजामा बढी केन्द्रित भएर बहसलाई अघि बढाउन आवश्यक छ । अब पनि हामीले बालसाहित्यले समग्र विकासमा पु¥याउने योगदान तथा प्रभावका बारेमा बहस गरेनौं, वकालत गरेनौं वा शिक्षक, अभिभावक, समुदाय, सरोकारवालाहरू तथा राष्ट्रलाई नै यसको दूरगामी प्रभावको चित्र देखाउन सकेनौं भने बालसाहित्य देशको समग्र विकासको मूलधारमा आउन अझै धेरै समय लाग्छ । यति भन्दै गर्दा ‘पढ्ने बानीको विकासका लागि बालसाहित्य‘ वा ‘पठन संस्कृति विकासका लागि बालसाहित्य‘ मात्र भन्नुभन्दा “विकासका लागि बालसाहित्य” भन्ने नारालाई पनि उक्तिकै जोडले अगाडि बढाउनका लागि हामी सबै लाग्न जरुरी छ ।